निर्देशनमा बिन्दु माझी

निर्देशनमा बिन्दु माझी

रमेश विकलले माझीको कथावस्तु समेटेर उपन्यास ‘अविरल बग्दछ इन्द्रवती’ (२०४०) लेखे। यसलाई बद्री अधिकारीको निर्देशनमा टेलिशृंखला पनि बनाइएपछि माझी समुदायको कथा अझ सतहमा आयो। आफ्नो समुदायको समस्या सोही समुदायमा लेखकहरूले अझ मिहिन ढंगले उतार्न सक्छन्। विकलले चालीसको दशकमा लेखेका थिए, अविरल बग्दछ इन्द्रवती। यति वर्ष बितिसक्दा पनि सोही समुदायबाट अर्को आख्यानकार जन्मिएनन्। गोरखापत्रको बहुभाषिक पृष्ठमा माझी भाषाले स्थान पाएपछि कवितालगायत रचना छापिन थाले।

किशोरी वयकी बिन्दु माझीलाई कक्षा ८ मा ‘अविरल बग्दछ इन्द्रवती’को कथा टेलिशृंखला हेरेको अमिट छाप परेको थियो। त्यसमा माझीबारे केही नकारात्मक कुरा पनि थियो। यस्ता नकारात्मक पक्ष नराखी आफ्नो समुदायबारे सिनेमा बनाउन पाए क्या काइदा हुन्थ्यो भन्ने लाग्थ्यो, उनलाई। यही सपनालाई मूर्त रूप दिन उनले प्लस टुपछि राजधानीको हात्तीसारस्थित फिल्म कलेजबाट ब्याचलर इन फिल्म स्टडी विषय ज्वाइन गरिन्। फिल्म निर्देशन विषयमा डिप्लोमा कोर्स सकाएको पनि पाँच वर्ष पूरा भइसक्यो।

२१ वर्षको उमेरमा बिन्दु माझीले ‘जोल’ नामक वृत्तचित्र बनाइन्। माझीहरू माछा मारेर जीविका चलाउँछन्। खोला, नदीमा विष, बम प्रयोग गरेर माछाको भ्रूण नै निमिट्यान्न पारेपछि माझीको जीविका संकटमा परेको कथा ‘जोल’मा छ। सन् २००९ को आदिवासी जनजाति चलचित्र महोत्सवमा ‘जोल’ प्रदर्शन भएपछि उनको परिचय माझी जातिको पहिलो महिला निर्देशकका रूपमा दर्ज भयो।       

‘जोल’पछि उनलाई अर्को सिर्जना गर्न समय लाग्यो। गएको वर्ष बल्ल ‘बन्थी’ नामक लघु चलचित्र लिएर झुल्किइन्। ‘बन्थी’ एक सानो बालक र उनको हजुरबाको कथा हो। परिवारमा यी दुई मात्र रहेकाले हजुरबाले माछा मारेर बेचेको रकमले गुजारा गर्छन्। ख्यालठट्टा गर्दा नातिले हजुरबाको चस्मा फुटाउँछ र हजुरबा आँखा नदेख्ने हुन्छ। अब बालक नातिको एउटै ध्याउन्न हुन्छ, हजुरबाको नयाँ चस्मा कसरी बनाउने। अब नाति माछा मार्ने काममा लाग्छ। यस्तो युनिक कथा बोकेको ‘बन्थी’ सन् २०१७ मा न्युयोर्कमा भएको नेपाल इन्डिजिनियस फिल्म फेस्टिवलका लागि टप टेनमा छानियो। उनले फेस्टिवलमा जान भिसाका अप्लाई गर्दा पाइनन्। भन्छिन्, ‘युवाहरू अमेरिका जाँदा उतै हराउलान् कि भनेर भिसा दिएनन् कि ? ’ हुन पनि सोही फेस्टिवलमा मुगाल जातिबारे फिल्म लिएर गएका प्रौढ निर्माता, निर्देशक उतै बसे। उनको दुःखेसो छ, ‘अग्रजहरूले बाटो बिराउँछन्। बाटो हाम्रो बन्द हुन्छ। विदेशी फेस्टिवलमा धेरै सिक्न पाइन्थ्यो। यो मेसो जुरेको छैन।’

यही वर्ष असार १५ देखि १९ सम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा भएको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा बिन्दु माझीको निर्माण, निर्देशनमा माझीबारे ‘लदी पूजा’ वृत्तचित्र प्रदर्शन भयो। यो वृत्तचित्र सिन्धुपाल्चोक खाडीचौरको माझी बस्तीमा खिचिएको थियो। सिन्धुली, भिमान घर भएकी बिन्दु आफ्नो गाउँमा लदी पूजाका क्रममा परम्परागत पूजा नगर्दा वृत्तचित्र बनाउने बेला धेरै नयाँ कुरा सिकेको बताउँछिन्।

आफ्नै समुदायको फिल्म बनाउन तनमन दिएकी बिन्दु माझी बिस्तारै नेपाली सिनेमामा पनि फड्को मार्दैछिन्। छिरिङरितार शेर्पाको ‘उमा’ सिनेमामा उनले मुख्य सहायक निर्देशन नै गरिन्।

बिन्दुका श्रीमान् शालिकराम माझी राप्रपा नेपालमा आबद्ध छन्, राजनीति गर्छन्। आफ्नै गाडी छ। बस व्यवसायी पनि हुन् उनी। परिवारको आर्थिक गाडी श्रीमान्ले हाँक्ने भएकाले परिवार चलाउने चिन्ता छैन उनलाई। त्यसैले फुल टाइम चलचित्रबारे चिन्तन मनन हुन्छ। उनकै अगुवाइमा माझी चलचित्रकर्मी संघ पनि गठन भएको छ। संघकी अध्यक्ष रहेकी माझी भन्छिन्, ‘चलचित्र बनाउने काम टिमवर्क हो। मजस्तै मेरा समुदायका अरू पनि यस क्षेत्रमा लागून्। सँगै अघि बढौं भनेर माझी चलचित्रकर्मी संघ गठन गरियो।’

फिल्म कलेजमा पढ्दा बिन्दुका सहपाठी २५ जना थिए। ती प्रायः सबै चलचित्रको कुनै न कुनै विधामा संलग्न छन्। बेलाबेलामा भेटघाट भइरहँदा काम गर्ने हौसला मिलिरहन्छ। बिन्दुको योजना सकेसम्म आफ्नै माझी जातिबारे थुप्रै डकुमेन्ट्री, छोटा चलचित्र बनाउने हो। यसकै गृहकार्यमा छिन् उनी। फुर्सदको समय मूलधारको चलचित्रमा पनि देखिन्छिन्। तीन वर्षअघि बनेको नेपाली चलचित्र ‘राहदानी’मा उनको सानो भूमिका छ। त्यस्तै छिरिङरितार शेर्पाको ‘उमा’ चलचित्रमा पनि उनको सानो भूमिका छ। ‘उमा’को त उनले मुख्य सहायक निर्देशन नै गरिन्। भन्छिन्, ‘मलाई अभिनयभन्दा निर्देशनमै रुचि छ। अन्य निर्देशकहरूको कुरा काट्न नसकेर सानोतिना भूमिकामा देखिएकी हुँ।’

‘लदी पूजा’ वृत्तचित्र माघीको छेको पारेर माझी गाउँमा देखाउने सुरसारमा छिन् उनी। माझीको जनसंख्या थोरै छ, गाउँ पनि थोरै छ। अझ विदेशमा माझी झन् थोरै छन्। त्यसैले प्रिमियर सो देखाएर पनि लगानी उठाउन गाह्रो छ। तर, बिन्दु लामो उडानमा छिन्। भन्छिन्, ‘सबै कुरा पैसासँग जोडेर हेर्ने हो भने हाम्रो आफ्नो समुदायको दस्तावेजीकरण कसले गर्दिने ? त्यसैले पनि यसमा तनमन दिएकी हुँ।’ यसअघि दुई छोटा चलचित्र बनाउन उनलाई चलचित्र विकास बोर्डले आंशिक सहयोग गरेको थियो। उनी अहिले माझीको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार जोडेर नयाँ डकुमेन्ट्रीको तयारीमा छिन्। तर, समस्या उही लगानीमा गएर अड्किन्छ। राम्रो लगानीकर्ता पाए छिटै सुटिङ गर्ने योजना रहेको बताउँदै भन्छिन्, ‘यसको स्क्रिप्ट तयार छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.