गुगलले चीनका लागि सेन्सरमैत्री सर्च इन्जिन बनाउँदै
बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्ने गरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत कर्मचारीले जानकारी दिएका छन् । सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । नाम नबताउने शर्तमा ती कर्मचारीले ‘ड्रागनफ्लाई’ गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् । मानवअधिकारवादीहरूले यस कार्यको विरोध गरेका छन् ।
मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्ने गरी यो परियोजनामा काम हुँदै छ । स्रोतका अनुसार यसलाई कम्पनीको आन्तरिक सञ्जालमा परीक्षण गर्ने तयारी भइरहेको छ । अमेरिकी सञ्चारमाध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी १ करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए । ‘यो सम्झौतालाई नवीकरण गरिएन । कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिस ज्यादै पागल हुँदै छन्’, स्रोतले भन्यो ।
गुगलका एक प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन चाहेनन् । ‘हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनियाँ निर्माताहरूलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनियाँ कम्पनीमा राम्रै लगानी गरेका छौं’, प्रवक्ता ताज मिडोजले भने, ‘हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा छैनौं ।’
द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो । यस परियोजनामार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ । इन्टरसेप्टका अनुसार मानवअधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावली कालोसूचीमा पर्दछन् । चीनको ग्रेट फायरवालले अवरुद्ध गरेका वेबसाइटहरू यो एपले पहिचान र फिल्टर गर्दछ । यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्युयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनियाँ अधिकारीहरूले हेरेकै आधारमा गुगलको सेवा चीनमा शुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । ‘चीनको कठोर सेन्सरसीप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिनेछ’, एम्नेस्टीका तर्फबाट प्याट्रिक पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चीनमा हाल ट्विटर, फेसबुक र द न्युयोर्क टाइम्स अखबारका वेबसाइटहरू प्रतिबन्धित छन् । सन् २०१० मा गुगलले सेन्सरसीप र ह्याकिङको विवादपश्चात् चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । यद्यपि चीनमा गुगलको अन्य परियोजनामा सय मानिस कार्यरत छन् ।