‘अधिनायकवाद’को जुहारी
काठमाडौं : तत्कालिन एमाले-माओवादीले वाम गठबन्धन निर्माण गरेदेखि नै देशको राजनीतिमा ‘अधिनायकवाद’ चर्चामा आयो। कम्युनिस्ट पार्टी र सरकारविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अधिनायकवाद’ को चर्चा निकाले। आफैंले सरकारको नेतृत्व गरेका बेला उनले निकालेको ‘कम्युनिस्ट अधिनायकवाद’ को शब्दजाल अहिले सत्ता-प्रतिपक्षका शीर्ष नेताहरूका मुखमै झुन्डिएका छन्।
कांग्रेस र यसका नेताहरू भन्छन्, ‘सरकारले अधिनायकवादी शैली अपनायो, निरंकुश बन्यो, तानाशाही भयो, दुई तिहाइको घमण्ड देखायो।’ अनि सरकार र नेकपाका नेताहरू भन्छन्, ‘जथाभावी कोही कसैलाई ‘प्रायोजित’ अनशन बसाउने, आन्दोलन गर्ने, संसद् सरकारको विरोध गर्नेहरू आफैं अधिनायकवादी हुन्।’ अहिले देशको राजनीति यही शब्दजाल वरिपरि घुमिरहेको छ। कांग्रेसलाई प्रधानमन्त्री तथा सत्तापक्षका नेताहरूले ‘अधिनायकवादको आरोप’ पुष्टि गरेर देखाउन चुनौती दिइरहेका छन्। कांग्रेस सभापतिलगायत नेताहरू भने संविधानमै टेकेर सरकार अधिनायकवादतिर जान लागेको आरोप लगाइरहेका छन्।
किन उठ्यो ‘अधिनायकवाद’
विविध ध्रुवीय राजनीतिमा रुमल्लिएको नेपाली राजनीति दुई ठूला कम्युनिस्ट पार्टीले एकता गरेसँगै सारभूत रूपमा दुई ध्रुवीय हुन पुगेको छ। भलै कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दिगो बन्न सकेको देखिँदैन। कम्युनिस्टहरूको जनमत, निर्वाचनको परिणाम, सरकारको कार्यशैली र कम्युनिस्ट पार्टीको इतिहासका आधारमा सरकार ‘अधिनायकवाद’ को ‘प्राक्टिस’ मा रहेको विश्लेषण कांग्रेसका नेताहरूले गर्दै आइरहेका छन्।
तर अहिलेको सरकार र यसका क्रियाकलापलाई अधिनायकवाद नै भनेर आरोपित गर्ने अवस्था आइनसकेको पनि कम्युनिस्ट पार्टीको पृष्ठभूमि, कार्यशैलीगत कमजोरीका आधारमा कांग्रेस शीर्ष नेताहरूले अधिनायकवादको आशंका गरेको हुनसक्ने कांग्रेसका जानकार पुरञ्जन आचार्य बताउँछन्।
‘सरकारको प्रक्रिया, वैधानिकता यी सबैलाई हेर्दा अधिनायकवाद भन्नै मिल्दैन। अहिले कुरा बुझ्दै नबुझी अधिनायकवाद भने जस्तो देखिएको छ। यसको वैधानिकता जनतासँग छ, यसको वैधानिकता संविधानसँग छ’, उनी भन्छन्, ‘जुन पृष्ठभूमिबाट अहिलेको नेकपा आएको छ, उनीहरूको पृष्ठभूमि नियाल्दा र उनीहरूले गरेका कमजोरी, व्यक्तिमाथिको व्यवहार हेर्दा त्यो बाटोको संकेत ठान्न सकिएला।’
विदेश जान लागेका उपकुलपति विमानस्थलबाटै प्रधानमन्त्री निवास पुर्याइनु, अस्पतालका डाक्टरलाई गृह मन्त्रालय लगेर धम्क्याइनु जस्ता घटनाले सरकारको शैलीगत चित्रणको संकेत गर्न सक्छन्। ‘तर ती सरकारका कमजोरी हुन्’, आचार्य भन्छन्, ‘यो अधिनायकवादको बाटोमै जान खोजेको भन्ने होइन।’
सत्तापक्षीय नेताहरूले भने सरकारका सानातिना कमजोरीलाई प्रतिपक्षी कांग्रेसले अन्तर्राष्ट्रियकरण गर्न अधिनायकवादको आरोप लगाउन खोजेको बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल भन्छन्, ‘सरकारका हरेक सानातिना कमजोरीमा पनि कांग्रेसले अहिले अधिनायकवादसँग जोड्ने प्रयत्न गरिरहेको देखिन्छ। एकपछि अर्काे एजेन्डा बनाउँदै कांग्रेस प्रायोजित प्रचारमा लागेको देखिन्छ, यसमा कुनै सत्यता छैन।’
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह कांग्रेसले सत्ताबाहिर हुने बित्तिकै कम्युनिस्ट अधिनायकवादको आरोप लगाउने गरेको भन्दै अहिले पनि त्यही आरोपको पुनरावृत्ति मात्र गरेको ठान्छन्। ‘कांग्रेसले अधिनायकवादको कुरा गरेको अहिले मात्र होइन। गणेशमान, गिरिजाप्रसाद कोइरालाकै पालादेखि उनीहरूले कम्युनिस्टमाथि यस्तो आरोप लगाउँदै आएका हुन्, कांग्रेसको समस्या नै त्यही हो’, उनी भन्छन्, ‘कांग्रेस अहिले हतास मनस्थितिमा छ। सरकारका केही कमजोरी छन्, स्वेच्छाचारिता देखिएका छन्, यसैलाई आधार बनाएर अधिनायकवादको प्रचार गर्नु आवश्यक थिएन।’
अधिनायकवादको खास अर्थ
राजनीतिशास्त्रीको परिभाषा तथा नेपाली बृहत् शब्दकोषका अनुसार एकलौटी रूपमा शासन सञ्चालन गर्नुलाई अधिनायकवाद भनिन्छ। सबै अधिकार पाएको व्यक्ति, अत्याचारपूर्वक आफ्नो सम्पूर्ण अधिकार प्रयोग गर्ने शासक, तानाशाह, कानुनीभन्दा शक्तिका आडमा सरकार चलाउने तरिक। एउटै व्यक्तिको सरकार, उसैको बलप्रयोगबाट सत्ता सञ्चालन। अरु राजनीतिक दललाई निषेध गरेर जाने परिपाटी, विधि-विधान अवैधानिक तरिकाले अदल-बदल गरेर शासन चलाउने प्रणालीलाई अधिनायकवादी प्रणाली भनिन्छ।
के गर्नुपर्थ्यो ?
कांग्रेसले देखेको जस्तो ‘अधिनायकवाद’ को खतरा अहिले नभए उसले के गर्नुपर्थ्यो त ? ‘कांग्रेस जसरी जान खोजिरहेको छ, त्यसरी जान आवश्यक थिएन। किनभने अहिले पार्टी एकता गरेका यी दुवै पार्टीलाई कांग्रेसले नै हातेमालो गरेर ‘डेमोक्रेटिक मेन स्ट्रिम’ मा ल्याएको हो’, आचार्य भन्छन्, ‘नेपालको कम्युनिस्टहरूलाई हामीले डेमोक्रेटिक बनायौं भनेर संसारभर सन्देश छाड्नु पर्ने कांग्रेसले अहिले आफू सत्तामा नहुनासाथ जोडले कराउने होइन कि सर्तकतासहित खबरदार त्यो बाटोमा जालाऊ भनेर भन्नु चाहीँ ठीक होला।’
नेकपा महामन्त्री सिंह पनि मौका पर्दा तिनै पार्टीसँग संयुक्त रूपमा सत्ता चलाउने र मौका गुम्ने बित्तिकै आरोप÷प्रत्यारोपमा उत्रने राजनीति कांग्रेस-नेकपा दुवैले छाड्नुपर्ने ठान्छन्। ‘पार्टी एकता गरेका दुवै घटकसँग कांग्रेसले पटक-पटक सहकार्य गरेर सरकार चलाएको छ, उसको चरित्र नबुझेर चलाएको हो र ? ’, उनी भन्छन्, ‘मौका पाउनासाथ स्वार्थ मिलाउने र मौका गुम्ने बित्तिकै आरोप÷प्रत्यारोपमा उत्रने काम गलत हो।’