उपाधिका लागि आर्मी र एपीएफको भिडन्त आज
काठमाडौ : उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगको उपाधिका लागि मंगलबार विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने भिडन्तमा दुवै टोलीको दावेदारी बलियो रहेको छ । लिगका अघिल्ला खेलमा दुवै टोली अपराजित रहेका थिए ।
अघिल्ला तीन खेलमा आर्मीले नेपाल पुलिस क्लब, काठमाडौं र रौतहट जिल्लालाई पराजित गरेको थियो । यसैगरी एपीएफले पनि तीनवटै खेलमा सफलता हात पारेको थियो । दुवै टोलीले समान नौ÷नौ अंक बनाएका छन् । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका सात तेस्रो बनिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिला साफ च्याम्पियनसिपको तयारी र खेलाडी छनोटका लागि लिग सञ्चालन गरेको हो ।
लिगको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ ।