नेपालकै पहिलो भिक्षुणी बिहार परिसरमा चैत्य स्थापना
भक्तपुर : अहिलेसम्मको प्रमाणिक नेपालकै पहिलो भिक्षुणीको चक्रवतरी विहार रहेको भक्तपुर नगरपालिका ९ वाचुहिटीस्थित परिसरमा बौद्ध चैत्य स्थापना गरिएको छ।
उक्त बिहारमा लिच्छवि संवत् १४४ अर्थात आजभन्दा १३ सय वर्षअघि मानदेवकै पालामा भिक्षुणी संघ रहेको शिलालेखमा उल्लेख छ। बिहार परिसरस्थित वाचुहिटी (ढुंगेधारा) मा फेला परेको उक्त शिलालेख अहिले राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको छ।
सोही शिलालेखको आधारमा नेपालको पहिलो भिक्षुणी संघ रहेको विहारबारे उजागर गर्न बौद्ध चैत्य निर्माण गरिएको भक्तपुर नपा ९ साकोलानस्थित गुँला ङक धलं व्यवस्थापन समितिका अध्यक्ष जीतलाल मानन्धरले जानकारी दिए।
समितिले शुक्रबार विशेष पूजाआजासहित चैत्य स्थापना उद्घाटन गरेको हो। उनले उक्त चैत्यको गर्भगृहमा बौद्ध धर्म परम्पराअनुसार मन्त्र फुकेर कालोमाटोका सवा लाख अरु चैत्य स्थापना गरिएको बताए।
प्रत्येक चैत्य स्थापना गर्न तीन विधि पूरा गरिएको उनको भनाइ थियो। ‘शुद्ध कालो माटोलाई बौद्ध धर्म परम्पराअनुसार मन्त्र फुकेर त्यसलाई तिलको तेलमा डुबाएर पाँच बौद्ध मन्त्र फुकेको अक्षता चढाएर एउटा चैत निर्माण गरिन्छ’, अध्यक्ष मानन्धरले भने, ‘यसरी सवा लाख चैत्यलाई गर्भगृहमा राखेर स्थापना गरिएको चैत्य भएकाले यसलाई नेपालभाषामा लखं चैत्य (सवालाख चैत्य) भन्ने गरिन्छ।’
भक्तपुरका बौद्ध अध्येयता सुरेशज्योति शाक्यले राष्ट्रिय अभिलेखालयमा सुरक्षित शिलालेखमा संस्कृत भाषामा सोमनाथ शाक्यले भिक्षु चक्रबतरी विहारस्थित आर्य भिक्षुणी संघको लागि भरणपोषणको लागि कीर्ति राखेको उल्लेख रहेको जानकारी दिए।
त्यस्तै नेपाल संवत् २०२ मा शंकरदेवको पालाको अर्को शिलालेखमा पनि चक्रवतरी महादेवी महाविहारका आर्य भिक्षुणी संघ भन्ने उल्लेख रहेको उनले बताए।
‘२०४० सालमा तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल आएका चिनियाँ प्रधानमन्त्रीले उपहारस्वरुप दिएको ताडपत्रमा लेखिएको १३७ पृष्ठ भएको सधर्म पुण्डरिक धर्म ग्रन्थमा समेत चक्रवतरी विहार र त्यहाँ बस्ने आर्य भिक्षुणीको बारेमा उल्लेख छ’, शाक्यले भने, ‘यी सबै प्रमाणले चैत्य स्थापना भएको स्थान बौद्ध धर्मको लागि ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थान भएको पुष्टि हुन्छ।’
उनका अनुसार चारथरि चैत्य स्थापना गरिन्छ। उक्त लखं चैत्य धर्म चैत्य रहेको उनले बताए। समितिले सात लाख पचास हजार रुपैयाँ खर्च गरेर उक्त चैत्य स्थापना गरेको जनाएको छ। जसअनुसार चैत्य बनाउन कालीगढलाई मात्रै चार लाख पचास हजार रुपैयाँ खर्च भएको समितिले बताएको छ। सिन्धुपाल्चोकका कालीगढ राजु लामाले उक्त चैत्य बनाएका थिए।