कोस्टारिकामा हजाराैं शरणार्थी
जेनेभा : आन्तरिक द्वन्द्वका कारण विस्थापित बनेका करिब २३ हजार निकारागुवाली नागरिकले शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेको संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने संस्था युएनएचसीआरले मंगलबार जनाएको छ ।
निकारागुवाका राष्ट्रपति देनियल ओर्तेगाको शासनविरुद्ध विगत तीन महिनादेखि आन्दोलन चलेको छ । आन्दोलनमा सुरक्षाकर्मी तथा अर्धसैनिक समूहहरूको बर्बरतापूर्ण कारबाहीबाट आतंकित बनेपछि उनीहरू छिमेकी मुलुक कोस्टारिका आइपुगेका हुन् । आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा करिब ३०० नागरिकको ज्यान गइसकेको विभिन्न मानव अधिकारवादी समूहले जनाएका छन् ।
शरण खोज्दै राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय समन्वयकारी संघसंगठनमा प्राप्त भएका निवेदन अत्यधिक भइसकेको र यसले उनीहरूको व्यवस्थापनमा चासो बढाइएको युएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीलाई बताए । कोस्टारिकाका अधिकारीले भने गत अप्रिलदेखि अहिलेसम्म दर्ता भएका शरणार्थीको संख्या आठ हजार पुगेको र आगामी दिनमा १५ हजार जनालाई शरण लिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले प्रक्रिया पु¥याएर शरण दिनुपर्ने भएकाले विस्थापित निकारागुवाली जनतालाई समस्या परेको जनाएका स्पिन्डलरले बताए ।
युएनएचसीआरले कोस्टारिकाको उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत पारेको र हजारौँ निकारागुवाली शरणार्थीको सहयोगका लागि काम गरिरहेको उनले जानकारी दिए । निकारागुवामा देखिएको राजनीतिक अस्थिरताले अमेरिका, पानामा, मेक्सिको लगायतका मुलुकमा पनि शरणार्थी पुग्ने क्रम निकै बढेको छ । शीतयुद्धको समयमा वामपन्थी सान्दिनिस्ता सरकारको नेतृत्व गरेका ७२ वर्षीय ओर्तेगा सन् २००७ पछि पुनः सत्तामा आएका हुन् । आन्दोलनकारीले राष्ट्रपति र ओर्तेगाकी पत्नीसमेत रहेकी उपराष्ट्रपति रोजारिजो मुरिजोको राजीनामाको माग गर्दै आन्दोलन चर्काइरहेका छन् ।