रात्रि स्कुलको उज्यालो कथा
यस विद्यालयको कक्षा कोठामा १० वर्षभन्दा कम र ५० वर्षभन्दा माथिका विद्यार्थी एकै बेन्चमा बस्छन्। कापी साटासाट गर्छन् र एकले अर्कालाई सिकाउन व्यस्त रहन्छन्।सपना महर्जनघाम लगभग ओझेल परेको छ। धेरैलाई घर पुग्न हतार छ। तर, कोही पार्कमै भुल्दैछन्। यसै क्रममा घरको बरन्डा छाडेर स्थानीय नक्साल, नागपोखरी नजिकै रहेको नारायणचौर पार्कको हरियो घाँसमा बस्न आउँदै छन्।
साँझ ढल्किँदै जाँदा घरको उकुसमुकुस वातावरणबाट निस्किएर उक्त पार्कमा बात मार्न आउनेको संख्या अझै बढ्दो छ। सबैका लागि आरामदायी बन्दै गएको साँझ सहदेव नेपाली (३८) का लागि भने दौडधुपको समय बन्छ। उनी नक्साल, नारायणचौरस्थित नन्दी रात्रि माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छन्। नारायणचौर वरपरका बैंक, व्यवसाय, सपिङ मलको सटर र अफिसको ढोकामा धमाधम ताल्चा लाग्दै गर्दा उनी पढ्ने विद्यालयको गेट खुल्छ।
रात्रि कक्षाको पढाइ हुने उक्त विद्यालयका कक्षाकोठाहरूमा पल्याकपुलुक बत्ती बल्न थाल्छन्। सवा ५ बजे विद्यालयको घन्टी बजेसँगै शिक्षकहरू पढाउन कक्षाकोठातिर लाग्छन्। एक दिन पनि नटुटाई विद्यालय आउने सहदेव लगभग चार घन्टा ध्यान दिएर पढ्छन्। विद्यालयको छुट्टी राति ९ बजे मात्र हुन्छ। त्यस बेला सार्वजनिक गाडी पाइँदैन। त्यसैले सहदेव हरेक रात दुई घन्टाभन्दा बढी पैदलै आफ्नो बासस्थान धापाखेल पुग्छन्।
थरीथरीका विद्यार्थी
नन्दी रात्रि माध्यमिक विद्यालय २००४ सालमा स्थापना भएको हो। विगत सात दशकदेखि विद्यालय निरन्तर सञ्चालन हुँदै आए पनि यो विद्यालय धेरैका लागि अञ्जान छ। कक्षा ६ देखि १० सम्म पढाइ हुने यस विद्यालयबाट हजारौं विद्यार्थीले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्। नन्दी रात्रिमा प्रायः २० देखि ३० वर्ष कटेका विद्यार्थी पढ्न आउँछन्। विभिन्न कारणले पढाइ पूरा गर्न नसकेका विद्यार्थीको यहाँ बाक्लो जमघट छ। यस विद्यालयमा पढ्ने प्रायः सबै विद्यार्थी दिउँसो कुनै न कुनै काम गर्छन्। दिउँसो जागिर खाने, ज्याला मजदुरी गर्ने विद्यार्थी यहाँ धेरै छन्। टेम्पो चलाउनेदेखि सामान्य गृहिणी, गायकगायिका तथा कलाकार पनि नन्दी रात्रिमा पढ्न आउँछन्।
कोही विद्यार्थी भने हाई प्रोफाइलका पनि छन्। उनीहरूको आफ्नै व्यवसाय र सुखी घरपरिवार छ। सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिहरू यस विद्यालयमा पढ्न आउनुको एक मात्र उद्देश्य भनेको एकेडेमिक पढाइ पूरा गर्नु रहेको छ। सहदेव भन्छन्, ‘जतिसुकै ठूलो मान्छे भए पनि हातमा पढाइको औपचारिक सर्टिफिकेट नहुँदा जीवन खल्लो हुँदो रहेछ।’
उमेर ढल्केपछि स्कुल ड्रेस लगाएर साना नानीहरूसँगै विद्यालय जाने काम धेरैलाई सहज छैन। पढ्ने इच्छा तीव्र भए पनि विद्यालयमा भर्ना नहुन पहिलो दबाब घरपरिवारबाटै आउँछ। समाजले के भन्ला ? मान्छेहरूले के सोच्लान् ? कारण यस्तैयस्तै हुन्छन्। नन्दी रात्रि विद्यालयमा पढ्ने कतिपय विद्यार्थीले आफू स्कुल आउने गरेको खबर घरमा गरेका छैनन्। कतिपयले पार्ट टाइम ड्युटी गरिरहेको भन्दै घरमा ढाँटेर पढ्न आएका छन्। यस्ता विद्यार्थीलाई नन्दी रात्रिले दिएको सुविधा फलदायी बनेको छ। यहाँ सबै उमेर समूहका विद्यार्थी पढ्न आउने भएकाले कसैले जिस्क्याउने, खिल्ली उडाउने वातावरण छैन। सबै एकले अर्काको कमीकमजोरी स्वीकार्छन् र एकअर्कालाई मद्दत गर्छन्।
यस विद्यालयमा साँझको मधुरो बत्तीसँगै विद्यार्थीहरू चुपचाप पढ्दै गरेका कक्षा कोठाहरू अनौठा देखिन्छन्। कक्षा कोठामा १० वर्षभन्दा कम र ५० वर्षभन्दा माथिका विद्यार्थी एकै बेन्चमा बस्छन्। कपी साटासाट गर्छन् र एकले अर्कालाई सिकाउन व्यस्त रहन्छन्। यही विद्यालयको कक्षा ९ मा पढ्ने नीमा घले (३२) अक्षर चिन्न भर्ना भएको बताउँछिन्। उनी कक्षा ७ देखि नन्दी रात्रिमा पढ्दै छिन्। पहिले कुनै विद्यालयबाट औपचारिक शिक्षा नलिएकी नीमा महाराजगन्जमा बस्छिन्। यो तीन वर्षमा आफ्नो जीवनमा आएको ठूलो परिवर्तन उनी महसुस गर्न सक्छिन्। ‘अचेल म आफंै लेख्न सक्ने भएकी छु’, नीमा भन्छिन्, ‘अब बैंक जाँदा अरू कसैलाई भौचर भर्न मैले सहयोग माग्नु पर्दैन।’
परिवारमा सबै पढेलेखेका र आफू एक्लो अशिक्षित हुँदा नीमालाई उकुसमुकुस हुन्थ्यो। गोरखा बारपाककी उनलाई मेलापात र घाँसदाउराबाहेक अरू केही आउँदैन जस्तो हुन्थ्यो। तर, अहिले त्यो परिस्थिति छैन। नन्दी रात्रिका शिक्षकहरूको सहयोगले उनमा पढ्ने हौसला थपिएको छ।
सोही विद्यालयमा पढ्ने कृष्णादेवी शाहीको कथा पनि नीमाको भन्दा फरक छैन। ७ कक्षादेखि नन्दीमै पढ्दै आएकी कृष्णालाई बिहेपछि पनि पढ्ने अवसर मिल्छ भन्ने लागेको थिएन। १६ वर्षको कलिलो उमेरमै विवाह भएपछि उनको पढाइ रोकियो। त्यसपछि घरपरिवार, बालबच्चा भन्दै उनको उमेरले ३० काट्यो। १२÷१३ वर्षपछि फेरि स्कुल भर्ना हुनु त्यति सहज पनि थिएन। तर, जहाँ जाँदा पनि पढाइको महत्व देखेर कृष्णा नन्दी रात्रिमा भर्ना हुन आइन्। भन्छिन्, ‘आफू पढ्न इच्छुक रहेको कुरा घरमा भनेँ, त्यसपछि परिवारले पनि सहमति दियो।’ आफ्नो इच्छामा परिवारको साथ पाउँदा कृष्णा झन् हौसिइन्। अफिसको काम सकेर हतारहतार पढ्न आउँदा नीमा र कृष्णा दुवै विद्यालयको युनिफर्म लगाउन भ्याउँदैनन्। कुर्ता सुरुवालमै विद्यालय आउँदा शिक्षकहरूले पनि बाध्यता बुझेर कक्षाकोठा प्रवेश गर्न दिने उनीहरू बताउँछन्।
विवाहपछि पढ्न नपाएका विद्यार्थी मात्र होइन, गरिब विद्यार्थी पनि यो स्कुलमा थुप्रै छन्। मुगुका धिराज जोशी (१२) ज्ञानेश्वरमा घरायसी काम गर्छन्। दिउँसो घरको सबै काम भ्याएर उनी साँझको समय नन्दीमा पढ्न आउँछन्। अहिले कक्षा ६ पढ्दै गरेका धिराज भन्छन्, ‘१२ कक्षासम्म पढ्ने इच्छा छ।’
सहयोगी शिक्षक
नन्दी रात्रि माविमा पढ्दा विद्यार्थीलाई आर्थिक भार नपर्ने विद्यालयका प्रधानाध्यापक मोहनराज शर्माको भनाइ छ। विद्यालय सरकारी भएकाले आवश्यक सुविधा सरकारले नै उपलब्ध गराएको छ। प्रधानाध्यापक शर्मा भन्छन्, ‘शिक्षकहरूलाई तलबभत्ता सरकारले नै उपलब्ध गराउँछ। बाँकी अतिरिक्त खर्च जुटाउन विद्यार्थीबाट थोरै रकम उठाइन्छ।’ शर्माका अनुसार आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था पनि मिलाइएको छ। यातायातको सुविधा भने दिन सकिएको छैन।
२०६२ देखि नन्दीमा पढाउँदै आएका शिक्षक विष्णु अधिकारीका अनुसार फरकफरक उमेर समूहका विद्यार्थीलाई एकै ठाउँमा पढाउने विषय भने त्यति सजिलो छैन। राम्रो पढ्ने विद्यार्थी र अक्षर चिन्नै मुस्किल हुने विद्यार्थीलाई सँगसँगै लग्ने काम निकै गाह्रो छ। ‘यहाँ विद्यार्थी पढाउनु फलामको चिउरा चपाएजस्तै छ’, उनी भन्छन्। यद्यपि विद्यार्थीको मनोभावना बुझेर उनी पढाउने कोसिस गर्छन्।
५५ वर्षीय शिक्षक अधिकारीको हौसलालाई भने मान्नैपर्छ। आफू शारीरिक रूपमा अशक्त भए पनि पढाउन भन्दै उनी डल्लुदेखि आउँछन्। विगत १० वर्षदेखि ह्विल चियरमै घरदेखि विद्यालय र विद्यालयदेखि घर डेढ घन्टाको यात्रा गर्थे। गाह्रो भएर हालैमात्र स्कुटी लिएका छन्। जम्मा १३ जना शिक्षक रहेकामा विद्यालयमा एक जना मात्र शिक्षिका छिन्। बालुवाटारकी सरिता हुमागाईंले १८ वर्षसम्म नन्दी माध्यमिक विद्यालयमा दिउँसोको समयमा पढाइन्। हाल एक वर्षदेखि उनले रात्रि विद्यालयमा पढाउन थालेकी छन्। ‘फरक अनुभवका लागि रात्रिमा पढाउन थालेकी हुँ’, उनी भन्छिन्। शिक्षिका सरिताका अनुसार नन्दी रात्रिमा पढ्न आउने विद्यार्थीमा पढाइप्रति बढी लगाव छ। कमजोर विद्यार्थीलाई केही बढी समय दिएर सिकाउन खोज्छिन्, सरिता। एउटै कुरा धेरै पटक सिकाउनु परे पनि केही नयाँ सिकाउन पाउँदा उनी खुसी मान्छिन्।
अब प्लस टुसम्म
प्रजातन्त्र आउनुभन्दा पहिले नै स्थापना भएको नन्दी मावि त्यो बेला क्रान्तिको एक रूप थियो। २००७ सालअघि आमजनताका लागि औपचारिक शिक्षा प्राप्त गर्ने कुनै विकल्प थिएन। दरबार हाइस्कुल (१८५४) पनि राणा परिवारका बालबालिकाका लागि मात्र खुलेको थियो। उक्त स्कुल १८८५ मा जनताका लागि खुले पनि कुलिन वर्गमा मात्र सीमित भयो। पछि राणा शासन अन्त्य हुने समयअगाडि जुद्धोदय हाइस्कुल (१९३८), पद्मकन्या (१९४६) जस्ता विद्यालय पनि खुले। राणा शासनको अन्त्यतिर रात्रि पाठशाला स्थापना भयो। पढ्ने अवसर खोजिरहेका त्यति बेलाका आमजनताका लागि यो रात्रि पाठशाला ढुंगा खोज्दा देवता भेटेसरह थियो। रात्रि पाठशाला स्थापना गर्ने रामजीप्रसाद अर्यालको ८९ वर्षको उमेरमा (२०१४) निधन भइसकेको छ। यो विद्यालयको स्थापना गर्नुमा जनताका छोराछोरीले पनि स्वतन्त्रताको अनुभव गर्न पाऊन् भन्ने उद्देश्य उनको थियो।
तर, स्कुल सञ्चालनमा आएसँगै विभिन्न स्वार्थी समूहले कयौं विवाद र चलखेल गरिरहे। पढ्न नपाउने हरेक वर्ग र उमेर समूहले पढ्न पाउने यो विद्यालय धेरैको टाउको दुःखाइ बनिरह्यो। २०४८ सालमा दिउँसो पनि पढाइने व्यवस्था भएपछि दिउँसो पढाउने विद्यालयलाई असर पुग्ने भन्दै रात्रि पाठशालालाई पनि दिउँसो पढ्ने विद्यालयमा ढालियो। निकै जोरजुलुमपछि पुनः रात्रि सेवा थपियो।
अहिले दिउँसो र रात्रि दुई सिफ्टमा विद्यालय सञ्चालन एउटै भवनमा हुँदै आएको छ। दिउँसो र रातिको प्रशासक र शिक्षकहरू पनि फरकफरक छन्। कुनै समय पारम्परिक शैलीको, कलात्मक झ्यालढोका भएको यस विद्यालयको संरचना अहिले पूरै परिवर्तन भइसकेको छ। २०७२ सालको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याउँदा जीर्णोद्धार हुन सकेन। कलात्मक झ्यालढोका अहिले इतिहास भएको छ। विद्यालयको पक्की नयाँ भवन भुइँतलामा मात्र सीमित रहेकोमा हाल एक धार्मिक संस्थाको सहयोगमा तला थप्ने काम भइरहेको प्रधानाध्यापक शर्मा बताउँछन्। आगामी वर्षदेखि प्लस टु पनि सञ्चालनमा ल्याउने योजना रहेको शर्मा बताउँछन्।
करिब दुई सय विद्यार्थी पढ्ने यो विद्यालयमा समयअनुसार विद्यार्थीको संख्या बढ्न सकेको छैन। विभिन्न कारणले पढ्न नपाएका वा पढाइ छुटेका मानिसको जमात काठमाडौंमा थुप्रै छन्। ती समूहलाई रात्रि स्कुलसम्म ल्याउने कार्य अझै हुन सकेको छैन। चेतनाको अभावले पनि त्यस्तो समूह विद्यालयमा भर्ना हुन नआएको शिक्षक विष्णु अधिकारीको बुझाइ छ। कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई छात्रवृत्ति लगायतको व्यवस्था गर्न सके विद्यार्थी संख्या बढ्ने थियो।