भेरी–बबई डाइभर्सन : ६ किलोमिटर सुरुङ खनियो

भेरी–बबई डाइभर्सन : ६ किलोमिटर सुरुङ खनियो

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान ‘रेड जोन’ पार भएको छ। आयोजनाको भौगर्भिक सर्भेका बेला सुरुङ खन्न जोखिम हुने आकलन गरिएको भागबाट मेसिन अघि बढेको हो।

सुरुङ निर्माणमा प्रयुक्त विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) रेड जोन पार गरेर अघि बढेसँगै आयोजनाको काम तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ। भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्नका लागि थालिएको आयोजनाको हाल सुरुङ निर्माण भइरहेको छ। सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेड जोनका रूपमा राखेका थिए। यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पुर्‍याउने आशंका गरिएको थियो।

देशमा पहिलो पटक प्रयोग गरिएको टीबीएम मेसिन रेड जोन पार गरेर अघि बढेको छ। यससँगै आयोजनाको सफलता निश्चित भएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए। ‘हामीलाई आशंका र त्रास लागेको क्षेत्र पार गरेर मेसिन अघि बढेको छ, जिओलजिकल सर्भेमा तोली खोलामा जोखिम देखिएको थियो’, उनले भने, ‘तर मेसिनले त्यो क्षेत्र पार गरेको छ, अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ।’ सात महिनाअघि सुरुङ खन्न थालिएको थियो। दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ। सात महिनामा मेसिनले आधाभन्दा बढी सुरुङ खनिसकेको छ।

हालसम्म ६ हजार ३ सय ५० मिटर सुरुङ खनिएको छ। मेसिनले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले जानकारी दिए। उनले भने, ‘तोलि खोलाको २ सय मिटरमुनिको रेड जोन मेसिनले सफलतापूर्वक पार गरेको छ। अब आयोजना बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सफल भयो।’ रेड जोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाँती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो।

‘सुरुङ निर्माण सफल हुने नहुने आशंका थियो, त्यसैले पावर हाउस र बाँध निर्माण प्रक्रिया सुरु नै गरिएको थिएन’, प्रशासन प्रमुख शाहीले भने, ‘अब जोखिम मानिएको काम सफल भएपछि आयोजनाका अन्य काम पनि धमाधम अघि बढ्छन्।’ उनका अनुसार अब बबईमा पावर हाउस र भेरीको चिप्लेस्थित बाँध निर्माणको टेन्डर प्रक्रिया अघि बढाइनेछ।

 १२ किलोमिटर लामो सुरुङको अहिलेसम्म ६ हजार ३ सय ५० मिटर खनिएको छ।

आयोजना निर्देशक बस्नेतले भने, ‘अब आयोजनाको कामले गति लिन्छ, हामी अब बाँध निर्माण र पावर हाउस बनाउन सुरु गर्नेछौं।’ आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिकरण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थालिने जनाएको छ। सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रति सेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको छ। बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराइने आयोजनाले जनाएको छ।

पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानी सिँचाइमा प्रयोग गर्ने योजनासहित आयोजनाको सुरुङ निर्माण भइरहेको छ। सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच आयोजना निर्माण गर्न २०७१ माघमा ठेक्का सम्झौता भएको थियो। स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्यसहित २०७१ मा सुरु भएको थियो। २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गरेका थिए।

सुर्खेतः १) भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा हाल खनिएको सुरुङमार्ग। तस्बिर ः ललितबहादुर बुढा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.