सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
काठमाडौं : कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि, संविधानविपरीत निधेधाज्ञा घोषणा, उपकुलपतिसँगको अपमानजनक व्यहवारसहित डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न कांग्रेसले सबै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी हुन केन्द्रीय नेतासमेत जिल्लाजिल्ला गएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहँुको विरोध प्रदर्शनमा सहभागी भए भने कृष्णप्रसाद सिटौला झापा पुगे । रमेश लेखक कैलालीको धनगढी, बालकृष्ण खाँड भैरहवा र काठमाडौंको प्रदर्शनमा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी भए । प्रदर्शनमा पाँच लाखभन्दा बढीको जनसहभागिता रहेको कांग्रेसको दाबी छ । अधिनायकवाद उन्मुख सरकारविरुद्ध भएको प्रदर्शनमा ५ लाखभन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकको सहभागिता रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभा सम्बोधन गर्दै कांग्रेस नेताहरूले वर्तमान सरकार दुईतिहाईको दम्भमा संविधानविपरीत काम गर्न उद्यत रहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको सुनुवाइलाई राजनीतीकरण गरिएको दाबी गर्दै सरकारले न्यायालय आफ्नो कब्जामा लिन खाजेको आरोप लगाए ।
नेता सिटौलाले पनि झापामा आयोजित कार्यक्रममा सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा अघि बढेको बताए । मूल्यवृद्धिले आम नागरिक समस्यामा परेको र कम्युनिस्ट सरकारले जनतालाई पीडामाथि पीडा थप्ने काम गरेको उनको भनाइ छ ।
काठमाडौंमा आयोजित कोणसभामा सहमहामन्त्री महतले सरकार दुईतिहाइको दम्भमा संविधान नै मिच्न लागिपरेको बताए । त्यसैले महतले कांग्रेस सविधान कार्यान्वयनका लागि सदनसँगै सडकमा उत्रिएको उनको दाबी छ ।
नेता खाँडले मंगलबारको कार्यक्रम सरकारविरुद्ध सांकेतिक विरोध मात्रै भएको बताए । सरकारले आफ्नो व्यवहार परिवर्तन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीसमेत भएको उनको भनाइ छ । संविधान कार्यान्वयन गराउने प्रमुख दायित्व सरकारको भए पनि सरकार आफैले बेवास्ता गरेको उनले बताए।
‘संविधानमा सभामुख र उपसभामुख चाहे प्रतिनिधिसभाको होस्, चाहे प्रदेशसभाको त्यो फरक दलको हुनुपर्छ भन्ने संविधानले प्रस्ट व्यवस्था गरेको छ’, नेता खाँडले भने, ‘राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि कसैले सभामुख र उपसभामुख भएका कारण दलबाट राजीनामा दिएर दल परित्याग गर्यो भने प्रतिनिधिसभा वा प्रदेशसभाको सदस्य रहँदैन ।’
चितवनमा भएको प्रदर्शनमा नेता तथा कार्यकर्ता हातमा कालोपट्टी बाँधेर सडकमा आएका थिए । पोखराका कांग्रेसका नेताकार्यकर्ताले सडक जाम गरेर विरोध प्रदर्शन गरेका थिए । कैलालीसहितका जिल्लामा वर्षा भइरहे पनि नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भए।