अभ्यासमा सामेल भए नेमार
पेरिस : विश्वकपपछि आराम गरिरहेका ब्राजिलका स्टार नेमार क्लब फुटबलको अभ्यास र तयारीका लागि पेरिस सेन्ट जर्मन (पीएसजी)को टुरमा सामेल भएका छन्। पीएसजीले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफी खेल्दैछ। नेमारले पीएसजी छाड्ने हल्ला यस टुरसँगै अन्त्य भएको छ। विश्वकपलगत्तै नेमार पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा व्यापक बनेको थियो।
पीएसजीले प्रिसिजन टुरअन्तर्गत यसअघि सिंगापुरमा आर्सनल, बायर्न म्युनिख र एथलेटिको म्याड्रिडसँग खेलिसकेको छ। पीएसजी सिंगापुरको टुर सकेर चीन यात्रामा निस्किएको छ। पीएसजी यस सिजन नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा रहेको छ। सिंगापुरमा खेलिएका सबै खेलमा टुचेलले दोस्रो रोजाइका खेलाडीलाई खेलाएका थिए। चीनमा भने नेमारसहित टोलीका पहिलो रोजाइका खेलाडीलाई खेलाउने तयारी उनले गरेका छन्।
मोनाकोसँग हुने च्याम्पियन्स ट्रफीको खेल प्रशिक्षक टुचेलका लागि पहिलो आधिकारिक प्रतियोगितासमेत हुनेछ। प्रशिक्षक टुचेलले पनि नेमारको आगमन टोलीका लागि महत्वपूर्ण भएको बताएका छन्। विश्वकपपछि नेमार छुट्टीमा थिए। पीएसजीका लागि नेमारले गत फेबु्रअरीपछि पहिलोपटक खेल्न लागेका छन्।
फेब्रुअरीमा लिगकै क्रममा चोट लागेपछि नेमार मैदानबाहिर रहँदै आएका थिए। त्यसपछि दुई महिना उपचार र आराम गरेर नेमार विश्वकप टोलीमा सामेल भएका थिए। रुस विश्वकपमा नेमारको टोली ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएको थियो।