वाइडबडी जहाजको पहिलो व्यावसायिक उडान अाजदेखि
काठमाडौं : राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु हुँदै छ। १९ सिटको डाकोटा विमानबाट उडान सुरु गरेको नेवानिले ६० वर्षपछि २७४ सिटको बाइडबडी ए३३०–२०० सिरिजको जहाजमार्फत व्यवसायी उडान सुरु गर्न लागेकाे हाे। नेवानिले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट गर्दै छ। ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त ए३३०–२०० वाइडबडी जहाजले बुधबार बेलुका ९ः२५ मा कतारको दोहाबाट व्यावसायिक उडान गर्दै छ।
असार १४ गते फ्रान्सको तुलुज सहरबाट १० करोड ४८ लाख रुपैयाँ खरिद गरिएको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको थियो। नेवानिलै नै ल्याएको दोस्रो वाइडबडी जहाजको व्यावसायिक उडान भने केही दिनबाट सुरु हुनेछ। मकालु नाम दिएको दोस्रो वाइडबडी जहाजको कलसाइन भने ‘नाइन एन–एन एएलजेट’ दिइएको छ।
अन्नपूर्ण नाम दिइएको वाइडबडी जहाजको पहिलो उडानमै ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए।
जहाजमा २५६ वटा इकोनोमिक क्लासका सिट र १८ वटा बिजनेस क्लासका सिट रहेको छ।
जहाजले सुरुवाती उडान पुरानै गन्तव्यबाट गरे पनि केही समयपछि जापान, कोरिया तथा साउदी अरबमा गर्ने भएको छ। थप तीन गन्तव्यसहित नेवानिले अब ११ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। हाल भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। नेवानिसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज छन्। जसमा दुईवटा वाइडबडी, दुईवटा एयरबस र एउटा बोइङ छन्।
नेवानिले वाइडबडी जहाजमार्फत फूल फेजमा उडान गर्न थाले पनि अहिले रहेको बजार हिस्सा १७ प्रतिशत पुर्याउने दाबी गरेको साथै वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने नेवानिको लक्ष्य छ। नेवानिले अहिले १० अर्ब आम्दानी गर्दै आएको छ।
वाइडबडी जहाजमार्फत उडान सुरु भएसँगै नेपालको पर्यटक आगमनसमेत बढ्ने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारको भनाइ छ।
हामी गल्ती सुधार्दै अगाडि बढेमा अवश्य पनि पुरानै अवस्थामा फर्किन सकिन्छ। निगमसँग १९ वटामात्र होइन, सयभन्दा बढी विमान हुनेछन्। सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेवानि
‘कुनै बेला निगमसँग १९ वटा विमान थिए। हामीले बोइङ ल्याएर उडाउँदा कोरिया र दिल्लीबाट हाम्रो विमान हेर्न ठूला मानिससम्म आए। नेपालले विश्वकै सबैभन्दा आधुनिक प्रविधिको विमान खरिद गरेको भनेर भन्थे’, कंसाकारले भने।
उनी थप्छन्, ‘निगमको एउटा छुट्टै किसिमको रौनकता थियो। त्यो अहिले कथाजस्तै भइसकेको छ। नयाँ पुस्ताले पत्याउन नसक्ने अवस्था छ। कतिपय विमान पुराना भए, कतिपय विमान दुर्घटनामा परेर नष्ट भए। एकपछि अर्को गर्दै विमान घट्दै गए। अब हामी गल्ती सुधार्दै छौं। हामी गल्ती सुधार्दै अगाडि बढेमा अवश्य पनि पुरानै अवस्थामा फर्किन सकिन्छ। निगमसँग १९ वटामात्र होइन, सयभन्दा बढी विमान हुनेछन्। निगमको व्यवस्थापन अन्य सरकारी संस्थानभन्दा राम्रो छ। मेहनत गरेर काम गर्ने कर्मचारी छन्। पक्कै पनि निगममा धेरै सुधार गर्नुपर्नेछ। पाइलटभित्र गुटबन्दी छ। यसलाई कम गर्दै लैजानुपर्छ। यसो गर्न सकेमा विश्वले फेरि भन्नेछ, वाओ नेपाल एयरलाइन्स।’
२५ अर्बको काम गर्न कहाँ सजिलो छ र ? नेपाल सरकारको सार्वजनिक खरिद ऐनदेखि विश्व नागरिक उड्डयन संगठन (आईकाओ) र आफ्नो संस्थाभित्रको ऐन पनि पालना गर्नुपर्छ। त्यसैले विमान ल्याउन केही समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ।
त्यसमाथि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था छ। विमानस्थलमा पार्किङको समस्या उस्तै छ। नयाँ विमानस्थल सञ्चालनमा आएपछि यसमा केही सुधार हुने कंसाकारको भनाइ छ। ‘अब निगम पुरानै ढर्रामा काम गर्ने सोचमा छैन। व्यवस्थापन चुस्त बनाउन खोजिरहेको छ। निगम पनि प्रविधिमैत्री हुँदै जानेछ’, उनले भने।
कंसाकार थप्छन्, ‘निगमले सबैभन्दा बढी नाफा हुने गन्तव्य तय गरिसकेको छ। निगमले सधैं नाफा गर्ने लक्ष्य पनि राखेको छैन, सबै ठाउँमा घाटाको व्यापार गरेर पनि अगाडि बढ्न सकिँदैन। नाफा हुने ठाउँमा व्यावसायिक उडान भर्दै घाटा हुने गन्तव्यमा जनतालाई सुविधा दिने हाम्रो सोच हो।’
सबैभन्दा बढी नाफा हुने क्षेत्र युरोप र अमेरिका नै हो। त्यहाँ पनि निगमले सिधा उडानको तयारी गर्दै छ। यसका लागि धेरै समय कुर्नुपर्ने छैन। केही समय भने पक्कै लाग्छ। युरोपमा नेपाली विमान उडाउन पाइँदैन। युरोपेली मुलुकको कालोसूचीबाट बाहिर निस्केर युरोपमा उडान भर्ने प्रयत्नमा हामी छौं। हामी जति छिटो युरोपियन स्ट्यान्डर्डमा गयौं, त्यति नै धेरै नाफा कमाउन सक्छौं। चाँजोपाँजो मिलाउँदा केही समय लाग्ने देखिएको उनको भनाइ छ।