सडकबाट उद्धार भएका बालकको बिचल्ली
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाको महुवनको नेपाल राष्ट्रिय माविमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सन्चालित श्रोत कक्षामा अध्ययनरत सुस्त मनस्थितीका दुई बालक बिचल्लीमा परेका छन्।
श्रोत कक्षामा सुस्त मनस्थितीका कुल ११ जना बालक अध्ययनरत छन्। ती मध्ये १६ वर्षीय बनारसी र १३ वर्षीय श्यामलाई जिल्ला बाल कल्याण समितिले वीरगन्जको बजारबाट उद्धार गरेर २०६९ साल जेठ १ गते श्रोत कक्षामा राखेको थियो।
श्रोत कक्षामा राखे पनि बाल कल्याण समितिले आवश्यक रकम उपलब्ध नगराएपछि उनीहरुको बिचल्ली भएको हो। श्रोत कक्षामा अध्ययनरत अपांग बालबालिकाको खानपान, बास, औषधि उपचार, शैक्षिक सामाग्रीका लागि जिल्ला बाल कल्याण समितिले शिक्षा कार्यालयमार्फत जनही चार हजार रुपैयाँका दरले वर्षमा १० महिनाको मात्र रकम उपलब्ध गराउदै आएको छ। बाँकी दुई महिना दसैं, तिहार, छठ र अन्य बिदा कटाइएको छ।
साउन १० गते विद्यालय बिदा भएपछि नौजना विद्यार्थी अभिभावकसँग घर गए। तर बनारसी र श्याम घर जान सकेनन्। सडकबाट उद्धार भएकाले उनीहरुका अभिभावक कोही नहुँदा उनीहरुको बिचल्ली भएको हो।
अहिले उनीहरुलाई स्रोता कक्षामा कार्यरत आया लक्ष्मीमाया क्षेत्रीले आफ्नो घरमा लगेर राखेकी छिन्।
बुधबार क्षेत्रीले अन्नपूर्णसँग भनिन्, ‘यी दुई बच्चालाई लिने कोही अभिभावक भएनन्। म घर हिड्न लाग्दा रुन थालेपछि घर लिएर आएकी हुँ।’ क्षेत्रीको परिवारको समेत आर्थिक अवस्था कमजोर भएकाले उनीहरुलाई घरमा राख्न कठिनाइ भइरहेको छ। छोरा, बुहारी र श्रीमानसहित ६ जनाको परिवारमा अरु दुई बौद्धिक अपांग थपिएपछि उनको घरमा तनाव थपिएको छ ।
क्षेत्रीले उनीहरुलाई राज्यले चासो दिनुपर्ने बताएकी छिन्। ‘बिदाको समयमा पनि व्यवस्थापन गर्नेगरी यस्ता बालबालिकालाई राज्यले हेर्नुपर्ने हो। तर, राज्यले लापरबाही गर्दा परिवारमा तनाव बढेको छ’, क्षेत्रीले भनिन्।
पर्साको सुखवाप्रसौ गाउँपालिकाको एकडरवा गाउँमा रहेको आया लक्ष्मीमाया क्षेत्रीको घरमा अलपत्र परेका बौद्धिक अपांग बनारसी र श्याम। तस्बिर : क्रान्ति शाह