प्रशिक्षणका लागि युभेन्ट्स पुगे रोनाल्डो
रोम : धेरैको अनुमानलाई छक्क पार्दै यो सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका क्रिस्टियानो रोनाल्डो सोमबार नयाँ क्लब युभेन्ट्स पुगेका छन् । रोनाल्डोलाई युभेन्ट्का पदाधिकारीले स्वागत गरेका थिए । पोर्चुगल टोलीका स्टार रोनाल्डो विश्वकप पछि आराम गरिरहेका थिए ।
रोनाल्डो आफ्नो नयाँ क्लब युभेन्ट्समा प्रशिक्षणका लागि गएका हुन् । यद्यपी युभेन्ट्स टोली अहिले प्रिसिजनका लागि अमेरिका भ्रमणमा रहेको छ । युभेन्ट्सले विश्वकप सकिए लगत्यै रोनाल्डोलाई १० करोड ५० लाख पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेको थियो । उनको अनुबन्धसँगै इटालियन फुटबलमा रोनाल्डोको प्रभाव र भविष्यको विषयमा धेरै चर्चा चलिरहेको छ ।
रोनाल्डोको आगमनले इटालियन फुटबलमा छुट्टै परिवर्तन ल्याउने विश्वास पनि गरिएको छ । रियल म्याड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले च्याम्पियन्स लिगको चार तथा स्पेनिस ला लिगा र कोपा डेल रेको दुई÷दुई उपाधि जितेका छन् । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट समेत घरेलु र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले आफ्नो सफलतालाई युभेन्टसमा पनि दोहोर्याउन सक्ने धेरैको अनुमान छ ।
३३ बर्षीय रोनाल्डो आफैंले पनि युभेन्टसमा आफू नयाँ इतिहास कायम गरेर छाड्ने दावी गरिरहेका छन् । प्रिसिजनको खेलमा युभेन्ट्सले शनिबार रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग खेल्ने कार्यक्रम छ । तर, उक्त खेलमा रोनाल्डो खेल्ने सम्भावना कम रहेको बताईएको छ ।