'मेरो व्यवहार बनावटी थियो ? हो, म कहिलेकाहीँ त्यस्तो गर्छु’
लन्डन : रुस विश्वकपका क्रममा मैदानमा अनावश्यक रूपमा लडेर नाटक गरेको भन्दै आलोचना खेपेका ब्राजिलियन स्ट्राइकर नेमारले पहिलोपटक आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले आफ्नो प्रायोजकको विज्ञापनको सहायता लिँदै विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको बताएका हुन् । आइतबारबाट ब्राजिलका अधिकांश टेलिभिजन च्यानलहरूमा प्रसारित सो विज्ञापनमा नेमारले आगामी प्रतियोगितामा त्यस्तो व्यवहार नहुनेसमेत बताएका छन् ।
टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका नेमारले रुस विश्वकपमा ब्राजिलका लागि दुई गोलसमेत गरेका थिए । यद्यपि उनको टोली बेल्जियमसँग पराजित हुँदै क्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो । खेलमा विपक्षी खेलाडीसँग सामान्य रूपमा ठोक्किँदासमेत फ्रिकिक र पेनाल्टी अवसरका लागि अनावश्यक रूपमा लडेर नाटक गरेका उनको समर्थकहरूबाटै तीव्र आलोचना भएको थियो । नेमारको सोही व्यवहारपछि उनलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा विभिन्न कार्टुन र भिडियोसमेत सार्वजनिक भएका छन् ।
‘तपाईंहरू सोच्न सक्नुहुन्छ कि मेरो व्यवहार बनावटी थियो । हो, म कहिलेकाहीँ त्यस्तो गर्छु’, जिलेटको सो विज्ञापनमा नेमारले भनेका छन्, ‘तर, सत्य कुरा के हो भने मलाई मैदानमा साँच्चिकै पीडा हुन्छ ।’ आफ्नो टोली रुस विश्वकपबाट बाहिरिएपछि नेमारले इन्स्टाग्राममार्फत हारको बारेमा मात्रै लेखेका थिए । पछिल्लो विज्ञापनमा नेमारले बेल्जियम सँगको पराजयपछि आफूले अन्तर्वार्ता नदिई हिँडेको विषयलाई समेत प्रस्ट्याउन खोजेका छन् ।
‘मैले अन्तर्वार्ता नदिई हिँड्दा पराजयले बोल्न नसकेर हिँडेको भन्ने सोच्नुभएको हुनसक्छ’, नेमारले भनेका छन्, ‘तर, त्यो किन हो भने मैले अहिलेसम्म तपाईंहरूलाई निराश पार्न सिकेको वा जानेको छैन । त्यो किन हो भने मैले अहिलेसम्म पराजयमा कसरी र के व्यवहार गर्नुपर्छ भन्ने पनि जानेको छैन वा सिकेको छैन । त्यसैले मात्रै हो । यसमा अरू कारण छैनन् ।’
उनले आफ्नो फुटबल शैली केही फरक भएको र त्यसबाट सधैं खुसी मात्रै प्राप्त नहुने बताएका छन् । ‘मेरो फुटबल शैली फरक नै छ । कहिले विश्वलाई नै आकर्षित गर्छ । कहिले उनीहरूलाई चिढ्याउँछ पनि’, नेमारले विज्ञापनमा बोलेका छन्, ‘म त्यही शैली जीवित राख्न प्रयास गरिरहनेछु । तर, मैदानभित्र अन्य गलत व्यवहार दोहोरिनेछैन ।’
उनले अब मैदानमा आफ्नो व्यवहार पूर्ण रूपमा नयाँ हुने वाचासमेत गरेका छन् । ‘मैले मप्रतिको आलोचना स्वीकार गर्न लामो समय लगाएँ । मैले आफंैलाई ऐनामा हेर्न र नयाँ मान्छे बन्न लामो समय लगाएँ’, नेमारले भने, ‘म असफल भएँ । तर, सत्य कुरा यो पनि हो कि असफल भएको मान्छे नै फेरि सफल हुन सक्छ ।’