बचत गर्न नजानेर निराश हुनुहुन्छ ?
कोही पैसा कमाउन नसकेर चिन्तित छन् भने कोही कमाएको पैसा बचाउन नसकेर। पैसा कमाउँदैमा बचत भइहाल्छ भन्ने होइन। यो बानी र संस्कारमा भर पर्छ। विभिन्न अनुसन्धान नियाल्दा आम्दानीअनुसार बचत गर्ने मानिसको संख्या ज्यादै न्यून रहेको पाइन्छ।
हातमा पैसा बोकेर अनि चाहिएको बेलामा खर्च गरौंला भनेर कोही पनि बसेको हुँदैन। भर, अभर काम लाग्ने भनेको बचतले नै हो। हाम्रो समाजमा बचत गर्ने बानी विकास भएको छैन। धेरैजसोको बुझाइ प्रशस्त कमाउनेले मात्र बचत गर्न सक्छन् भन्ने हुन्छ। तर, आफ्नो आम्दानीअनुसार सबैले बचत गर्न सक्छन्। यसका लागि पैसा बैंकमा नै जम्मा गर्नुपर्छ भन्ने पनि होइन। खुत्रुकेजस्ता घरेलु बाकसमै पनि पैसा बचत गरेर सानोतिनो खाँचो टार्न सकिन्छ। यसका लागि आफू पनि बचत गर्ने र केटाकेटीलाई बचत गर्ने संस्कार सिकाउन आवश्यक छ। यहाँ बचत गर्ने बानी विकास गर्न केही टिप्स दिइएको छ :
बजेटको खाका बनाउनुहोस
आम्दानी र सम्भावित खर्चको विवरण पहिल्यै बनाउन सके जथाभावी खर्च हुनबाट बचिन्छ। अनावश्यक सामान किन्ने बानीलाई नियन्त्रण गर्न सहज हुन्छ।
खर्च विवरण टिप्ने गर्नुहोस्
दिनहँ कति खर्च गर्दै हुनुहुन्छ, त्यसलाई टिप्ने बानी गर्नुहोस्। घरभित्र प्रयोग हुने सामान र बाहिर हुने खर्चको बेग्लाबेग्लै खाका बनाउनुहोस्। साथै यसलाई साप्ताहिक एवं मासिक रूपमा हिसाब गर्नुहोस्। यति गरिसकेपछि आफ्नो आम्दानीसँग तुलना गर्नुहोस्। आम्दानीभन्दा खर्च विवरण ठूूलो भयो भने व्यवहार सञ्चालन गर्न गाह्रो हुन्छ।
बचत गर्ने बानी बसाल्नुहोस्
बचतले अत्यावश्यक गर्जो टार्छ। अभर परेका बेला टाउकामा हात राख्ने र अरूलाई हात पसार्नुपर्ने बाध्यता हटेर जान्छ। त्यसैले आम्दानीको १०–१५ प्रतिशतसम्म बचत गर्ने बानी विकास गर्न जरुरी छ।
किनमेल गर्दा सामानको विवरण लानुहोस्
कोहीकोही मानिस किनमेलमा जाँदा देखेजति सामान किन्ने गर्छन्। पैसा नपुगे ऋण गर्न पनि पछि हट्दैनन्। यस्तो बानीले अनावश्यक सामानमा खर्च हुन्छ। यसलाई नियन्त्रण गर्न अत्यावश्यक सामानको विवरण बोक्ने र त्यसअनुसार मात्रै खरिद गर्ने बानी बसाल्नुपर्छ।
प्राथमिकता र आवश्यकता ख्याल गर्नुहोस्
कमाएको पैसा सञ्चय गर्नु छ भने अन्य क्षेत्रमा जस्तै प्राथमिकता र आवश्यकतालाई ध्यान दिनुहोस्। यसले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै समस्या र आवश्यकतासँग जुध्न शक्ति प्रदान गर्छ।
घरमा बनाइएको खानालाई प्राथमिकता दिनुहोस्
जता गयो त्यतै खाने बानीले एकातिर खर्च बढेर जान्छ भने अस्वस्थ्यकर खाना खानैपर्ने बाध्यता हुन्छ। सँगै गएका साथीभाइको खर्च पनि आफैंले बेहोर्नुपने भयो भने त झन् खर्चको सीमा धानिनसक्नु हुन्छ। त्यसकारण खानाको समयमा घरमै पुग्ने बानी बसाल्नुपर्छ।
बजारिया फेसनको पछि दौडिने बानी त्याग्नुहोस्
बजारमा जे चीज आयो त्यही किन्ने, जुन कपडा आउँछ त्यही लगाइहाल्ने बानी त्याग्नुहोस्। यसमा तपाईंले आवश्यकतालाई ध्यान दिनैपर्छ। बजारको फेसन आजको भोलि हटेर जान्छ। फेरि त्यसले तपाईंको आवश्यकतालाई पनि सम्बोधन गर्दैन। यसले दोहोरो खर्चको मारमा परिन्छ।