‘सपनाको पनि आकार हुन्छ’

‘सपनाको पनि आकार हुन्छ’

काठमाडौं : आफूलाई प्रकृतिप्रेमी, शान्तिप्रेमी र बुद्धको अनुयायी भनेर चिनाउन चाहने सन्ध्या रेग्मी कुशल चित्रकार हुन्। ४९ वर्षअघि पाल्पामा जन्मिएकी रेग्मी हाल पूर्णतया चित्रकारिता र सामाजिक विकासको अभियानमा सक्रिय छिन्। उनी देशका लागि केही ठूलै काम गरेर मात्र मर्न पाइयोस् भन्ने सोचाइ राख्छिन्। नयाँ पुस्तालाई अवसर दिँदै उनीहरूका माध्यमबाट चेतनाको बिगुल फुक्नुपर्छ भन्ने सोच उनमा छ।

उनले सेन्टमेरिज स्कुल ललितपुरमा पढेकी हुन्। उनी सानै उमेरदेखि चित्र बनाइरहन्थिन्। चित्रप्रतिको रुचि देखेर उनका बुवाले गाइड बुक्स, पोस्टर किनेर ल्याइदिन्थे। त्यही पोस्टर कपी गरेर जस्ताको तस्तै बनाउने कोसिस गरेरै उनले चित्रकलामा हात बसाल्दै गइन्। स्कुलमा हप्ताको दुई दिन पेन्टिङ कक्षा हुन्थ्यो। त्यो बेला उनले बनाएका चित्र स्कुलमा प्रदर्शन गरिन्थ्यो। ‘यस्तो राम्रो बनाएकी’ भनेर सबैले तारिफ गर्थे। यसले उनलाई अझ राम्रो चित्र बनाउने प्रेरणा जगाउँथ्यो। कक्षामा कसैले केही लेख्नु प¥यो भने सन्ध्यालाई दिनू भनेर सुनाइन्थ्यो।

जब शनिबार आउँथ्यो, उनलाई खुब आनन्द लाग्थ्यो। परिवार सिनेमा हेर्न, घुम्न जान्थे तर उनी भने कलर, पेपर, वाटर कलर बोकेर घाममा बस्थिन् र दिनभरि चित्र बनाइरहन्थिन्। विभिन्न प्रकारका स्केच बनाउँथिन्। उनका बुवा आध्यात्मिक र साहित्यप्रेमी थिए। उनलाई चित्र बनाउन हौस्याइरहन्थे। यो मेहनतले उनीभित्रको कलाले माझिने मौका पायो।

उनी पढाइमा पनि अब्बल थिइन्। कक्षा ८ मा पुगेपछि अतिरिक्त विषय लिनुपर्ने बाध्यता भयो। हप्तामा दुई दिन पढाइ हुने चित्रकला अब भयो। आर्टका लागि समय दिन सकिनन्। गणित, विज्ञान र अंग्रेजी विषय लिएर अध्ययन गर्नुपर्ने बाध्यता भयो। यी विषयमा राम्रो नम्बर ल्याइन्। छात्राहरूतर्फ प्रथम भइन्। त्यो बेला स्वर्ण पदक ‘रत्न विद्यापदक’ प्राप्त गरेकी थिइन्।

डाक्टर, इन्जिनियर पढ्नेको मात्र इज्जत हुन्छ भन्ने समय थियो त्यो। एसएलसीपछि उनी आर्ट नै पढ्न चाहन्थिन् तर परिवारले साथ दिएन। हिमाञ्चल प्रदेशको सिम्लामा ११ र १२ पढ्न गइन्। दुई महिना अमृत साइन्स कलेजमा पनि पढिन्। सिम्लाको कलेजमा उनी टप टेनभित्र आफ्नो सिट सुरक्षित गरिन्। त्यसपछि उनी आर्किटेक्चर इन्जिनियररिङ पढ्न बैङ्लोर पुगिन् र एकवर्षे कोर्स समाप्त पारिन्।

आर्किटेकमा फ्री ह्यान्ड स्केचिङ भन्ने एउटा विषय थियो त्यहाँ। उनी आफूलाई मन पर्ने चित्र बनाइरहन्थिन्। अन्य विषयगत स्केच बनाउँदा पनि अत्यन्तै ध्यान दिएर मेहनत गर्थिन्। उनलाई कलेजका साथीहरूले आफ्नो पोट्रेट बनाउन लगाउँथे। उनले बनाएका पोट्रेटहरू अत्यन्तै सुन्दर हुन्थे। उनका केही चित्र त कलेजको संग्रहालयमा समेत राखिएको छ। उनी जहाँ जान्थिन्, चित्रकारको परिचय पनि बनाएर आउँथिन्। गत वर्ष उनलाई त्यही कलेजले कलाकारको रूपमा बोलाएर सम्मान गरेको थियो।

उनी भन्छिन्, ‘बुद्ध दर्शनमा अन्धविश्वास छैन। ईश्वर र देवताको अविश्वसनीय मान्यता छैन। असमानता छैन। म विज्ञानको विद्यार्थी भएकाले पनि अन्य दर्शनभन्दा यो दर्शन वैज्ञानिक लाग्छ। हरेक मान्यता वैज्ञानिक तरिकाले प्रमाणित छन्।’

प्रदर्शनीमा उनका २३ वटा चित्र राखिएका थिए। एक लाखदेखि १० लाख रुपैयाँसम्म मूल्य तोकिएका उनका अधिकांश चित्र बुद्धप्रति समर्पित छन्।

हिन्दू परिवारमा हुर्के पनि बुद्धले फैलाएको ज्ञानप्रति उनमा अगाध विश्वास छ। त्यसैले उनका धेरैजसो चित्रमा शान्तिको खोजी, शान्तिको प्रतीक स्वरूपको दियो जलिरहेका दृश्य पाइन्छन्। उनी दर्शनप्रतिको गहिरो रुचिलाई चित्रको आकार दिन्छिन्। उनी भन्छिन्, ‘मैले देख्ने सपनाको पनि आकार हुन्छ। हरेक चित्र र पेन्टिङमा सपनाले सार्थकता पाउँछन्।’

सन् १९८९ मा उनले छात्रवृत्तिमा जर्मनी पढ्न जाने अवसर पाइन्। उनले त्यहाँ गएर बेग्लै संघर्ष गरिन्। एक वर्षसम्म जर्मन भाषा सिकिन्। इलेक्ट्रिकल इन्जिनियर पढ्न नेपालबाट छात्रवृत्ति पाएर उनी जर्मनी पुगेकी थिइन्।

सात वर्ष जर्मनी बस्दा उनले मास्टर डिग्री इन इन्जिनियरिङको सर्टिफिकेट त प्राप्त गरिन् तर मनमा गढेर बसेको चित्रकारिता प्रतिको चाहना अगाडि बढाउने मौका पाइनन्। उनी भन्छिन्, ‘मेरो रहर एकातिर, काम अर्कातिर अनि पढाइ अर्कैतिर थियो। मैले पढेको टेक्निकल विषय थियो।’

कला र वास्तुकलाको सहर जसलाई पूर्वको भेनिस पनि भनिन्छ, जर्मनीको डेस्डेन सहरमा उनको कलेज रहेको थियो। शनिबार र आइतबार बिदा हुन्थ्यो। त्यही समयमा उनले त्यहाँ भएका सबै आर्ट ग्यालरी घुम्ने मौका पाइन्। चित्र बनाउने फुर्सद नभए पनि संसारका चर्चित कलाकारका पेन्टिङ हेर्ने मौका पाइन्। यसले उनमा केही नयाँ आइडिया र ज्ञान लिने मौका पाइन्।

जर्मनीमा उनको परिचय मेडिकल डाक्टर ल्यांगोरसँग भयो। उनी मेडिकल डाक्टर भईकन पनि आर्टिस्ट थिए। उनको घरमा भुइँतलामा ग्यालरी, कलाका अनेक रूप थिए। उनले सन्ध्यालाई आर्टका विभिन्न उपहार दिए। त्यहाँको आर्ट ग्यालरी देखेपछि सन्ध्यामा भित्र दबिएर रहेको पेन्टिङको चाहनाले मौलाउने मौका पायो।

यही बीचमा उनले युरोपका केही राष्ट्र घुम्ने मौका पाइन्। भ्रमणको दौरानमा उनले अत्यन्तै सुन्दर आर्ट हेर्ने मौकासमेत पाइन्। नेपाल आएर उनले कहिले विद्युत् प्राधिकरण त कहिले यूएनडीपीमा जागिरसमेत खाइन्। त्यसपछि उनी परिवारसँगै कहिले जापान त कहिले सिंगापुरमा बसाइँ सरिन्।

डा. दिनेशराज शिवाकोटीसँग विवाह गरेकी सन्ध्या २००५ मा कामको सिलसिलामा भियतनाम पुगिन्। केही समय अघिसम्म फ्रान्सको उपनिवेश रहेको भियतनाममा आर्टको धेरै विकास भएको छ। आर्ट गर्ने साम्रगी पनि निकै सस्ता छन्। उनले त्यहाँ गएर पुनः आर्ट सिक्ने र बनाउने अवसर पाइन्। त्यहीँको फाइन आर्ट कलेजमा भर्ना भइन्। एक भियतनामी आर्ट गुरुसँग दुई वर्ष आर्टका अनेक आयाम सिकिन्।

भियतनाममा हँुदा उनले पाँचौंपटक एकल चित्रकला प्रदर्शनी गरिन्। नेपालमा पहिलो पटक २०१३ मा बुद्धका अनुहारहरू शीर्षकमा काठमाडांैमा एकल कला प्रदर्शनी गरिन्। गत हप्ता उनले नेपाल कला परिषद्मा चौथो एकल चित्र प्रदर्शनी सम्पन्न गरिन्। प्रदर्शनीमा उनका २३ वटा चित्र राखिएका थिए। एक लाखदेखि १० लाख रुपैयाँसम्म मूल्य तोकिएका उनका अधिकांश चित्र बुद्धप्रति समर्पित छन्।

‘कल्पना गर्न सक्नु नै निकै ठूलो शक्ति हो’, सन्ध्यालाई समाजका घटनाले जब मनसम्म छुन्छ अनि मात्र पेन्टिङका आकार बन्ने गर्छन्। उनका चित्रमा कविता पनि सँगै मिसिएर आएका थिए। विभिन्न शीर्षक–उपशीर्षकमा समेटिएका उनका पेन्टिङको क्यानभासमुनि चित्रसँग सम्बन्धित कविताका टुक्रा पनि टाँसिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.