८३ मेगावाट विद्युत् खेर जाने चिन्ता
चरिकोट : दोलखाको उत्तरी भेगमा निर्माणाधीन करिब एक दर्जन जलविद्युत् आयोजनाका प्रवद्र्धकहरू आफूले उत्पादन गर्ने विद्युत् खेर जाने भयले चिन्तित छन्।दुई वर्षमा सकिने गरी आठ वर्षअघि ठेक्का लगाइएको विद्युत् प्रसारण लाइन हालसम्मनिर्माण हुन नसकेका कारण उनीहरू चिन्तित बनेका हुन्।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिप्रिङखोला जलविद्युत् आयोजनाबाट उत्पादित १० मेगावाट विद्युत्मध्ये आधा खेर गइरहेको छ। थप उत्पादनको तयारीमा रहेका चारवटा आयोजनको करिब ८३ मेगावाट विद्युत् खेर जाने देखिएपछि पनि प्रवद्र्धक चिन्तित बनेका हुन्। समयमै प्रसारणलाइन तथा सबस्टेसन निर्माण नभए उत्पादित विद्युत् खेर जाने चिन्ता रहेको ७१ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको सिँगटीखोला जलविद्युत् आयोजनाका प्रमुख मनहरि सापकोटाले बताए।
नेपाल विद्युत् प्राधिकरणले आठ वर्षअघि दोलखाको उत्तरी भेगमा निर्माण हुने जलविद्युत् आयोजनालाई लक्ष्य गरी लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन ठेक्का लगाएको थियो। ४० किलोमिटर दूरीको प्रसारण लाइनका लागि करिब ४२ करोड तथा सिँगटी सबस्टेसन निर्माणका लागि साढे १७ करोडमा भारतीय कम्पनी अरावली इन्फ्रा पावरलाई सन् २०१० अक्टोबरमा ठेक्का दिइएको थियो। ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र अरावलीले प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुपर्नेमा हालसम्म त्यसको ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ। अहिले उक्त काममा खासै प्रगति पनि भएको छैन।
१ सय २१ ओटा टावर निर्माण गर्नुपर्नेमा हाल ६० ओटा टावरको फाउन्डेसन निर्माणको काम मात्र भएको छ। समयमै काम सम्पन्न नगरेको र काममा ढिलासुस्ती गरेको भन्दै प्राधिकरणले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन लागेपछि निजीक्षेत्रका ऊर्जा प्रवद्र्धकहरूले गुनासो गरेका छन्। नयाँ ठेक्का प्रक्रिया अघि बढाउँदा प्रसारण लाइन तथा सबस्टेसन बन्न अझै ढिलो हुने भन्दै उनीहरूले प्राधिकरणलाई म्याद थप्न आग्रह गरेका थिए। निजीक्षेत्रका ऊर्जा प्रवद्र्धक अरावलीका मालिकलाई भेट्न दिल्लीसम्म पुगी कम्पनीसँग समन्वय गरी आफैं प्रसारण लाइन निर्माणमा अग्रसर भए पनि काममा खासै प्रगति भएको छैन।
ठेकेदारले भने दसैंपछि टावर निर्माण गरी लाइन तान्न सुरु गर्ने प्रतिबद्धता जनाएको सिँगटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए। ठेकेदारले प्रतिबद्धताअनुरूप काम गरे चालू आर्थिक वर्षको पुस–माघसम्ममा प्रसारणलाइन निर्माण सम्पन्न हुनेछ। उत्पादित विद्युत् खेर जाने डरले प्रसारणलाइन तथा सबस्टेशन निर्माणमा ढिलाइ भएसँगै निर्माणाधीन आयोजनाको कामको गति पनि सुस्त भएको आयोजना प्रवद्र्धकको दाबी छ।