कति समय सुत्ने ?
मानव स्वास्थ्यका लागि ‘निद्रा’ अत्यन्तै जरुरी छ। हाम्रो जीवनको एक तिहाइ समय त हामी सुतेरै बिताउँछौं। अपुग निद्राबाट आउने समस्याहरूका बारेमा हामी जीवनभरि नै चिन्ता गरिरहन्छौं। हामीलाई लाग्छ, रातको समयमा सुत्न जरुरी छ। हामीमध्ये केहीले आठ घन्टाजति सुत्नुपर्छ भन्ने धारणा बनाएका हुन्छौं।सबै उमेर समूहका मानिसलाई निद्रा उत्तिकै आवश्यक पर्छ। निद्रा कम हुँदा जीवनपद्धति र स्वास्थ्यलाई समेत असर पुर्याउँछ। तपार्ईंलाई कति समय सुत्न जरुरी हुन्छ भन्ने कुरा तपार्ईंले कति समय काम गर्नुहुन्छ र कति ‘स्ट्रेस’ लिनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ।
सुताइको समय
सुत्नुपर्ने समय यति नै हो भनेर किटान गर्न गाह्रो छ। उमेरअनुसार सुत्नुपर्ने समयलाई निश्चित गर्न सकिँदैन। उमेर समूहअनुसार सुत्नुपर्ने समयलाई अनुमान गर्न मात्रै सक्छौं हामी।
हामीले निद्राको कुरा गरिरहँदा केही निम्न प्रश्नलाई ध्यान दिन जरुरी हुन्छ :
- तपाईं सात घन्टा सुत्दा पनि स्वस्थ, सिर्जनशील हुनुहन्छ ? हुनुहुन्न भने अरू धेरै सुत्नुहोस्।
- तपाईंलाई अनिद्राबाट हुने समस्या छ ? मोटोपनजस्ता रोगबाट पीडित त हुनुहुन्न ?
- ‘ड्राइभिङ’ गर्दा निद्रा लागेको त छैन ?
यस्ता प्रश्नहरू तपाईंले आफैंलाई सोध्नुहोस्। त्यसपछि कति काम गर्ने भनेर निर्णय लिनुहोस्।
सुत्नुपर्ने समय : सिफारिस
भर्खर जन्म लिएका (०-३ महिना) : दैनिक १४ देखि १७ घन्टा
शिशु (४-११ महिना) : दैनिक १२ देखि १५ घन्टा
बच्चा (१-२ वर्ष) : दैनिक ११ देखि १४ घन्टा
भर्खर स्कुल जान थालेका (३-५ वर्ष) : दैनिक १० देखि १३ घन्टा
स्कुले विद्यार्थी (६-१३ वर्ष) : ९ देखि ११ घन्टा
किशोरकिशोरी (१४-१७ वर्ष) : दैनिक ८ देखि १० घन्टा
वयस्क हुँदै गएका (१८ देखि २५ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
वयस्क (२६-६४ वर्ष) : दैनिक ७ देखि ९ घन्टा
बूढा (६५ वर्षभन्दा माथिका) : दैनिक ७ देखि ८ घन्टा
निद्रालाई प्राथमिकतामा राख्नुहोसस्वस्थ जीवन जिउन चाहनुहुन्छ भने आफ्नो आवश्यकतालाई ख्याल राख्नुहोस्। सुताइले आफ्नो जीवनमा पारेको प्रभावलाई ख्याल गर्नुहोस्। पर्याप्त सुतेको दिन र निद्रा नपुगेको दिनको ‘मुड’, ऊर्जा र स्वास्थ्य कस्तो भयो भन्ने कुरालाई ख्याल गर्नुहोस्।
सन्तुलित निद्रा पुर्याउन निम्न कुरामा ध्यान दिनुहोस् :
- सुत्ने समय ख्याल गर्नुहोस्। योजना बनाउनुहोस्।
- ओछ्यानमा कुनै तनाव नलिनुहोस्।
- अभ्यास गर्नुहोस्।
- कोठाको तापक्रम, आवाज र प्रकाशको विशेष ख्याल गर्नुहोस्।
- ओछ्यानलाई गुणस्तरीय बनाउनुहोस्। तन्ना, सिरानीलाई सुविधायुक्त बनाउनुहोस्।
- सुत्ने समयमा मोबाइल लगायतका ‘इलेक्ट्रोनिक्स’ सामान प्रयोग नगर्नुहोस्।
(नेसनल स्लिप फाउन्डेसन, अमेरिकाबाट साभार)