सम्बन्धन रोक्न प्रधानमन्त्रीको निर्देशन

सम्बन्धन रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले गोप्य रूपमा निजी क्याम्पसलाई दिएको सम्बन्धन स्थगित गर्न मंगलबार प्रधानमन्त्री कार्यालयले आदेश दिएको छ ।

विश्वविद्यालय स्थापनाको मर्मविपरीत अपारदर्शी रूपमा एकैपटक आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओली विश्वविद्यालयको कुलपति समेत हुन् ।

हाल दिइएको सम्बन्धन स्थगित गरेर कृषि तथा वन विज्ञानसँग सम्बन्धी विषयलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययनका लागि कार्यदल गठन गर्न समेत प्रधानमन्त्री कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । साथै अन्य विश्वविद्यालयबाट भइरहेको सम्बन्धनलाई कसरी प्रभावकारी बनाउने, कुन विषयमा कति सम्बन्धन दिनुपर्नेलगायत विश्वविद्यालय तहको शिक्षालाई कसरी स्तरीय बनाउन सकिन्छ भन्ने विषयमा पनि अध्ययन गर्न शिक्षालाई निर्देशन भएको छ । तर प्रधानमन्त्री कार्यालय तथा शिक्षा मन्त्रालयले समेत यस निर्देशनलाई सार्वजनिक गरेको छैन ।

शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यालयबाट सिधै विश्वविद्यालयलाई सम्बन्धन स्थगित गर्न आदेश गएको छ । यसबारेमा थप अध्ययन गर्ने विषयमा शिक्षालाई पनि निर्देशन आएको छ ।’ शिक्षामन्त्री विश्वविद्यालयको सहकुलपति रहने कानुनी व्यवस्था छ ।

उक्त विश्वविद्यालयले प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनसँग भएको सहमतिलाई तोड्दै गत असार २१ गते एकै पटक आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विश्वविद्यालयका उपकुलपतिको अध्यक्षतामा रहने कार्यकारी परिषद्को बैठकले गरेको उक्त निर्णय असार २६ गते मात्र सार्वजनिक भएको थियो ।

सार्वजनिक लगत्तै प्राध्यापक तथा विद्यार्थीहरू विश्वविद्यालय र आंगिक क्याम्पसको शैक्षिक र प्रशासनिक काम ठप्प पार्दै तीन सातादेखि आन्दोलनमा उत्रेका छन् ।

सम्बन्धनको निर्णय हुँदा बर्से बिदा परेको कारण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू पनि घरमै थिए । सम्बन्धनको प्रयास विश्वविद्यालयले गत वर्ष पनि गरेको थियो । तर विश्वविद्यालयको मर्म र स्थापनाको उद्देश्यअनुसार आंगिक क्याम्पस स्थापना गर्नेतर्फ ध्यान दिनुको सट्टा निजीलाई सम्बन्धन मात्र दिन खोजेको भन्दै विद्यार्थी तथा प्राध्यापकहरू आन्दोलनमा गएपछि सहमतिमा उक्त प्रक्रिया रोकिएको थियो ।

आन्दोलनले उग्र रूप लिएपछि त्यतिखेर निजी सम्बन्धनको प्रक्रिया पूर्ण रूपमा स्थगन गर्ने, सम्बन्धन सम्बन्धी अर्को निर्णय गर्नुपरेमा सम्पूर्ण सरोकारवालाहरू (विद्यार्थी, प्राध्यापक, कर्मचारी र पदाधिकारी) को सर्वसम्मत सहमतिमा गर्ने तथा प्रत्येक प्रदेशमा कम्तीमा एक एक आंगिक कलेज खोल्ने सहमति भएको थियो ।

उक्त सहमतिलाई तोड्दै सम्बन्धनको निर्णय विश्वविद्यालयको पदाधिकारीले गरेपछि रुष्ट भएका प्राध्यापक तथा विद्यार्थी संगठनहरू सम्बन्ध स्थगित गराउन दबाब दिने उद्देश्यले राजधानी आएका थिए । राजधानी आएपछि उनीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टीका उच्च नेतालाई भेटेका थिए ।

विश्वविद्यालयले सम्बन्धन दिन बनाएको मापदण्ड, प्रक्रियालगायत विषय पनि निजी क्याम्पस मैत्री बनाएको, आंगिक क्याम्पसको क्षमता विस्तारको लागि ठोस योजना नल्याएको लगायतका आरोप विश्वविद्यालयका अहिलेका पदाधिकारीमाथि लागेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.