जवाफ पाऊँ सरदार !
सरदार, तपाईंले मेरा बालाई एक साँझ भन्नुभयो रे—
‘सिंगो मानव जातिको मुक्तिका लागि
जाऊँ हिँड युद्धमा’
मेरा बाले बाँधेर निधारमा रातो टालो
त्यही साँझ घर छोडेका थिए रे
आमालाई सोधिनँ मैले
मुक्ति भनेको के हो ?
मेरो त हरेक साँझबिहान हुन्थ्यो एउटै प्रश्न—
आमा !
बा कहिले आउनुहुन्छ ?
कहिले आउनुहुन्छ बा ?
कहिले बा आउनुहुन्छ ?
कहिले ? कहिले ? कहिले ?
अवरुद्ध कण्ठबाट साउती मार्दै
भन्थिन् आमा—
दसैंमा आउनुहुन्छ, नानी !
चाडपर्व आउँथे–जान्थे
बा कहिल्यै आएनन्
म उही प्रश्न गर्थें निरन्तर
आमा उही जवाफ नभएको जवाफ दिन्थिन् निरन्तर
यो प्रश्नोत्तरको खेलले
खर्लप्पै निलेछ एक दशक ।
कहिलेकाहीँ
अरब गएका
मेरा साथीका बाउहरू
बाकसमा बन्द भएर आउँथे
सुनसान बन्थ्यो गाउँ
उतारिन्थ्यो रङ आमाहरूको
म झस्किन्थेँ, काँप्थेँ, अत्तालिन्थेँ
र आमाको खोजी गर्थें
ढुक्क हुन्थेँ आमालाई देखेपछि
बा रातो रङ बनेर
बाँचिरहेका हुन्थे आमाको सिउँदोभरि ।
कति निस्सार जीवन बाँचिन् मेरी आमाले
आज बुझ्दैछु म
रोपाइँको मेलोमा छुपुछुपु
धान रोप्दै गर्दा
सामुन्ने बाउसे गर्दै गरेको
बाटाघरेलाई देखेर
किन फुस्काउँथिन्
कम्मरमा समेटेको गुन्युको मुजो ?
र, पौडिन दिन्थिन् हिलाम्मे खेतमा
किन बन्द हुन्थ्यो सम्साँझै
हाम्रो घरको दैलो ?
कहिलेकसो मध्यरातमा
किन र कसले ढकढक्याउँथ्यो
हाम्रो घरको ढोका ?
अहिले म यी सबै बुझ्ने भएकी छु
सरदार, आज तपाईंका हातमा हतियार छैन
मुक्तिको सपना पनि छैन
अँध्यारो संसार मास्न हिँडेको
मशाल पनि छैन
सत्ताको अनुपम सिंहासनमा
रमाइरहेका छन् मेरा बाका उनै दौंतरीहरू
आकाश छेड्ने गरी
एकपछि अर्को महलहरू ठडिएका छन्
जसका जगमा मेरा बेपत्ता बाका सपनाका इँटाहरू छन्
सरदार, क्रान्ति कहाँ पुग्यो ?
सिंहदरबारमा ?
संसद् भवनमा ?
नवधनाढ्यहरूको महलमा ?
अब म सोध्दिनँ—
मेरा बा कहिले आउँछन् ?
यतिचाहिँ सोध्छु—
मेरा बाको सुन्दर सपनासँग
यति फोहोरी मजाक किन गर्नुभयो ?
जवाफ पाऊँ, सरदार !