चलनचल्तीको बाटोमा नौफिटे पर्खाल
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटका कल्पना रानाभाट र सरस्वती खत्रीको परिवारले उच्च अदालत पाटनको बलमा चलनचल्तीको बाटोमा नौफिटे पर्खाल ठड्याएर सर्वसाधारणको आवातजावत ठप्प पारेका छन्। नक्सामै भएको करिब चारफिटे बाटोमा पर्खाल ठड्याउँदा सर्वसाधारण बाटोविहीन भएका छन्।
स्थानीय सुमन राणाले २० वर्षदेखि सर्वसाधारणले भोगचलन गर्दै आएको बाटोमा स्थानीय कल्पना रानाभाट र सरस्वती खत्री परिवारले पर्खाल लगाएको बताए। कल्पना र सरस्वतीको तर्फबाट कल्पनाका पति हरिबहादुर रानाभाटले बाटोमा पर्खाल लगाएको उनी बताउँछन्। उनका अनुसार कल्पना र सरस्वतीले बाटोको मुखैमा रहेको जग्गा खरिद गरेका थिए। जग्गा खरिद गरेर दुई वर्षअघि उक्त बाटोमा पर्खाल लगाउन सुरु गरेको सुमनको भनाइ छ।
आफूहरूको आवतजावत गर्ने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन थालेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाइ नभएको पीडित लक्ष्मी दुलाल बताउँछिन्।
स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले पर्खाल नबनाउन पटकपटक आदेश दिए पनि रानाभाटले भने पर्खाल झन् झन् अग्लो पारेको दुलालको भनाइ छ।
‘नक्सामै बाटो भएकाले स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले उहाँ (हरिबहादुर रानाभाट) लाई बाटो बन्द नगर्न पटकपटक निर्देशन दिए’, उनले भनिन्, ‘तर उहाँले टेर्नु भएन उल्टै बाटो नजनिएको पुरानो नक्सा देखाएर उच्च अदालत पाटनबाट बाटो दिन नपर्ने फैसला गराएर ल्याउनुभयो।’
सूर्यविनायक नगरपालिका-२ का वडाध्यक्ष कमलनाथ आचार्यले २०६१ सालमै चारफिटे बाटो कायम भएको जानकारी दिए। सोहीअनुसार हरिबहादुरलाई बाटो अवरुद्ध नगर्न पटकपटक निर्देशन दिँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्।
‘२०६१ सालमै बाटो जनिएर आएकाले बाटो अवरुद्ध नगर्न हामीले पटकपटक ध्यानाकर्षण गर्यौं’, वडाध्यक्ष आचार्यले भने, ‘उल्टै हामीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हाले।’
उच्च अदालतले एकतर्फी रूपमा फैसला गरेको आचार्यले आरोप लगाए।
अदालतले स्थानीय तह एवं जनप्रतिनिधिहरूसँग फिल्डमा के कस्तो अवस्था छ भनेर बुझ्ने प्रयास नै नगरी फैसला गर्नुले अदालतका न्यायाधीशहरूको नियतमा प्रश्न उठ्ने भनाइ उनको छ। ‘हाल साबिकको नक्सा नझिकाइ र स्थानीय तहको राय आदि नबुझी उच्च अदालतले गरेको फैसला गलत छ’, उनले थपे, ‘सामाजिक न्यायका हिसाबले पनि बिसौं वर्षदेखि भोगचलन गर्दै आएको बाटो बन्द गर्नु अनुचित हो।’
आवतजावत गर्ने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन थालेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाइ नभएको पीडितको गुनासो
उच्च अदालत पाटनका न्यायाधीशद्वय भीम ओझा र अग्नि थपलियाको संयुक्त इजलासले रानाभाटको आफ्नो सम्पत्तिको सुरक्षा गरी पाउँ भन्ने मागको पक्षमा सुनुवाइ गर्दै बाटो दिनु नपर्ने फैसला गरेको थियो। रानाभाटले सोही फैसलाका आधारमा केही फिट लगाएर छाडिएको पर्खाललाई ९ फिट अग्लो बनाएका हुन्।
पर्खाल ठड्याएर बाटो अवरुद्ध गर्ने हरिबहादुरले भने आफूले किनेको जग्गामा बाटो नभएकाले जग्गा सुरक्षा गर्न पर्खाल बनाएको स्पष्टीकरण दिएका छन्।
यसैबीच पीडित स्थानीयले सोमबार सूर्यविनायक नगरपालिकामा बाटो खुलाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकाकै निर्देशनसमेत अवज्ञा गर्दै हरिबहादुरले सार्वजनिक बाटोमा नौफिटे पर्खाल ठड्याएको भन्दै स्थानीयले नगरपालिका घेराउसमेत गरेका छन्।
उनीहरूले आफूहरूले भोगचलन गर्दै आएको बाटो छिटोभन्दा छिटो नखोले जुनसुकै कदम उठाउन तयार भएको चेतावनी दिएको सुमनले जानकारी दिएका छन्।