दुर्लभ सेतो गिद्धले चल्ला कोरल्यो
जाजरकोट : विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धले जाजरकोटमा बच्चा कोरलेको छ । बारेकोट गाउँपालिका ९ सक्लामा दुर्लभ सेतो गिद्धले बच्चा कोरलेको हो । योसहित गत वर्षदेखि हालसम्म तीन जोडी सेतो गिद्धले बच्चा कोरलेको हो ।
सेतो गिद्धले बारेकोट गाउँपालिका-९ सक्ला र काप्तीको बीचमा रहेको जंगलमा गुँड लगाएर चल्ला कोरलेको हो । समुद्री सतहबाट १५ सय १४ मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको अनुसन्धानकर्ता गोविन्द सिंहले बताए ।
गत वर्ष भेरी नगरपालिका-११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त वासस्थान नभएपछि रुकुम चौरजहारीको स्यालखोलामा गँुड सारेको अनुसन्धानकर्ता सिंहले जानकारी दिए । समुद्री सतहदेखि ७ सय मिटर उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुँडमा सेतो गिद्धले गत वर्ष नै अन्डा पारेर एउटा बच्चा कोरलेको थियो । सिंहले भने, ‘उक्त सेतो गिद्धले यस वर्ष पनि सोही ठाउँमा गुँड लगाएर ओथारो बसिरहेकोे छ ।’ अनुसन्धानकर्ता सिंहले यस वर्ष उक्त लोपोन्मुख गिद्ध सबैभन्दा अग्लो ठाउँमा भेटिएको बताए।
प्रकृतिको कुचिकारको रूपमा लिइने गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । चरा संरक्षण संघका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा ९ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ ।
गिद्धको उपयुक्त वासस्थान भएको यस जिल्लामा गिद्धको अध्ययनका लागि पोर्चुगल विश्वविद्यालयबाट गिद्धसम्बन्धी विद्यावारिधि गर्न थालेका खडानन्द पौडेलले समेत चासो देखाएका छन् । उनी दुई पटक जिल्लामा आएर गिद्धको प्राकृतिक वासस्थानबारे अध्ययन गरेर फर्किएका हुन् । उनले भने, ‘संरक्षणका लागि ध्यान दिने हो भने विश्वबाटै लोप हुन थालेका गिद्ध जाजरकोटबाटै पुनः फैलाउन सकिन्छ । यहाँ गिद्धका लागि उपयुक्त हावापानी छ तर मानव अतिक्रमणले समस्या देखिएको छ ।’
जनचेतना अभावमा वनजंगलको विनाश, जथाभावी आगलागी हुनु, गिद्धका गुँडमा ढुंगा हान्ने, अन्डा तानेर फालिदिने, जथाभावी सिनोमा विष हाल्ने आदि कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् । जाजरकोट विश्वबाटै लोप हुन थालेका पक्षीको वासस्थान भएकाले समयमै संरक्षण गर्न सके पर्यापर्यटनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा विकास हुन सक्ने पक्षी संरक्षणकर्मीको भनाइ छ ।