राष्ट्रिय महिला लिग : एपीएफ च्याम्पियन
काठमाडौं : उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगको उपाधि एपीएफ क्लबले जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको विभागीय टोलीबीचको डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ गोलले हराउँदै उपाधिमा कब्जा जमाएको हो। पाँच टोली सहभागी लिगमा एपीएफ अपराजित रह्यो। आर्मीले भने अन्तिम खेल गुमाउँदै दोस्रो स्थानमा चित्त बुझायो।
एकपक्षीय खेलमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। सावित्राले ४०औं, ५४औं र ८२औं मिनेटमा गोल गरेकी थिइन्। आर्मीका लागि पुनम मगरले ४९औं मिनेटमा गोल गरेकी थिइन्। उपाधिसँगै एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता आर्मीले एक लाख रुपैयाँ प्राप्त गर्यो। तेस्रो भएको रौतहटले ५० हजार रुपैयाँ प्राप्त गर्यो।
यसैगरी मंगलबार नै भएको लिगको अर्को खेलमा नेपाल पुलिस क्लबलाई ९-० गोलले हरायो। पुलिसको एकपक्षीय जितमा नीरू थापाले चार गोल गरिन्। निर्मला उपाध्यायले दुई तथा निर्मला विक, घिमकुमारी गुरुङ र मञ्जु गुरुङले एकएक गोल गरे। लिगमा पहिलो जित हात पारेको पुलिस चौथो भयो। नौ दिनसम्म चलेको लिगमा विभागीय तीन टोली, रौतहट र काठमाडौंले भाग लिएका थिए।
लिगको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सावित्रा भण्डारी भइन्। उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन्। यसैगरी उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह, उत्कृष्ट स्ट्राइकर रश्मिकुमारी घिसिङ, मिडफिल्डर रेणुका नगरकोटी, रक्षक पुनम मगर र गोलरक्षकमा एन्जिला सुब्बा घोषित भए। उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिला साफ च्याम्पियनसिपको तयारी र खेलाडी छनोटका लागि लिग सञ्चालन गरेको हो।