बाढीले बगायाे राजविराजमा घर
राजविराज : भलुवाही खोलामा आएको बाढीले बुधबार राजविराज नगरपालिकामा एउटा घर बगाएको छ।
राजविराज नगरपालिका भएर बग्ने भलुवाही खोलाको निकास थुनिएकाले राजविराज नगरपालिका २ की रूबी खातुनको पक्की घर बगाएको हो। पानीको निकास थुनिएकोपछि खातुनको घर बगाएको सप्तरी प्रहरीले जनाएको छ।
खातुनको घर बगाएपछि सात जनाको परिवारको विचल्ली भएको छ। भलुवाही खोलाको किनारमा ३५ परिवार बसोबास गर्दै आएका छन्। खोलामा लामो समयदेखि चलिरहेको तटबन्ध निर्माणको काम वर्षा अगावै नसकिएकाले खातुनको घर बगेको स्थानीयले आरोप लगाएका छन्।
गत वर्ष साउन अन्तिम साता भलुवाई खोलामा आएको बाढीले राजविराज २ का स्तम शेख, मोहम्मद मुक्तार, सकिला खातुन, उमेश देवलगायत ६ जनाको घर बगाउनुका साथै टोलका अधिकांश घर डुबानमा परेका थिए।