मापदण्डभन्दा २५ गुणा धमिलो पानी
पोखरा : पोखराको खानेपानी मापदण्डभन्दा २५ गुना बढी धमिलो छ । पोखरा महानगरको खानेपानीका मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रमा विस्तार भएका ग्रामीण सडकका कारण पहिरो जाँदा पोखरामा वितरण भएको खानेपानी मापदण्डभन्दा २५ गुना धमिलो भएको खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख इन्जिनियर निरण महर्जनले बताए ।
गाउँगाउँमा डोजर प्रयोग गरी भएको अव्यवस्थित सडक विस्तारका कारण गएको पहिरो मर्दी खोलामा मिसिँदा खानेपानी मापदण्डभन्दा धमिलो भएको उनले सुनाए । खानेपानी संस्थान पोखरामा आएका ग्राहकको गुनासो लिएर प्रमुखकहाँ पुगेका सुशासनका लागि नागरिक समाज कास्कीका प्रतिनिधिसँग कार्यालय प्रमुख महर्जनले गत वर्ष पोखरामा वितरण गरिएको खानेपानी मापदण्डभन्दा ९० प्रतिशत धमिलो भएको पनि जानकारी दिए । खोलाको मुहान क्षेत्र रिभानमा गएको ठूलो पहिरोका कारण गत वर्ष धेरै धमिलो भएको र त्यसको समेत असरका कारण यस वर्ष पनि खानेपानी धमिलो भएको उनले सुनाए ।
खानेपानी संस्थान पोखरामा बिल तिर्न पुगेका अधिकांशले पानी धमिलो आएकाले खानेपानी छुट्टै किनेर प्रयोग गर्नुपरेको गुनासो पोखे । पोखरा लामाचौरका कृष्ण भण्डारीले धारामा धमिलो पानी आएकाले खाना पकाउन र पिउन प्रयोग गर्नै नसकिने अवस्था भएको सुनाए । पोखरा मियाँपाटनकी मिमकुमारी गुरुङले धारामा पानी नआए पनि बिल तिर्नुपरेको सुनाइन् ।
कार्यालय प्रमुख महर्जनले मुहानबाटै पानी धमिलो आएको कारण पोखराको पृथ्वीचोकदेखि नागढुंगा क्षेत्रमा हिलो माटोका कारण बेलाबेलामा पाइपमा हिलो पस्ने हुँदा त्यस क्षेत्रमा पानी वितरणमा समेत समस्या आएको बताए । बिनाट्रिटमेन्टप्लान र फिल्ट्रेसन पोखरी नबनाई खानेपानी वितरण गरिएकोले बर्खायाममा बढी समस्या आएको हो । हिमालबाट बगेर आउने मर्दीखोलाको भेडाबारी गाउँभन्दा केही तल बाँध बाँधेर पोखरामा पानी ल्याइएको छ ।
खानेपानी संस्थानले अहिले पोखरामा दैनिक साढे ५ करोड लिटर पानी वितरण गर्छ । त्यसमध्ये ९० प्रतिशत पानीको स्रोत मर्दीखोला हो । पोखरामा दैनिक साढे ६ करोड लिटर पानीको माग रहेको कार्यालय प्रमुख महर्जनले बताए । वर्षायाममै दैनिक १ करोड लिटर पानी अपुग रहेको उनले सुनाए । संस्थानले उक्त खोलाको पानी शुद्धीकरण तथा निर्मलीकरण नगरी वितरण गर्दै आएको छ । वरपरका गाउँ जाने गाडी र चौपायाले पनि मर्दीको पानी धमिल्याउँछन् । ८० प्रतिशत रोग फोहोर पानीका कारण हुने हुँदा नेपाल सरकार र खानेपानी संस्थान नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन ढिलाई गर्न नहुने नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए ।
खानेपानी संस्थानले सन् २००४ मै पानी शुद्धीकरण तथा निर्मलीकरणका लागि आवश्यक बजेट माग गरे पनि अझै आवश्यक बजेट नदिँदा समस्या भएको कार्यालयका कर्मचारी बताउँछन् । जापानी सहयोग नियोग जाइकाले पोखराको खानेपानी शुद्धीकरणका लागि काम छिट्टै नै थाल्ने गरी डीपीआर तयार पारी सकेको र जापानमै टेन्डर आह्वान गरी सन् २०२१ सम्म सक्ने गरी प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख महर्जनले सुनाए ।
५० प्रतिशत पानी चुहावट
पोखरामा ५० प्रतिशतभन्दा बढी पानी चुहावट हुने गरेको पाइएको छ । ग्राहकले मोटरबाटो प्रयोग गरी, मिटर झिकेर पानी प्रयोग गर्नेलगायत काम गरी चोरी गर्ने गरेको खानेपानी संस्थान पोखराको तथ्यांक छ । २० देखि २५ प्रतिशत ग्राहकले मात्र मिटर झिकेर मोटर प्रयोग गरेर पानी तान्ने गरको फेला परेको कार्यालय प्रमुख महर्जनले बताए । खानेपानीको चुहावट अनुगमन गर्न कार्यालयले कर्मचारी खटाए पनि कर्मचारीको अभावका कारण प्रभावकारी हुन नसकेको उनले सुनाए । अवैध रूपमा पानी चोरी गर्नेलाई कारवाही गरी करिब १० लाख जरिवानावाट असुल गरेको खानेपानी संस्थान पोखराका प्रमुख महर्जनले जानकारी दिए । आर्थिक वर्ष ०७४÷७५ मा करिब ३ सय जनाले पानी चोरी गरेका हुन् । पानी चोरी गर्नेलाई चोरीको प्रकृति हेरी १ देखि १० हजारसम्म जरिवाना र कैदसमेत हुने ऐनमा उल्लेख भए पनि कैद सजाए भने अहिलेसम्म कसैलाई नगरिएको कार्यालयले बताएको छ । खानेपानी संस्थान पोखरामा ४० हजार ग्राहक छन् ।