अल्लारे उमेरका रमाइला कुरा

अल्लारे उमेरका रमाइला कुरा

१६ वर्ष। उडेको चरो समात्ने उमेर। ढुंगा पचाउने उमेर। महत्वाकांक्षा, जोश र दुस्साहसको उमेर। धेरै ‘अनुभव’ पहिलोपटक हुने उमेर। पहिलो प्रेम, पहिलो बदमासी, पहिलो झुट वा पहिलो कमाइ। यी सबै पहिलोपटक अनुभव हुने उमेर। धेरैको बुझाइमा १६ वर्षे उमेर सम्झनाको बाकस हो। यहाँ केही सेलिब्रिटीका अल्लारे उमेरका रमाइला अनुभव समेटिएको छ।


अल्लारे उमेरका अनेक भनाइ छन्। उडेको चरो समात्ने उमेर। १६ वर्षे जवानी, ढुंगा पचाउने उमेर आदि। अल्लारे उमेरलाई महत्वाकांक्षा, जोश र दुस्साहसको उमेरका रूपमा पनि बुझ्ने गरिन्छ। अल्लारे उमेरका उटुंग्या कुरा पनि कति कति। धेरै अनुभव पहिलोपटक हुने उमेर पनि यही हो। जस्तै पहिलो प्रेमको अनुभव, पहिलो गम्भीर बदमासी वा दुस्साहसको अनुभव, पहिलो प्रेमपत्र लेखेको अनुभव, पहिलोपटक गम्भीर झुट बोलेको वा पहिलो कमाइ गरेको अनुभव आदि।

चर्चित साहित्यकार, नेता, डाक्टर वा यस्तै केही भएर झक्कास नाम कमाउने कल्पनाको उडान पनि हुन्छ यो उमेरमा। रंगकर्मी सिर्जना सुब्बाको बुझाइमा यो उमेर सम्झनाको बाकस हो। रौसिएका, हौसिएका किसिम किसिमका सम्झना यो उमेरसँग जोडिन्छ। साहित्यकार रवीन्द्र समीर त प्रधानमन्त्री हुने कल्पना गर्थे, यो उमेरमा।

यो उमेर नै कल्पनाको उडानको उमेर हो। मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह भने यो उमेरलाई जीवनको ऊर्जाशील कालखण्ड मान्छन्। यो उमेरका अनुभवहरू जीवनमा उपयोगी सिद्ध भएको उनको अनुभूति छ।

सम्झँदा रमाइलो लाग्ने कतिपय घटना घटेकै बेला बडो जोखिमपूर्ण, डरलाग्दो वा पश्चात्तापको विषय पनि हुन्छ। तैपनि अल्लारे उमेरका उटुंग्या कुरा सम्झँदाचाहिँ रोमाञ्चक हुन्छ। यहाँ केही सेलिब्रिटीका अल्लारे उमेरका रमाइला अनुभव समेटिएको छ ः

कमल कोइराला

लेखक, राजनीतिज्ञ

मेरो जन्म १९९५ सालमा विराटनगरमा भएको हो। कांग्रेस परिवारमा जन्मे पनि म सानैदेखि विद्रोही स्वभावको थिएँ। कम्युनिस्ट विचारधाराको थिएँ।

गाउँमै हुँदा पहिलोपटक एउटी छिमेकी केटी अत्यन्तै मन पथ्र्यो। बोल्न भने डर लाग्थ्यो। केटीसँग बोल्ने, भेट्न जाने खालको समय नै थिएन। चिठी पठाउने मौका पनि मिलेन। कक्षा ८ मा पढ्न भनी बनारस गएको थिएँ। उताबाट फर्किंदा त्यो केटीको अन्तै बिहे भएछ। मलाई साह्रै दुःख लाग्यो।

त्यो बेला नेपालबाट केटीहरू पनि बनारस पढ्न जाने चलन थियो। नेपालमा हँदा केटीहरूसँग बोल्न डराउने म बनारस पुगेपछि भने रिक्सामा चढेर सँगै बजार घुम्ने, जिस्किने गर्थें। म केही समय त्रिचन्द्र कलेज पढँे। तर, राम्रो नम्बर ल्याएर पास हुन नसकेपछि बुवाले बनारस नै पठाइदिनु भो। काठमाडौं बस्दा चिनेका केटी साथीसँग पछिसम्म चिठीपत्र आदानप्रदान हुन्थ्यो।

रानी पुलिस चौकी बमकाण्डको आरोपमा सात वर्ष निर्वासनमा बस्नु पर्‍यो। त्यस बेला भारत बस्दा धेरै केटी साथी पनि थिए। लुकीलुकी नेपाल आइरहन्थँे। पुलीसभन्दा म नै बाठो थिएँ। रातिराति लुकेर घर आउँथेँ। गाउँ डुलेर फर्कन्थँे। काठमाडौंकी एउटी केटी साथीसँग केही समय प्रेम बसेको थियो। चिठीहरू आदानप्रदान भइरहन्थे। पछि त्यो केटीको अन्तै बिहे हुन लागेको थाहा पाएर चिठी पठाउन बन्द भयो। अहिले पनि उनको खुब सम्झना आइरहन्छ। ती महिला अहिले पनि छिन्। छोरा नातिहरूसँग एकल जीवन बिताइरहेकी छन्।

सिर्जना सुब्बा

रंगकर्मी/अभिनेत्री

म १६ वर्षे अल्लारे उमेरलाई रमाइला घटनाहरूको सम्झनाको बाकस भन्न चाहन्छु। त्यो बेला सपनाका इन्दे्रणी रंगहरूले बास गर्छ मनमा। कति सपना पूरा गर्न सकिन्छ त कति जीवनभर नै अपूरा रहन्छन्।

सानै छँदा फुपूले लगाउने लिपस्टिक कलरहरू मलाई अत्यन्तै मन पथ्र्यो। कस्तो हुन्छ होला, लगाउन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो। एक दिन फुपू घरमा नहुँदा फुपूको झोला खोलेँ। लिपस्टिक हातमा लिएर सुँघेँ, कुनै गन्ध आएन। चाटेर हेरेँ, कुनै टेस्ट आएन। अनि मलाई रिस उठ्यो, पूरै लिपस्टिक टोकेर झोलामा राखिदिएँ। साँझ आएर फुपूले सोधीखोजी गर्दा थाहा छैन भनेँ। मेरो कारण बेकारमा भाइले कुटाइ खायो।

स्कुल पढ्दा नै हो, मेरोे नाममा एउटा चिठी आएको तर खोलेर हेर्न डर लाग्यो। कसले पठाएको हो पत्तै भएन, त्यो घटना त्यत्तिकै सकियो। त्यस्तै १५÷१६ वर्षको हुँदा साथीहरूसँग मिलेर एकजना काका पर्नेको धेरै नै उखु चोरेर खाएका थियौं। अर्को दिन चौतारीमा गफ गरेर बस्दा त्यही काकाले अर्को गाउँका केटाहरूले मेरो बारीको उखु चोरेर खाएछन् भन्दै सुनाए। त्यो सुनेर बलजफ्ती हाँसो थाम्यौं। त्यो बेला कसरी हाँसो रोकेर बस्न सक्यांै होला भनेर अचम्म पर्छु।

मेरो घर मोरङको उर्लाबारीमा हो। कक्षामा नै झोला राखेर, स्कुलबाट भागेर फिल्म हेर्न गएकी थिएँ, एकपटक। राजेश हमाल र करिश्माले अभिनय गरेको उक्त फिल्म हेर्दा हिरोइन आफू नै हो जस्तो लागेको थियो मलाई। घरमा आएर पनि त्यही फिल्मकै बारेमा निकै बेर सम्झना आइरह्यो। कसरी हिरोइन बन्छन् होला ? म पनि फिल्ममा खेल्न पाएँ त क्या रमाइलो हुन्थ्यो भन्ने लाग्यो। फिल्म हेरेर आउँदा मलाई माया गर्ने व्यक्ति पनि यस्तै हुनुपर्छ भन्ने कल्पना गर्थें म। मेरा सबै हर्कत उसले सहनुपर्छ भन्ने लाग्थ्यो। फिल्मको हिरोले जस्तै खुब धेरै माया गरोस् भन्ने लाग्थ्यो।

कामको सिलसिलामा धेरै केटा साथीसँग खाजा खान जाने, घुम्न जाने गरे पनि प्रेमीसँग मात्र छुट्टै कतै डेटिङ गएको याद छैन मलाई। केही पत्रमित्र साथीलाई भने चिठी पठाएकी थिएँ। तर, कतैबाट जवाफ आएन।

९ कक्षामा पढ्दा एउटा केटा अत्यन्तै मन पथ्र्यो तर बोलचाल भएन। पछि मैलेभन्दा बढी उसले मलाई मन पराउने रैछ भन्ने थाहा पाएँ। त्यति बेलासम्म ऊप्रतिको मेरो चाहना, आकर्षण सकिइसकेको थियो। ऊ नै मैले मन पराएको पहिलो केटा थियो।

डा. रवीन्द्र समीर

साहित्यकार, चिकित्सक

म सानैदेखि अत्यन्त लजालु स्वभावको थिएँ। १६ वर्षे उमेरमा खुब सपना देख्थेँ। कहिले चर्चित लेखक, डाक्टर बन्छु भन्ने लाग्थ्यो त कहिलेकाहीँ प्रधानमन्त्रीसम्म बनेको कल्पना गर्थेंं। अहिले सम्झँदा पनि हाँसो उठ्छ।

कुनै पनि केटी साथीसँग बोल्न लाज लाग्थ्यो। तर, दिमागले भने केटीसँगको मिठो मिलन, डेटिङ, यौनको बारेमा सोच्न थालिसकेको थियो। कुनै प्रेमिकासँग फिल्म हेर्न जाने सपनाले पनि खुब आनन्द दिन्थ्यो। तर, मन परेका र घरिघरि आँखा जुधिरहने केटीहरूसँग बोल्न भने असाध्यै लाज लाग्थ्यो। छेउमा पुग्यो कि पानीपानी भएर फर्कन्थेँ। १० कक्षामा एउटी केटी साथीले प्रेमपत्र लेखेर दिएकी थिइन्, मलाई अत्यन्त डर लाग्यो। चिठी नै नसमाईकन म भागेको थिएँ।

गुल्मीमा स्कुल लेभलको पढाइ सकाएपछि मैले पहिलोपटक फिल्म हेर्ने मौका पाएँ। त्यो फिल्म ‘मैने प्यार किया’ थियो। फिल्मकी नायिका भाग्य श्रीको सुन्दरता र अभिनय देखेर म कति मोहित भएँ भने धेरै दिनसम्म उनको बारेमा सोचेर बित्यो। भावी प्रेमिका पनि उनीजस्तै हेर्छु भन्ने थियो।

काठमाडौं पढ्दाको कुरा हो, काठमाडौं बाहिरकी एउटी केटी मन पथ्र्यो। एक दिन उनलाई प्रेमपत्र लेखेँ, त्यही समयमा आफ्नो बुवालाई पनि चिठी लेखेँ। दुवै चिठी पोस्ट गर्न हुलाकमा गएँ। झुक्किएर केटीलाई लेखेको चिठी बुवालाई र बुवालाई लेखेको चिठी केटीलाई पठाएछु। मेरो सातो गयो। अत्यन्तै डर लाग्यो। त्यो बेला केटीलाई चिठी पठाउनु भनेको चरित्रहीन बन्नु हो भन्ने मान्यता थियो।

गाउँमा मेरा थुप्रै मिल्ने साथी थिए। एक दिन एउटा साथीसँग अर्को गाउँको साथीको घरमा बस्ने योजना बनाएर गयौं। राति सुत्ने बेलामा त्यो साथीको घरको ढोकाको माथि सिस्नोको मुठो र ढोकाको सँघारमा तोरीका दाना छरिदियांै। बिहान साथी उठेर ढोका खोल्न खोज्दा सिस्नोको मुठो झरेर उसलाई पोल्यो। आत्तिएर भाग्न खोज्दा तोरीमा चिप्लिएर लडेर घाइते नै भयो। उसको अनुहार र आँखामा सिस्नोले पोलेको थियो।

म पढाइमा अब्बल थिएँ। धेरै केटीले मन पराउँथे, परीक्षाको समयमा बसेर छलफल गर्थे। मसँग सिकाइमाग्न आउँथे। त्यो बेला हरेक केटी आफ्नी प्रेमिका हुन् जस्तो लाग्थ्यो। केटीहरूसँग लुकेर पनि भेट्थेँ, सँगसँगै घुम्न निस्कन्थेँ। साथीहरूले मेरो निक नाम नै कृष्ण राखेका थिए। धेरै केटीका साझा प्रेमी बने पनि मेरो गहिरो प्रेम भने सफल भएन। बिहे गर्‍यो भने लभ सकिन्छ भन्ने सोचेर प्रेमिकाले बिहे गर्न मानिनन्। हामी सहमतिमै छुट्टिएका थियौं।

महेशविक्रम शाह              

कथाकार, एसएसपी

मलाई १६ वर्षे उमेर अत्यन्तै ऊर्जाशील समय थियो भन्ने लाग्छ। हाम्रो पुख्र्यौली घर अछाम भए पनि कैलालीमै जन्मेर हुर्केको हुँ। दसैंको बेलामा हाम्रो गाउँमा अत्यन्तै रमाइलो हुन्थ्यो। मेला पनि लाग्थ्यो। साथीहरूले मेला जाने योजना बनाए। मसँग पैसा थिएन। आमाको थैलीबाट २० रुपैयाँ चोरेँ र हिँडेँ। यो २०३३ सालको कुरा हो। नास्ता खाएर, सर्कस हेरेर पनि मसँग १० रुपैयाँ बच्यो। त्यहाँ बेच्न राखेको एउटा सर्ट मलाई खुब मन पर्‍यो। बाँकी रकमको सर्ट किनेर घर फर्किएँ। घरमा आमाले सोध्दा मेलै पैसा बचाएर राखेको थिएँ भनेर ढाँटे। केही दिनपछि मैले सर्ट किनेको पसले दाइ हाम्रो घरमा आए। उनले मेरो पोल खोले। त्यसपछि आमाले मलाई खुब गाली गर्नुभयो।

मैले अध्ययन गर्ने स्कुलमा एकदम कडा अनुशासन थियो। त्यति खेर राजा महेन्द्रविरुद्ध आन्दोलन चलिरहेको थियो। हामीलाई पनि आन्दोलन गर्नुपर्छ भन्दै उकासे अरूहरूले। उनीहरूले जे जे भन्छन्, त्यही गर्दै गयांै हामीहरू। एक दिन शुक्रबारको दिन प्लेकार्ड बोकेर नारा लगाउँदै स्कुलमा गयौं। थोमस बर्गिच भन्ने हेड सर हुनुहुन्थ्यो। उहाँलाई अगाडि देखेपछि सबै प्लेकार्ड फालेर हामी लुसुक्क कक्षामा छिर्‍यांै। हेडसरले बुवालाई भनिदिनु भएछ। बुवाले मलाई खम्बामा बाँधेर बाँसको डन्डाले खुब पिट्नु भयो। त्यो दिनदेखि अलिअलि पसेको राजनीतिको भूत उत्रियो।

म १६ वर्षको हुँदा कक्षा १० मा पढ्थेँ। साइकलमा आउजाउ गर्थें। स्कुल जान करिब एक घन्टा लाग्थ्यो। बीच बाटोमा एउटा कुवा थियो। एक दिन म त्यहाँ पानी पिउन गएँ। एक १७÷१८ वर्षकी युवती कुवामा पानी भर्न आइन्। उनले बाल्टिनले पानी झिकेर मलाई दिइन्। मैले पानी पिउँदै गर्दा उनको अनुहार उज्यालो देखियो। त्यसपछि म स्कुल जाँदा र आउँदा हरेक दिन उनी कुवामा देखिन थालिन्। म पनि उनको घर छेउ पुग्दा साइकलको घन्टी बजाउँथेँ। एक दिन मैले उनको बिहे भएको र उनका श्रीमान् ९÷१० वर्षको मात्र रहेको थाहा पाएँ। थारू समुदायमा काम गर्नका लागि केटाभन्दा जेठी युवती बिहे गरिदिने चलन थियो। मप्रतिको लगाव उनको अतृप्त यौन चाहनाको परिणाम थियो भनेर मलाई पछि मात्र थाहा भयो। यो घटनालाई लिएर मैले २०४८ सालतिर ‘तृष्णा’ भन्ने कथा लेखेँ।

मैले पहिलोपटक पत्रमित्र साथीलाई चिठी लेखेको थिएँ। खुब बहकिएर चिठी लेखिन्थ्यो। एसएलसी सकाएर म अस्कल कलेजको होस्टलमा बसेर पढेँ। केही केटी साथीसँग गफ गर्ने, सँगै खाजा खाने गरे पनि लभचाहिँ परेन। अरू साथीहरूको सारेर भए पनि अत्यन्त राम्रो चिठी लेख्थेँ मैले। बीएस्सी सकाएपछि जागिर खान थालेँ। त्यही सिलसिलामा अत्यन्त गहिरो प्रेम बस्यो, त्यहीँकै केटीसँग। जति बेला पनि भेटूँभेटूँ लाग्ने, सँगै बस्न मन लाग्ने हुन्थ्यो। प्रेममा बेहद आनन्द हुन्छ भन्ने पहिलोपटक महसुस गरेँ। पछि त्यही केटीसँग बिहे गरेँ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.