नगरपालिकाको भ्रष्टाचार र कर वृद्धिबिरुद्ध निस्कियो जुलुस
लहान : सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४/०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न नेकपा बाहेकका सबै राजनीतिक दलले माग गरेका छन् ।
संघीय समाजवादी फोरम, नेपाली कांग्रेस, नयाँ शक्ति र विवेकशील साझा लगायतका पार्टीले हरहिसाब सार्वजनिकसहित १३ माग २४ घण्टाभित्र पुरा गर्न मेयर देवनाथ साहलाई ज्ञापन पत्र बुझाएका थिए ।
तर माग पुरा नभएपछि ती दलहरुले चरणवद्ध आन्दोलन सुरु गरे । साउन १४ र १५ गते नगरपालिकामा सयौं नेता कार्यकर्ता धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् । जुलुसमा जनसागर सडकमा आएको हो । स्थानीय सरकार मुर्दावाद नारा लगाइरहेकी गोलबजारकी शान्ति सदायले नगरपालिकाले कर बढाएपछि आन्दोलनमा सहभागी जनाएको बताइन् ।
'सेवा केही दिएन नगरपालिकाले, सामान्य वर्षा हुँदा सडक हिलाम्मे बन्छ, पानीको सुविधा छैन', उनले भनिन्, 'कल माग्दा पनि दिएन। अनि हामीले किन तिर्ने ? तिर्दिन ।' जुलुसमा सहभागी उनी जस्ता अन्य सयौं महिलाले 'मनोमानी ढंगले बढाएको कर फिर्ता लेऊ' नारा लगाएका थिए ।
जुलुस गोलबजारको बिभिन्न भागमा परिक्रमापछि नगरपालिका कार्यालय पुगेर कोणसभामा परिणत भयो । सभामा बोल्दै विवेकशील-साझाका प्रतिनिधि धनपति महतोले नगरपालिकाले खर्च विवरण सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
उनले यहाँका जनप्रतिनिधि आफुलाई राजा ठानेको आरोप लगाए । उनले आफ्ना नजिकका ब्यक्तिलाई गोप्य तरिकाले उपभोक्ता बनाएर ब्यापक अनियमिमता गरेको समेत आरोप लगाए।
फोरम युवा नेता सुधिर साहले विकास निर्माणको काममा मेयर र अधिकृत ब्रह्मलूट मच्चाएकोले खर्च विवरण सार्वजनिक गर्न नमानेको बताउँछन् । 'बनाएको पुल महिना दिनमै भत्कियो । नाला निर्माण पुरा नहुँदै भत्कियो', उनले भने, 'सबै ठाउँमा यस्तै कमसल काम भयो ।' उनले कमसल काम गराउनेमाथि कारवाही गर्नुको साटो पुरा रकम भुक्तानी दिकाले छानबिनको माग गरे ।
नेपालकै सबभन्दा ठूलो मारुती सिमेन्ट उद्योग गोलबजार नगरपालिकामै पर्छ । नगरपालिकाले उक्त उद्योगले उत्पादन गर्ने प्रतिबोरा १ मात्र कर उठाउने निर्णय गरेको छ। उक्त निर्णयको पनि राजनीतिक दलले विरोध गरेका छन् । कर बढाएर कम्तिमा प्रतिबोरा २ रुपैयाँ पुर्याउन र जनतासँग लिने कर घटाउननुपर्ने स्थानीय नेता साहको भनाइ छ।
विरोध जुलुसका कारण मंगलबार दिनभर कार्यालयको कामकाज प्रभावित बन्यो ।जुलुसमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो ।