‘प्रदेश राजधानी र नामको टुंगो कहिले लाग्छ?'
जनकपुरधाम : प्रदेशसभा गठन भएको ६ महिना हुन लाग्दा पनि प्रदेशको नाम र स्थायी राजधानीको टुंगो नलागेपछि प्रदेश २ का सांसद आक्रोशित बनेका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसदले प्रदेश राजधानी, नामकरण र कामकाजको भाषाका विषयमा चासो नदेखाएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हामी संसद् छिरेको झन्डै ६ महिना हुन लाग्यो तर अहिलेसम्म प्रदेश राजधानी, भाषा र नामकरण अन्योलमै छ’, सत्तारुढ दल राजपाका परमेश्वर साहले भने, ‘यो विषयलाई टुंगोमा पु¥याउन सरकारले यथाशीघ्र ध्यान दिनुपर्छ ।’
राजपाकै मनीष सुमनले राजधानी, कामकाजी भाषा र नामकरणसम्बन्धी विधेयक नल्याएर सरकार षड्यन्त्रमा लागेको त होइन भन्ने प्रश्न गरे । ‘संघीय सरकारले प्रदेश सरकारलाई आफूले गरेको निर्णय थोपरेर पंगु मात्र बनाएको छ’, उनले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी भ्रमणको खर्च सरकारले सार्वजनिक नगर्दा भ्रष्टाचारको गन्ध आउन थालेको उनले बताए । प्रदेश सरकारले मोदी भ्रमणको खर्च विवरण सदनमा पेस नगरे संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए ।
प्रदेशमाथि संघीय सरकारको हस्तक्षेप बढ्दै गएको भन्दै सांसदहरू कडा रूपमा प्रस्तुत भएका थिए । संघीय फोरमका पारसप्रसाद साहले प्रदेशको अधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै त्यसलाई अविलम्ब रोक्नुपर्ने माग गरे । नागरिकले प्रदेश सरकारबाट विकासको आशा र भरोसा राखेको सुनाउँदै उनले त्यसलाई पूरा गर्नुपर्ने दायित्व प्रदेश सरकारको भए पनि जनभावनाअनुसार काम हुन नसकेको बताए ।
‘प्रदेशले केही गर्छ भन्ने आशा जनताले गरेका छन्’, उनले भने, ‘त्यो पूरा नभए प्रदेश सरकारप्रति जनतको विश्वास टुट्छ । हालसम्मको अवस्था हेर्दा संघीय सरकारको निर्णय मान्न मात्र प्रदेश सरकारको गठन भएजस्तो देखिन्छ । यस्तोमा प्रदेश सरकारको के महत्व ? ’
नेकपाका सुन्दरबाबु विश्वकर्माले प्रदेश २ का आठै जिल्लामा आपराधिक गतिविधि बढेको सुनाउँदै तत्काल प्रदेश सरकारले त्यसलाई रोक्न मातहतका निकाय परिचालन गर्नुपर्ने बताए ।
सांसद राजेश्वरप्रसाद साहले पर्सामा तीनमहिने बालकको हत्या भएको ६ महिना नबित्दै अर्का ६ वर्षीय बालकको हत्या भए पनि प्रहरी–प्रशासन मूकदर्शक बन्नु लज्जास्पद भएको बताए । ‘प्रदेशमा भएका घटनाबारे आन्तरिक मामिला तथा कानुनमन्त्रीले अनभिज्ञता प्रकट गर्नु सरकारको कमजोरी हो’, उनले भने, ‘अपराधीले एकपछि अर्को अपराध गर्छन् तर सजाय पाउनुको साटो उम्किँदै गएका छन् ।
संघीय समाजवादी फोरमकी करिमा बेगमले पहिलो र दोस्रो मधेस आन्दोलनका सहिदलाई प्रदेश सरकारले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । नेकपाका डिल्लीप्रसाद उप्रेतीले सर्लाहीका बागमती र हरिवन नगरपालिकामा रेलवे मुआब्जामा २५ लाख कट्ठा पर्ने जग्गाको मूल्य ९ लाखका दरले वितरण गरेर किसानमाथि अन्याय भइरहेको जानकारी सदनलाई गराए ।
‘प्रदेश २ कृषिमा आधारित छ तर किसानले कृषिकै लागि पानी, मल, बीउबिजन पाउन सकेका छैनन्’, राजपाका बच्चा राउतले भने, ‘प्रदेशको मुख्य कृषि नै समाप्त भयो भने कसरी सरकारले सफलता पाउँछ ? ’
सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पनि वाचन गरेर सुनाइएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रस्तुत गरेका थिए ।
संसदीय पत्रकार समूह गठनप्रदेश २ मा संसदीय रिपोर्टिङको अभ्यास गरिरहेका पत्रकारले आइतबार संसदीय पत्रकार समूह गठन गरेका छन् । प्रदेशसभा बैठकमा सञ्चारकर्मीका लागि सहज प्रवेशको वातावरण बनाउने र संसदीय पत्रकारिता गर्नेका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको जनाइएको छ । प्रदेश २ का सभामुख सरोजकुमार यादवलाई समूह गठन गरिएकोबारे आइतबार जानकारी गराइएको छ । समूहको संयोजकमा अजित तिवारी, सदस्यमा ईश्वरचन्द्र झा, सुरेश यादव, अलि असगर देवान, सन्तोष सिंह, हदिश खुदार र दीपक कर्ण छन् ।
०००
प्रदेश २ को प्रदेशसभा बैठक । अन्नपूर्ण