आमाको दूधको विकल्प छैन

आमाको दूधको विकल्प छैन

डा. सुमनराज ताम्राकार

काठमाडौं : आमाको दूधको राम्रो विकल्प नै छैन। किनकि, कृत्रिम आहारले भाडापखाला गराउने वा कब्जियत गराउने हुन्छ। पानी मिसाइएको गाई, भैँसी, बाख्राको दूध, अनेक किसिमका सुक्खा फर्मुला दूधलाई स्तनपानको विकल्पका रूपमा लिइन्छ। यीमध्ये गाईको दूधमा पानी मिसाई खुवाउने चलन बढी छ। तर, आमाको दूधको दाँजोमा गाईको दूधमा ल्याक्टोज, प्रोटिन र सोडियमको निकै भिन्नता हुन्छ।

आमाको दूध सदा तयारी अवस्थामा किटाणुरहित र उपयुक्त तापक्रममा हुन्छ। स्तनपान झन्झटिलो पनि हुँदैन। आमाको दूध नवजात शिशुले सजिलै पचाउन सक्ने तथा पेट कम ढाडिने किसिमले बनेको हुन्छ। यो नवजात शिशुको अंगमैत्री तथा विभिन्न सरुवा रोगसँग लड्न सक्ने क्षमतायुक्त हुन्छ।

स्तनपानले बच्चाको दिसा गिलो बनाउने, एलर्जीको डर नहुने, आमा र शिशुबीच वात्सल्य स्थापित गर्न सघाउँछ। स्तनपान गराइएका शिशुमा फिला राताम्य हुने गरी पाक्ने, खटिरा आउने, झाडापखाला लाग्ने र छालाको एलर्जी हुनेजस्ता समस्या पनि कम हुन्छ। 

यसबाहेक स्तनपान गरिएका शिशुमा पछि मोटोपन, मधुमेह, एक्कासि शिशुको मृत्यु हुने सिन्ड्रोम पनि कम पाइएको छ भने आवश्यक मात्रामा गिदीको विकास, सुन्ने, हेर्ने, सिक्ने क्षमतामा राम्रो भएको र स्मरण क्षमता पनि राम्रो हुने गरेको पाइएको छ।

आमाको दूधमा चिल्लो पदार्थ पनि स-साना आकारका हुन्छन्। त्यसै गरी आमाको दूधको प्रोटिनमा सजिलै पच्ने ल्याक्टल्बुमिन र ल्याक्टोग्लोबुलिन हुन्छ। कार्बोहाइड्रेटमा पनि बढ्ता अंश ल्याक्टोजको हुन्छ, जसले लाभदायक सूक्ष्म जीवाणुको वृद्धि गराई भिटामिन बी उत्पादन गर्न मद्दत गर्दछ। आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइडलगायत लवण पदार्थ सही मात्रामा हुने हुनाले नवजात शिशुको अपरिपक्व मिर्गौलालाई बोझ नपर्ने खालको हुन्छ।

आमाको दूधमा भिटामिन डी हुने भएकाले उक्त भिटामिनको कमीले हुने रिकेट्सबाट बचाउँछ। त्यसै गरी ल्याक्टोफेरिन, लाइसोजाइम, ल्याक्टोपेरोअक्सिडेज पनि हुने हुनाले पाचन प्रणालीको संक्रमणबाट बचाउँछ। आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ। यसले विभिन्न प्रकारका सरुवा रोगसँग लड्न सक्ने क्षमता दिलाउँछ।

शिशु जन्मेको केही समयमै सुत्केरी आमाको शरीरमा बिगौती दूधको उत्पादन हुन थाल्छ। शिशुको स्वास्थ्यका लागि कम्तीमा छ महिनासम्म आमाको दूध खुवाउनु अति राम्रो हुन्छ। तर, छ प्रतिशतले आमाको दूधबाहेक पानी, छ प्रतिशतले दूध बेगरको झोल पदार्थ, १० प्रतिशतले अन्य दूध र १२ प्रतिशतले थप दूध ख्वाउने गरेको पाइयो। 

नेपालमा बर्सेनि करिब सात लाख शिशु जन्मन्छन् भने पाँच वर्षभित्र ५० हजार बालबालिकाको मृत्यु हुने गरेको छ। जसमध्ये करिब २१ प्रतिशत शिशुको मृत्यु जन्मेको एक महिनाभित्र हुन्छ। र, जन्मेको एक घण्टाभित्र स्तनपान गराएको खण्डमा करिब २२ प्रतिशत यस्तै शिशुको मृत्यु रोक्न सकिन्छ। 

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा शिशुको जन्मदेखि छ महिनासम्म स्तनपान गराउने सुत्केरी महिलाको संख्या ६६ प्रतिशत छ। शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या करिब ५५ प्रतिशत छ भने ९० प्रतिशतले २४ घण्टाभित्र स्तनपान गराउँछन्। शहरी क्षेत्र तथा अफिसका काम गर्ने महिलामा भने यो प्रतिशत न्यून छ। तर, ९९ प्रतिशत आमाले आफ्नो जीवनकालमा एक न एक पटक स्तनपान गराएकै हुन्छन्।

स्तनपान गराउने कार्यले सुत्केरी महिलाको पाठेघर खुम्चिन मद्दत गर्छ भने कालान्तरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनबाट पनि जोगाउँछ। स्तनपानले प्राकृतिक परिवार नियोजनको साधनको काम गर्छ। 

आमाको दूध महत्वपूर्ण भएकाले नै अंग्रेजी महिना अगस्तको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा मनाउने गरिन्छ।सुत्केरी आमामा एक्कासि उत्पन्न हुने संक्रमण, स्तनमा देखापर्ने समस्या (दूधको मुन्टो चर्किनु, स्तन सुन्निनु एवं पाक्नु, स्तनमा भाइरल संक्रमण) उत्पन्न हुनुका कारण बच्चालाई कृत्रिम प्रकारको दूध दिनुपर्ने हुन्छ। यसै गरी निकै कम तौल भएका, श्वास-प्रश्वाससम्बन्धी जटिल समस्या भएका तथा अन्य संक्रमणका कारण दूध चुस्नै नसक्ने अवस्थाका बच्चालाई पनि कृत्रिम आहार दिनुपर्छ।

सुत्केरी आमालाई कडा प्रकारको मुटुको समस्या, सक्रिय क्षयरोग, गम्भीर खालको मानसिक समस्या, एचआईभी संक्रमण छ भने, सुत्केरी आमाले छारे रोग, थाइरोइडलगायत रोगको औषधि सेवन गरिरहेको भए वा बच्चामा देखिने खुँडे तालु वा ग्यालेक्टोसेमिया (दूध पचाउन नसक्ने समस्या) भए पनि कृत्रिम आहार दिनुपर्ने हुन्छ।

दूध खुवाउँदा सिसीभन्दा पनि कचौरा र चम्चा प्रयोग गर्नु ठीक हुन्छ। सिसी  प्रयोग गर्नु नै छ भने निम्न प्रकारका सावधानी अपनाउनुपर्छ। सिसीबाट दूध खुवाउन प्रयोग गरिएका सबै भाँडाकुँडा खुवाउनुअघि र पछि राम्रोसँग सफा गर्नुपर्छ  अर्थात् राम्ररी उमालिएको पानीले पखाल्नुपर्छ।

सम्पूर्ण साप्ताहिकबाट साभार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.