जो कुकुरलाई प्रेम गर्छिन्
घरको सुरक्षाका लागि एउटासम्म कुकुर पाल्नुलाई सहरिया शानको रूपमा लिइने गरिएको छ। तर, एकै व्यक्तिले सयौं कुकुर पाल्नु, त्यो पनि सहरका बेवारिसे कुकुर। यो सबैको वशको विषय नहुन सक्छ। यही असम्भव काम गरेकी छन्, सिर्जना ठकुरीले। अहिले उनको दैनिकी एक सय ३० घाइते कुकुर स्याहार्दै बित्ने गरेको छ।
नयाँ बानेश्वरमा हुर्किएकी सिर्जनाले १८ वटासम्म कुकुर घरमै पालिन्। तर, त्यहाँ व्यवस्थापनका लागि घर साँगुरो भयो। त्यसपछि उनले हाल ललितपुरको झरासी धापाखेलमा कुकुरको रेस्क्यु केन्द्र खोलेर उद्धार गरी स्याहार्दै आएकी छिन्।
घरमा पालेर बिरामी भएपछि सडकमा छाडेको, गाडीले हानेको, एसिड लगाइदिएको, कुटपिट गरेर अंगभंग भएका अशक्त कुकुरलाई ल्याएर रेस्क्यु केन्द्रमा उपचार गरिन्छ। सामाजिक सञ्जालको सूचना र सिर्जनाका केही साथी घाइते कुकुर ल्याउन सहयोग गर्छन्। दुई वर्षअघि सुरु गरिएको केन्द्रबाट हजारभन्दा बढी कुकुरले पुनर्जीवन पाइसकेका छन्। कुकुर स्याहार्न सातजना कर्मचारी खटिएका हुन्छन्। कुकुरको उद्धार गर्दा मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। केही सहयोगीले सामान्य खर्च दिने गरे पनि ९० प्रतिशत आफ्नै खर्च हुने गरेको सिर्जनाले बताइन्।
सिर्जनाको कुकुर उद्धार संघर्ष यात्रा पनि कष्टपूर्ण छ। उनले ललितपुरको कुसुन्तीमा रेस्क्यु केन्द्र स्थापना गरिन् तर नेकपाका नेता देव गुरुङले हटाइदिए। त्यसपछि धापाखेल चोकमा स्थापना गरिएको केन्द्र पनि स्थानीयवासीले भत्काइदिए। हाल धापाखेलको झरासीमा वार्षिक दुई लाख रुपैयाँ भाडा तिर्ने सर्तमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर केन्द्र सञ्चालन गर्दै आएकी छन्। यहाँ पनि स्थानीयवासीले दुःख दिने गरेको उनको दुःखेसो छ।
बाल्यकालदेखि नै कुकुरप्रेमी सिर्जना घरमा पनि दुईदेखि तीनवटासम्म कुकुर पाल्ने गर्थिन्। कुकुर नकिनिदिएसम्म झगडा गर्दै स्कुल नै जान्नँ भनेर अड्डी लिएपछि बुवाआमाले कुकुर किनेर ल्याइदिन्थे। १४ वर्षकै उमेरमा मागीविवाह गरेकी उनी अमेरिकामै अध्ययन सकाएर १८ वर्षअघि नेपाल फर्केकी हुन्। श्रीमान् अमेरिकामै रहेकाले २७ वर्षीय अशक्त छोरा र कुकुरलाई स्याहार गर्दै आएकी छन्। हालसम्म ३५ लाख रुपैयाँभन्दा बढी कुकुरको स्याहारमा खर्च भइसक्यो। उनले कुकुरको स्याहारका लागि घरसमेत बिक्री गरिसकिन्।
सडकमा छाडिएका, गाडीले हानेका, एसिड छ्यापिएका, कुटपिटपछि अंगभंग भएका अशक्त कुकुरको उपचार गर्छिन् सिर्जना।
सिर्जनालाई कुकुर औधि मन पर्छ। कुकुरमाथि अपमान र अन्याय गरेको देख्न सक्दिनन्। सहरका अधिकांश कुकुरधनीले कुकुर पालेर पछि सडकमा छाड्ने गरेका छन्। उद्धारका क्रममा एक व्यक्तिले ६० हजार भारतीय रुपैयाँमा किनेको कुकुर सामान्य बिरामी भएपछि सडकमा छाडेको उनको अनुभव छ।
कुकुरको वर्ग
कुकुरको कुनै पनि वर्ग हँदैन तर धनाढ्यहरूले कुकुरको वर्ग छुट्याएका छन्। सिर्जनाले उद्धार गरेका कुकुर भुस्याहा भन्दै कसैले पनि लान मान्दैनन्। जब कि उनको उद्धार केन्द्रमा डाल्मेन्सन, जर्मन सेफर्ड, जापानिज स्पिच, भोटे, ककर्स पाइनल, एप्सो लगायतका उत्कृष्ट जातका कुकुर छन्। उनले उद्धार गरेर उपचार गरी निको बनाएको कुकुर माग्नेलाई निःशुल्क दिने गरेकी छन्। उद्धार गरी उपचार गरेर निको पारिएका टुकटुक र चिन्टु नामका कुकुर अमेरिका पुगिसकेका छन्। उनको केन्द्रमा दुई जना पशु स्वास्थ्यकर्मी आबद्ध छन्। रेस्क्यु गरिएका ९९ प्रतिशत कुकुर बाँचेका छन्।
कुकुरको उद्धार गर्नु राज्यको पनि दायित्व हो। यसमा स्थायी व्यवस्थापन खोज्नु जरुरी देख्छिन्, सिर्जना। केन्द्रमा उद्धार गरिएका पोथी कुकुरलाई बन्ध्याकरण गराइन्छ। उनका विचारमा सडकमा छाडिएका कुकुरको स्थायी बन्ध्याकरण पहिलो आवश्यकता हो। रेबिज देखिने कारण पत्ता लगाएर रोग निर्मूल गर्नुपर्छ।
‘संस्था दर्ता गरिसकेको छु। अझै ठूलो सेल्टर खोलेर एक हजारसम्म कुकुरको उद्धार गर्नसक्ने क्षमता बनाउने लक्ष्य छ’, सिर्जना भन्छिन्, ‘राज्यको सहयोग भए एउटा अभियान नै चलाउने तयारीमा छु। तर, साँच्चै काम गर्नेका लागि सरकारले केही गरेको छैन। कागज बनाएर खानेलाई मात्र सहयोग गर्ने गरेको छु।’