क्यानभासमा भुइँचालो

क्यानभासमा भुइँचालो

टेकु (लगनटोल)स्थित ‘पासा पी’को काम गर्ने कोठा अस्तव्यस्त छ। रङ र क्यानभास यत्रतत्र छरिएका छन्। बनिसकेका पेन्टिङ भित्तामा ठडिएका छन्। केही पेन्टिङ भित्तामा टाँगिएका छन्। क्यानभासलाई ‘साइज’ दिने काठका टुक्राहरू छन् त्यहाँ। भुइँमा वारपार कोठा ढाक्ने ‘ब्ल्याक फर्म’ बिछ्याइएको छ। पल साउद भन्छन्, ‘हाम्रो काम गर्ने कोठा यस्तै छ।’

क्यानभास र रङ बोकेर पल साउद केही समयदेखि निरन्तर वसन्तपुर दरबार धाइरहेका छन्। ‘गद्दी दरबारलाई क्यानभासमा उतार्दै छु’, उनले भने। यसअघि पनि उनले भूकम्पलगत्तै गद्दी दरबारलाई पेन्टिङमा उतारेका थिए।

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको ७.८ रेक्टरको भूकम्पले धेरै बस्तीलाई उजाड बनाइदियो। सानसहित उभिइरहेका हाम्रा सम्पदा छिनभरमै भुइँमै ढले। करिब आठ हजार मानिसले ज्यान गुमाउनु पर्‍योे। भूकम्पले निम्त्याएको क्षतिलाई साउदसहित चार जनाको समूहले क्यानभासमा उतार्ने प्रयास गर्‍यो। ‘हामीले भूकम्प जानेबित्तिकै समूह बनाएर ध्वस्त संरचनालाई क्यानभासमा उतार्ने निर्णय गर्‍यौं। त्यसका लागि काठमाडौं, गोरखा र सिन्धुपाल्चोक पुग्यौं’, उनले भने, ‘हाम्रो योजना तीन चरणको छ। पहिलो, भूकम्प जानेबित्तिकै भत्किएका केही संरचनाको पेन्टिङ गर्‍यौं। दोस्रो, पुनर्निर्माण भइरहेको अवस्थाको पेन्टिङ गरिरहेका छौं। तेस्रो, भवन बनिसकेपछिको अवस्थालाई उतार्छौं।’ ‘पासा पी’ नाम राखिएको उनीहरूको समूह अहिले काठमाडौंमा केन्द्रित छ।


भूकम्पपीडितलाई के कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सोच्दै थिए- पल साउद, बिकुल ढकाल, प्रवीण श्रेष्ठ र आकाश बुढामगर। उनीहरूले जानेको सीप थियो, पेन्टिङ गर्ने। ललितकलाकै विद्यार्थी भएकाले पनि रङसँग उनीहरूको विशेष लगाव थियो। आफूहरूले जानेकै सीप सदुपयोग गर्न चाहन्थे उनीहरू। त्यसपछि साथीहरू मिलेर एउटा निर्णय गरे— भूकम्पले ध्वस्त पारेका संरचनाको पेन्टिङ गरेर बेच्ने र आएको पैसाले भूकम्पपीडितलाई सहयोग गर्ने।

उनीहरूले स्पटहरूमा गएर पेन्टिङ गर्ने सोच बनाए। सोचबमोजिम काम पनि सुरु भयो। काठमाडौं, गोरखा र सिन्धुपाल्चोक पुगेर उनीहरूले ध्वस्त संरचनालाई क्यानभासमा उतारे। ‘हामीले पीडित मान्छेका कथा सुनेका छौं’, आकाशले भने।

भूकम्प गएको एक साता पनि बितेको थिएन। केही चित्रकार जिरो ग्राउन्डतिर पुगे र भत्किएका संरचनामाथि पेन्टिङ गर्न थाले। पाल टाँगेर बसिरहेका मानिसको जीवनशैलीलाई क्यानभासमा उतारे।

सुरुमा त यो टोली काठमाडौंमै डुल्यो। भूकम्प गएको एक हप्ता पनि बितेको थिएन, उनीहरूले विभिन्न ठाउँका भत्किएका संरचनामाथि पेन्टिङ गर्न थाले। पाल टाँगेर बसिरहेका मान्छेको जीवनशैलीलाई उनीहरूले क्यानभासमा उतारे। परकम्प रोकिएको थिएन तर उनीहरूले भोटाहिटी, रानीपोखरी, धरहरा, वसन्तपुर, बुङ्मती लगायतका ठाउँमा पुगेर पेन्टिङ गरे। टँडिखेलमा पुगेर छाप्रोमा बसेकासँग कुरा गरे, पेन्टिङ गरे।

उनीहरू रङ र क्यानभास बोकेर दौडिरहे। मान्छेले भोगेको पीडालाई नियाल्ने प्रयास गरे। ‘काठमाडौंको टँडिखेलवरिपरि मान्छेहरू सहयोग माग्थे। हामीहरू सहयोग दिन सक्दैनथ्यौं, पीडा हुन्थ्यो’, साउदले भने। भूकम्पको उद्दण्डता उनीहरूले पाइलापाइलामा भेटे। मान्छेको चिच्याहट सुने। कतिपय दृश्यले उनीहरूको आँखै रसायो। एउटा मन कुँडिने अवस्था थियो— गोरखाको थुम्सिकामा। ‘घरहरू भत्किएर बस्ने ठाउँ थिएन। केटाकेटी र बूढाबूढीको बिचल्ली भएको थियो। खानेकुराको अभाव थियो। फोहोर पानीले मान्छेमा हैजाको संकेत देखिन थालेको थियो’, साउदले भने, ‘राहत पनि पुगेको थियो। हामीले गर्नसक्नेसम्म सहयोग त गर्‍यौं तर हाम्रो सहयोगले मात्र पुग्दैनथ्यो। त्यहाँ राज्यकै सहयोग चाहिन्थ्यो।’ मान्छेमा शिक्षाको पनि अभाव देखे उनीहरूले। सक्नेजति सहयोग गरे। भत्किएको घरबाट पुरिएका खानेकुरा, लुगाफाटा र अन्य सामग्री निकाल्न उनीहरूले मद्दत गरेका थिए।

उनीहरूको मुख्य उद्देश्य थियो— पेन्टिङ गर्नु। गोरखामा बस्दा उनीहरूले ४० वटाजति पेन्टिङ गरे। भत्किएका घरमाथि पेन्टिङ गरेर उनीहरू घरवालालाई देखाउँथे। आफ्नै भत्किएको घरको पेन्टिङ हेरेर केही घरधनी भावुक हुन्थे। कोहीकोही मुसुक्क हाँस्थे। ‘उनीहरू हाँसेको देख्दा हामीलाई पनि खुसी लाग्थ्यो। हामी उनीहरूको पीडा भुलाउन चाहन्थ्यौं’, प्रवीण भन्छन्, ‘पेन्टिङ गरेरै पनि मान्छेलाई खुसी तुल्याउन मद्दत गर्‍यौं कि जस्तो लाग्छ।’

स्पटमै पुगेर पेन्टिङ गर्ने भन्दै उनीहरू सिन्धुपाल्चोक पुगे। मेलम्ची, बाडे, माझीगाउँलगायत ठाउँमा पुगेर २० भन्दा बढी पेन्टिङ गरे। मान्छेको अवस्था त्यहाँ पनि उस्तै थियो। हुन त सम्पूर्ण नेपाल नै आहत बनेको बेला थियो त्यो। तर, सबैभन्दा बढी भूकम्प प्रभावित जिल्लामध्ये एउटा त सिन्धुपाल्चोक नै थियो। सिन्धुपाल्चोकमा राहत पुगेको थियो। तर, उनीहरू राहतको सदुपयोग भयो भन्नेमा विश्वास गर्दैनन्।

सिन्धुपाल्चोकमा उनीहरूलाई देखेर मान्छे राहतको अपेक्षा गर्थे। उनीहरूसँग राहतको पोको थिएन। थियो त केबल सफेद कागज र पेन्सिल, केही क्यानभास र रङ। उनीहरूले त्यहाँ भत्किएका घरको पेन्टिङ गरे। मान्छेहरूको पीडा झल्काउन केही पोट्रेट बनाए।

‘अहिले त्यति बेला बनाएको पेन्टिङ हेर्दा भावुक भइँदो रहेछ’, साउदले भने।

परकम्प आइरहँदा पनि उनीहरू रङ र क्यानभास बोकेर हिँडिरहे।उनीहरूलाई केही सहज पनि थियो। किनभने रुकुम घर भएका आकाश, चिसापानी घर भएका बिकुल, कैलाली घर भएका साउद र काठमाडौं घर भएका प्रवीण सबैको परिवार सुरक्षित थियो।

नियमित परकम्प आइरहँदा उनीहरूलाई परिवारले घर आउन दबाब दिइरहेकै थिए। बाहिर नबरालिनु भनेका थिए। ‘घन्टैपिच्छे घरबाट फोन आउँथ्यो तर काम गर्न हामी दृढ थियौं’, साउदले भने।

तर, उनीहरू परिवारका कुरा मानिरहेका थिएनन्। बरु भूकम्पको उद्दण्डतालाई पेन्टिङमा लेखिरहेका थिए। ‘पेन्टिङ गर्दागर्दै भूकम्प आइहाल्ला कि भनेर डर त लाग्थ्यो’, उनले भने, ‘हामी सकेसम्म जोगिएर काम गथ्र्यौं।’

आफूहरूले त्यति बेला पेन्टिङमार्फत मान्छेका पीडा बटुलेको बताउँछन् उनीहरू। मान्छेहरूको कथा संकलन गरेको बताउँछन्। मान्छेको जीवनशैलीलाई रङमा प्रतिविम्बित गरेको बताउँछन्। भत्किएका घर र सम्पदालाई उनीहरूले सकेसम्म उस्तै गरी उतार्ने प्रयास गरे। ‘पछिपछि पेन्टिङ हेर्दा भूकम्प गएपछिको संरचना कस्तो थियो भनेर थाहा पाउन सकिन्छ’, साउदले भने।

उनीहरू बेलाबेला पेन्टिङ प्रदर्शनी पनि गर्छन्। अहिलेसम्म तीनपटक प्रदर्शन गरिसके। पेन्टिङ बेच्ने सोचचाहिँ बनाएका छैनन्। हुन त पेन्टिङ बेच्ने र पीडितलाई सहयोग गर्ने उद्देश्य राखेरै काम थालेका थिए। ‘राहतको सदुपयोग भएजस्तो लागेन हामीलाई। त्यसैले पेन्टिङ नबेच्ने निर्णय भयो’, साउद भन्छन्, ‘कसैले संरक्षण गर्छ भने हामी संग्रहालयलाई दिन तयार छौं।’

भूकम्प गएको तीन वर्ष पुगिसक्यो। उनीहरूको काम चलिरहेकै छ। विभिन्न ठाउँमा पुगेर पेन्टिङ गरिरहेका छन्। अहिले उनीहरूको ध्यान विशेष गरी सम्पदातिर छ। काठमाडौंमा सम्पदाको पुनर्निर्माण चलिरहेको छ। पुनर्निर्माण हुँदै गरेको अवस्थालाई उनीहरू पेन्टिङमा उतारिरहेका छन्। भूकम्प जानेबित्तिकै कस्तो थियो, बनाइरहँदा कस्तो थियो र बनाइसकेपछि कस्तो भयो भनेर चित्रमा देखाउन चाहन्छन् उनीहरू। वसन्तपुर, भक्तपुर दरबार स्क्वायर, बुङ्मती, धर्मस्थलीलगायत सम्पदाको दोहोर्‍याएर पेन्टिङ गर्दैछन् उनीहरू।

‘हामीलाई आर्थिक रूपमा निकै गाह्रो भयो’, साउद थप्छन्, ‘विद्यार्थी मान्छे, पैसा थिएन।’ भूकम्पपछि पेन्टिङका लागि आवश्यक सामग्री पाइने पसल पनि खुलेका थिएनन्। क्यानभासको अभाव हुँदा उनीहरूले धेरै पेन्टिङ कागजमै बनाए। सेतो, ठूलो कागज। त्यति बेला पेन्सिलले स्केच बनाए। अहिले त्यो स्केचलाई क्यानभासमा पेन्टिङको रूप दिइरहेका छन्। अब त्यसलाई फ्रेममा सजाएर सम्बन्धित मानिसलाई दिन चाहन्छन्। ‘हामीले जसको घरलाई क्यानभासमा उतार्‍यौं, फ्रेममा उनीहरूको फोटो सजाएर दिन चाहन्छौं’, साउदले भने, ‘तर, हामीसँग पैसा छैन। जुन दिन हामीसँग पैसा हुन्छ, हामी गोरखा, सिन्धुपाल्चोकतिर पुगेर सम्बन्धित मानिसलाई पेन्टिङ दिन्छौं।’

उनीहरूले भूकम्पको जिरो ग्राउन्डमा टेक्दा धेरै कुरा देखे। धेरै घटना भोगे। बेलाबेला ती स्थान र पात्र सम्झन्छन् उनीहरू। कहिलेकाहीँ आफैंले त्यति बेला बनाएका पेन्टिङ हेर्छन् र नोस्टाल्जिक बन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.