चुनावमा सत्तापक्षकै जित भएपछि जिम्बाबेमा तनाब

चुनावमा सत्तापक्षकै जित भएपछि जिम्बाबेमा तनाब

हरारे : जिम्बाबेको राजधानी हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीले ढुंगामुढा र सवारीसाधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र अश्रुग्याँस प्रहार गरेका छन् । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

सत्तारुढ दल जानु–पीएफका संस्थापक नेता एवं पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् । संसद्को चुनावमा सत्तारुढ जानु–पीएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणालगत्तै हरारेका मुख्य स्थानमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ । वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरूले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् । गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरू छिचोल्दै सैनिक ट्यांक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरूले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ ।

बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपरसहित हरारेका मुख्य शहरी इलाकामा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार गोली लागेर तीनजनाको मृत्यु भएको छ । ‘अहिले त परिस्थिति बिल्कुलै भिन्न छ’, ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन्, ‘सोमबार मानिसहरू ज्यादै खुशी थिए आज उनीहरू निराश छन् । यहाँ कहिले शान्ति आउला ? ’

अधिकारीहरूले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् । यसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबुबाहिर परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकारविरोधी भेला र प्रदर्शन रोक्न यही कानुन बारम्बार प्रयोग गरिन्थ्यो । राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षी दोषी रहेको आरोप लगाएका छन् । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताए । विपक्षीहरूले भने सुरक्षा निकायले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरूको आरोप छ । ‘के हामी युद्धको स्थितिमा छौं ? के नागरिक राज्यका दुश्मन हुन् ? ’, मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गरे ।

संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनाव तुलनात्मक रूपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

 हिंसा र अनियमितताको शिकार हुने गरेको विगतको तुलनामा योपटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरूको भनाइ छ । ‘राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाइ हुन्छ, निर्वाचन प्रक्रियामा आमजनताको विश्वास त्यति कमजोर हुँदै जान्छ’, अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्वलाइबेरियन नेता एलेन जोन्सन सरलेफले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.