रोनीको पहिलो गोल र नाकको चोट
लन्डन : इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर वेन रोनीले आफ्नो नयाँ क्लब डीसी युनाइटेडका लागि पहिलो गोल गरेका छन् । रोनीले अमेरिकन व्यावसायिक फुटबल लिग मेजर लिग सक्कर (एमएलएस)अन्तर्गत आइतबार राति भएको खेलमा आफ्नो नयाँ टोलीका लागि पहिलो गोल गरेका हुन् । उनको गोलसँगै रोनीको टोली डीसी युनाइटेड आइतबारको खेलमा कोलोराडो र्यापिड्सविरुद्ध २-१ गोलले विजयी भयो ।
रोनीले प्रहार गरेको बल कोलोराडोका गोलरक्षक टिम हवार्डको दुई खुट्टाको बीचबाट गोलमा परिणत भएपछि डीसी युनाइटेड १-० ले अघि बढेको थियो । कोलोराडोका केलिन अकोस्टाले खेललाई १-१ को बराबरीमा फर्काएका थिए । त्यसपछि खेलको ९०औं मिनेटमा कोलोराडोका निक्की ज्याक्सनले आत्मघाती गोल गरेपछि डीसी युनाइटेड विजयी बनेको हो ।
टोलीका कप्तानसमेत रहेका रोनाीले जितका लागि भने ठूलै मूल्य चुकाउनु पर्यो । खेलको अन्त्यतिर विपक्षीको प्रहार जोगाउने प्रयासमा उनको नाकको हड्डी नै भाँचिएको छ । खेलको अतिरिक्त समयमा उनी चोटग्रस्त बन्न पुगेका हुन् । यद्यपि खेलपछि उनले डीसी युनाइटेडका लागि पहिलो गोल गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
‘नाकमा केही समस्य भएको छ । पाँचवटा टाँका पनि लगाउनु पर्यो’, उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्, ‘यद्यपि डीसी युनाइटेडका लागि पहिलो गोल गर्न सफल भएको छु । यसले निकै खुसी दिएको छ ।’ डीसी युनाइटेडका प्रशिक्षक बेन ओल्सेनले पनि रोनीको प्रशंसा गरे । उनले टोलीमा उनको उपस्थिति निकै महŒवपूर्ण रहेको बताए ।
‘मैदानमा उनी यसरी घाइते भएको पहिलोपटक होइन । उनी सशक्त खेलाडी हुन्’, प्रशिक्षक ओल्सेनले भनेका छन्, ‘उनी हाम्रा लागि कुनै पनि दृष्टिबाट उत्कृष्ट ठहरिएका छन् । हामीले जस्तो अपेक्षा गरेका थियौं, उनी टोलीमा त्यस्तै बनिदिएका छन् । कप्तान र गोल गर्नसक्ने स्ट्राइकरका रूपमा उनले हाम्रो अपेक्षा खेर जान दिएका छैनन् । आगामी दिनमा पनि उनीबाट हामीले यही खेलको अपेक्षा गरेका छौं ।’