वाइडबडी जहाजको पहिलाे व्यावसायिक उडान सुरु
काठमाडौं : राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु भएको छ । १९ सिटको डाकोटा विमानबाट उडान सुरु गरेको नेवानिले ६० वर्षपछि २७४ सिटको बाइडबडी ए३३०–२०० सिरिजको जहाजमार्फत व्यवसायी उडान सुरु गरेको हो । नेवानिले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट सुरु गरेको छ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त ए३३०–२०० वाइडबडी जहाजले बुधबार बेलुका ९ः२५ मा कतारको दोहाबाट व्यावसायिक उडान सुरु गरेको हो ।
असार १४ गते फ्रान्सको तुलुज सहरबाट १० करोड ४८ लाख अमेरिकी डलर खरिद गरिएको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको थियो । नेवानिलै नै ल्याएको दोस्रो वाइडबडी जहाजको व्यावसायिक उडान भने केही दिनबाट सुरु हुनेछ । मकालु नाम दिएको दोस्रो वाइडबडी जहाजको कलसाइन भने ‘नाइन एन–एन एएलजेट’ दिइएको छ ।
अन्नपूर्ण नाम दिइएको वाइडबडी जहाजको पहिलो उडानमै ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए ।
जहाजमा २५६ वटा इकोनोमिक क्लासका सिट र १८ वटा बिजनेस क्लासका सिट रहेको छ ।
जहाजले सुरुवाती उडान पुरानै गन्तव्यबाट गरे पनि केही समयपछि जापान, कोरिया तथा साउदी अरबमा गर्ने भएको छ । थप तीन गन्तव्यसहित नेवानिले अब ११ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ । हाल भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । नेवानिसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज छन् । जसमा दुईवटा वाइडबडी, दुईवटा एयरबस र एउटा बोइङ छन् ।
नेवानिले वाइडबडी जहाजमार्फत फूल फेजमा उडान गर्न थाले पनि अहिले रहेको बजार हिस्सा १७ प्रतिशत पु¥याउने दाबी गरेको साथै वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने नेवानिको लक्ष्य छ । नेवानिले अहिले १० अर्ब आम्दानी गर्दै आएको छ ।
वाइडबडी जहाजमार्फत उडान सुरु भएसँगै नेपालको पर्यटक आगमनसमेत बढ्ने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारको भनाइ छ ।
‘कुनै बेला निगमसँग १९ वटा विमान थिए । हामीले बोइङ ल्याएर उडाउँदा कोरिया र दिल्लीबाट हाम्रो विमान हेर्न ठूला मानिससम्म आए । नेपालले विश्वकै सबैभन्दा आधुनिक प्रविधिको विमान खरिद गरेको भनेर भन्थे’, कंसाकारले भने ।
हामी गल्ती सुधार्दै अगाडि बढेमा अवश्य पनि पुरानै अवस्थामा फर्किन सकिन्छ । निगमसँग १९ वटामात्र होइन, सयभन्दा बढी विमान हुनेछन् । सुगतरत्न कंसाकार, महाप्रबन्धक, नेवानि
उनी थप्छन्, ‘निगमको एउटा छुट्टै किसिमको रौनकता थियो । त्यो अहिले कथाजस्तै भइसकेको छ । नयाँ पुस्ताले पत्याउन नसक्ने अवस्था छ । कतिपय विमान पुराना भए, कतिपय विमान दुर्घटनामा परेर नष्ट भए । एकपछि अर्को गर्दै विमान घट्दै गए । अब हामी गल्ती सुधार्दै छौं । हामी गल्ती सुधार्दै अगाडि बढेमा अवश्य पनि पुरानै अवस्थामा फर्किन सकिन्छ । निगमसँग १९ वटामात्र होइन, सयभन्दा बढी विमान हुनेछन् । निगमको व्यवस्थापन अन्य सरकारी संस्थानभन्दा राम्रो छ । मेहनत गरेर काम गर्ने कर्मचारी छन् । पक्कै पनि निगममा धेरै सुधार गर्नुपर्नेछ । पाइलटभित्र गुटबन्दी छ । यसलाई कम गर्दै लैजानुपर्छ । यसो गर्न सकेमा विश्वले फेरि भन्नेछ, वाओ नेपाल एयरलाइन्स ।’
२५ अर्बको काम गर्न कहाँ सजिलो छ र ? नेपाल सरकारको सार्वजनिक खरिद ऐनदेखि विश्व नागरिक उड्डयन संगठन (आईकाओ) र आफ्नो संस्थाभित्रको ऐन पनि पालना गर्नुपर्छ । त्यसैले विमान ल्याउन केही समय लाग्नु स्वभाविक भएको उनको भनाइ छ ।
त्यसमाथि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था छ । विमानस्थलमा पार्किङको समस्या उस्तै छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि यसमा केही सुधार हुने कंसाकारको भनाइ छ । ‘अब निगम पुरानै ढर्रामा काम गर्ने सोचमा छैन । व्यवस्थापन चुस्त बनाउन खोजिरहेको छ । निगम पनि प्रविधिमैत्री हुँदै जानेछ’, उनले भने ।
कंसाकार थप्छन्, ‘निगमले सबैभन्दा बढी नाफा हुने गन्तव्य तय गरिसकेको छ । निगमले सधैं नाफा गर्ने लक्ष्य पनि राखेको छैन, सबै ठाउँमा घाटाको व्यापार गरेर पनि अगाडि बढ्न सकिँदैन । नाफा हुने ठाउँमा व्यावसायिक उडान भर्दै घाटा हुने गन्तव्यमा जनतालाई सुविधा दिने हाम्रो सोच हो ।’
सबैभन्दा बढी नाफा हुने क्षेत्र युरोप र अमेरिका नै हो । त्यहाँ पनि निगमले सिधा उडानको तयारी गर्दै छ । यसका लागि धेरै समय कुर्नुपर्ने छैन । केही समय भने पक्कै लाग्छ । युरोपमा नेपाली विमान उडाउन पाइँदैन । युरोपेली मुलुकको कालोसूचीबाट बाहिर निस्केर युरोपमा उडान भर्ने प्रयत्नमा हामी छौं । हामी जति छिटो युरोपियन स्ट्यान्डर्डमा गयौं, त्यति नै धेरै नाफा कमाउन सक्छौं । चाँजोपाँजो मिलाउँदा केही समय लाग्ने देखिएको उनको भनाइ छ ।
सच्चाइएकाे ः बिहीबार अन्रनपूर्ण पाेस्ट्काे अर्थतन्त्र पृष्ठकाे घ पेजमा प्रकाशित वाइडबडी जहाजको पहिलाे व्यावसायिक उडान सुरु शीर्षकमा वाइडबडी जहाजकाे मूल्य १० कराेड ४८ लाख अमेरिकी डलर हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।