आयो ‘बादलभित्रको घाम’
काठमाडौं : ‘सत्य कुरो तीतो हुन्छ, कसैलाई मन पर्छ/पर्दैन। तीतो सत्यभित्र साझा प्रकाशनमात्र छैन, प्रधानमन्त्री, मन्त्रीहरु, लेखक र पत्रकारसमेत छन्’, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धकृति ‘बादलभित्रको घाम’ को विमोचन गरेपछि भने। विमोचन शताब्दी पुरुष जोशीसँगै पाँच वर्षीया रोजिना सुनारले गरेकी थिइन्।
जोशीले शर्मालाई तीतो सत्यहरुको संग्रह प्रकाशनको हतारो नगर्न भनेको तर नमानेको बताए। उनले भने, ‘हतार नगर्नोस् भनें तर फेरि मैलाई विमोचन गराउनु भयो यद्यपि म यसमा सहमत छु कि छैन, खै के भनूँ ?’ डुब्न लागेको साझा बचाएकोमा खुसी प्रकट गर्दै जोशीले अझै सफलता हात पार्न बाँकी रहेको भन्दै शर्मालाई झक्झक्याएका थिए। उनले थपे, ‘साझा प्रकाशनको सन्दर्भमा शर्मा फोरन पोलिसीमा सफल तर होम पोलिसीमा सफलता प्राप्त गर्न बाँकी मान्छे हो।’
प्रकाशक शमी साहित्य प्रकाशनका अध्यक्ष एवं पूर्वशिक्षामन्त्री प्रदिप नेपालले शर्माको हठ डरलाग्दो भएको भन्दै हठकै कारण अलि पछि प्रकाशन गरौं भने पनि तत्काल पाठकसामू ल्याउनु परेको बताए। उनले भने, ‘विषयवस्तुका कारण पर्खिएर छाप्न भनें तर शर्माको हठले नै छिटै आयो, यो कृति बादलभित्रको घाम भनेकै डोलिन्दप्रसाद शर्मा हो।’
प्राध्यापक राजेन्द्रप्रसाद सुवेदीले समाजका कच्चा पदार्थ लिएर एउटा पूर्णता प्रदान गरिएको कृति भएको बताए। उनले थपे, ‘साझा प्रकाशनका तथ्यहरु भएको कृति पढ्दा कतिपयलाई यो कृति किन लेखेको भन्ने लाग्न सक्छ तर सत्यलाई उजागर गरिएकाले यो वास्तविकतामा आधारित छ।’
साहित्यकार कृष्णहरि बरालले आफूले भोगेका कुरा आँट गरेर भन्न सक्ने स्रष्टा डोलिन्द्र भएको भन्दै साहसका साथ निबन्धमा भोगाईलाई स्पष्ट बोलेको बताए। उनले भने, ‘कृतिले भ्रष्टाचारमुक्त समाज हुनुपर्छ र राजनीतिक गठबन्धनले देश विकास हुँदैन भनेर बोलेको छ।’
निबन्धकार शर्माले कृतिभित्र आफूले भोगेका १८ विषयमाथि निबन्ध लेखेको बताए। पहिलो कृतिबारे बोल्दै उनले भने, ‘भोगाईको २५ प्रतिशतमात्र कृतिभित्र छ, कतिपय लेख्न नमिलेर हो ७५ प्रतिशत लेख्न बाँकी छ।’ कार्यक्रममा मोमिला, राजेश खनाल, प्रकाश सिलवाल र आश्विनी कोइरालाले निबन्धका अंश वाचन गरेका थिए।