दोस्रो एक दिवसीय खेलमा नेपालको रोमाञ्चक जित
काठमाडौँः अन्तिम अवस्थामा एक बलमा दुर्इ चाहिएको अवस्थामा कप्तान पारस खड्काले विकेट लिएपछि दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई उसैको घरेलु मैदानमा १ रनले पराजित गरेको छ ।
योसँगै नेपालले एक दिवसीयको डेब्यु खेलमा ब्यहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्न सफल भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो ।
एक विकेट बाँकी रहेको अवस्थामा अन्तिम ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सलाई २ रन चाहिएको थियो । त्यस्तोमा नेपाललाई अनिवार्य विकेट या रन नदिने मात्रै विकल्प थियो । तर, अन्तिम ओभरमा बलिङमा आएका कप्तान पारसले अन्तिम बलमा नेदरल्यान्ड्सको १० औँ विकेटकारूपमा एफजे क्लासेनलार्इ रनआउट गर्न सफल भएपछि नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।
नेदरल्यान्डसलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । त्यसैगरी आठ ओभर बलिङ गरेका ललित भण्डारीले २ र ९ ओभर बलिङ गरेका सोमपाल कामीले १ विकेट लिए ।
नेपालका जितमा ब्याटिङतर्फ सोमपाल कामी र कप्तान पारस खड्काले प्रभावशाली प्रदर्शन गरे । सोमपालले ६१ रनको शानदार पारी खेल्दा कप्तान पारसले पनि ५१ रनको अर्धशतकीय पारी खेलेर नेपाललाई मजबुत अवस्थामा पुर्याएका थिए ।
यसअघि सुरुवाती ब्याट्सम्यान असफल हुँदा मध्यम र अन्तिम क्रममा आएकाले नेपालको स्कोर २ सय माथि पुर्याएका थिए । मध्यम गतिका बलर सोमपाल कामीले नेपाली पारीलाई उकास्ने काम गरे ।
आठौं क्रममा ब्याटिङका लागि मैदानमा छिरेका सोमपालले ४६ बलमै ६१ रनको अर्धशतकीय योगदान गर्दा नेपाल सम्मानजनक योगफलमा पुगेको थियो । यसक्रममा सोमपालले तीन छक्का र पाँच चौका प्रहार गरेका थिए ।
उनीबाहेक कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए । पारसले आफ्नो पालिमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसअघि सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १३ तथा सुवास खकुरेलले १९ रन जोडेका थिए ।
तेस्रो क्रममा आएका अनिल शाह चार रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १९ तथा आरिफ सेखले १६ रन जोडे । अन्य खेलाडीले भने दोहोरो संख्यामा रन जोड्न सकेनन् । रोहितकुमार पौडेल ६, वसन्त रेग्मी एक तथा सन्दीप लामिछाने आठ रनमा आउट हुँदा ललित भण्डारी चार रनमा अविजित रहे ।