पेलेको प्रतिष्ठा

पेलेको प्रतिष्ठा

रसियामा आयोजित सन् २०१८ को विश्वकप भर्खरै समापन भएको छ। करिब महिना दिनसम्म खेलपे्रमीलाई मात्र होइन, प्रायः सबैको जीवनलाई रोमाञ्चक बनाएर यो अगामी चार वर्षसम्म स्थगित भएको छ। डिजिटल युगको संसारमा विश्वलाई एउटै आँगनमा ल्याउने धेरै कुरा त छन् आज। तर, बिनाभेदभाव विश्वलाई एउटै आँगनको अुनुभूत गराउने सायद विश्वकप नै होला। नेपालभन्दा धेरै टाढा भएका विभिन्न देशको बीचमा भएको प्रतिस्पर्धामा नेपालीहरू पनि यसरी रमाए, मानौं आफ्नै देश नेपाल पनि खेलमा सहभागी भएको होस्।

आयोजक राष्ट्रको राष्ट्रिय जीवनमा के प्रभाव पार्छ यस विश्वव्यापी प्रतियोगिताले ? धेरै देशमा यसको आयोजना भइसकेको हुनाले धेरै देशका धेरै थरी अनुभव हुन सक्छन्। तर, सन् २०१० मा आयोजना भएको आयोजक देश दक्षिण अफ्रिकाको अनुभव मननयोग्य छ। विगत करिब २५ वर्षसम्म राष्ट्रिय जीवनका अनेक मुद्दामा विभाजित समाजलाई विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले एकै सूत्रमा बाँधिदिएको अनुभव छ, त्यस देशको। दक्षिण अफ्रिकाका तत्कालीन खेलकुद उपमन्त्री ओस्थ्युइजेन आज पनि सो कुरा गर्वका साथ भन्ने गर्छन्। हालै रसियामा सम्पन्न भएको विश्वकपलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो राष्ट्रिय सम्मान विश्वमा बढेको रूपमा लिए। स्वयं फिफाले रुसमा सम्पन्न विश्वकपलाई ‘अहिलेसम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकप’को संज्ञा दिएको छ।

त्यस बखतका फिफा अध्यक्ष ‘जुलेस रिमेट’को सक्रियतामा सन् १९३० मा उरुग्वेबाट पहिलोपटक विश्वस्तरको प्रतियोगिताको रूपमा यो खेल सुरु भएको थियो। यस दृष्टिले खेलको इतिहास त्यति लामो छैन। तर, यति छोटै समयमा पनि यसले एउटा रोचक इतिहास रचेको छ। त्यसै कारण पनि विश्वविजेतालाई प्रदान गरिने ट्रफीको नाम नै तत्कालीन फिफा अध्यक्षको नामबाट ‘जुलेस रिमेट’ भनेर राखिएको थियो। यो ट्रफीको निर्माण गर्ने जिम्मेवारी फ्रान्सका ‘अबेल लाफलिउर’ नामक शिल्पकारले पाएका थिए।

तत्कालीन समयमा विश्वकप विजेतालाई युद्धकै विजेताका रूपमा हेरिने चलन थियो। त्यसैकारण शिल्पकार अबेलले पनि त्यसै अनुसारको दार्शनिक विचार बोकेर ट्रफी निर्माण गरेका थिए। ग्रिक दर्शनमा ‘नाइक’लाई विश्वविजयी देवीको रूपमा लिने गरिन्थ्यो र सो चलन आजको ग्रिसमा पनि छ। सोही दर्शनबाट प्रभावित भएर नाइकदेवीको मूर्ति कुँदेका थिए, शिल्पकार अबेलले। मूर्तिको बाहिरी भागमा सुन, चाँदी र मणिले लेप गरिएको थियो। यसको उचाइ ३.५ सेमी र तौल लगभग चार किलोग्राम थियो। तत्कालीन फिफा अध्यक्ष जुलेस रिमेटका अतिरिक्त अन्य थुप्रै खेलाडीका साथ यो ट्रफीलाई उरुग्वे पुर्‍याइएको थियो र त्यो वर्षको प्रतियोगिता उरुग्वेले नै जितेर ट्रफी हात पारेको थियो।

विश्वकप तीनपटक जित्ने देशले ट्रफी सदाका लागि हात पार्ने नियम फिफाले बनायो। यसपछि सन् १९५८, ६२ र ७० मा ब्राजिलले विश्वकप प्रतियोगिता जितेर सो जुलेस रिमेट ट्रफी सदाका लागि आफ्नै देशमा राख्ने अवसर पायो। यसपछि फिफाले अर्को नयाँ ट्रफी बनायो र सन् १९७४ देखि विश्वविजेतालाई दिइने ट्रफीको नाम ‘फिफा विश्वकप ट्रफी’राखियो। यसरी ‘जुलेस रिमेट ट्रफी’ अब गुमनाम बन्यो। ‘फिफा विश्वकप ट्रफी’ निर्माणको जिम्मा इटालीको बेर्टाेनी नामक कम्पनीले पाएको थियो। कामको जिम्मा कम्पनीले लिए पनि यसका शिल्पकार ‘सिल्भियो गजानिगा’ थिए। उनले डिजाइन गरेका अनेक नमुना मध्येबाट फिफाले एउटा नमुना छानेको थियो। यो नमुनाको डिजाइनका आधारबाट दुर्ईजना मानिसले पृथ्वीको डल्लोलाई माथि उचालेको देखाइएको छ। १८ क्यारेट सुनले बनाइएको सो ट्रफी करिब १४ इन्च अग्लो र ६ किलोग्राम तौलको छ। सन् २०३० मा यो प्रतियोगिता सुरु भएको एक सय वर्ष पूरा हुनेछ। फिफाले एक शताब्दी पूरा भएको उपलक्ष्यमा ट्रफीको अर्कै नयाँ डिजाइन गर्ने घोषणा गरेको छ।

ट्रफीसँग सम्बन्धित अरू अनेक कथाहरू पनि छन्। कहिले यो अचानक हराएको छ, कहिले चोरी भएको छ। कहिले यसलाई विश्वयुद्धबाट जोगाउन अनेक थरी उपाय गर्नु परेको छ। यी सबै कथाको एउटा छुट्टै कथा बन्छ। यसले पनि फुटबल प्रतियोगिता हेरेजत्तिकै मनोरञ्जन दिन सक्छ, पाठकहरूलाई। तर यस लेखमा विश्वकप प्रतियोगितामा अभूतपूर्व नाम कमाएका खेलाडी ‘पेले’का बारेमा केही जानकारी दिने कोसिस गरिएको छ।

आठ वर्षको उमेर पुग्दानपुग्दै ट्रेन स्टेसनमा बसेर डिकोले जुत्ता पालिस गरेर कमाउन थालेका थिए। जो, पछि गएर फुटबलमा पेलेको नामले चिनिए।

चर्चा पेलेको

पेलेको वास्तविक नाम ‘एडसन आरन्तेस डो नासिमेन्ट’ थियो। तर, परिवारमा यिनलाई सबैले ‘डिको’ भन्थे। ब्राजिलको ‘ट्रेस काराकास’ भन्ने स्थानमा बस्ने यिनका बाबु ‘डनडिनो’ जागिर खान्थे, उनी पनि फुटबल खेलाडी थिए। ब्राजिलको ब्युरो भन्ने स्थानमा बाबु जागिर खाने क्रममा सरुवा भएर जानुपर्दा चार वर्षका डिको पनि सँगै गए। खेलकै क्रममा डनडिनो घाइते भएकाले धेरै काम गर्न सक्दैनथे। त्यसैकारण सानै उमेरदेखि डिकोले बाबुलाई काममा सघाउनु परेको थियो। आठ वर्षको उमेर पुग्दानपुग्दै ट्रेन स्टेसनमा बसेर डिकोले जुत्ता पालिस गरेर कमाउन थालेका थिए। जुत्ता पालिस गर्ने काम र स्कुल जाने कामबाट बचेको समयमा दाजु ‘जुका’सँग थोत्रे कपडाको बल बनाएर बाटामा खेल्ने गर्थे।

‘के बन्छस तँ ? ’ भनेर बाबुले एक दिन डिकोलाई सोधेछन्। ‘प्लेन उडाउँछु’ भनेछन् डिकोले। तर संयोगको कुरा, एक दिन उनकै सहरमा ल्यान्ड गर्नै लागेको प्लेन दुर्घटनामा मानिस मरेको देखेपछि डिकोले प्लेन उडाउने सपना सदाका लागि परित्याग गरेछन्। तर, उनले फुटबल खेल सिक्ने काम भने जारी राखे। डनडिनो आफैं फुटबल खेलाडी भएकाले उनले पनि डिकोलाई सिकाउँदै गए। खेलमा डिकोले पनि प्रगति गर्दै गए। फुटबल खेलमा दुई अनौठा सीप डिकोमा विकास हुँदै गरेको कुरा बाबुले देखे। पहिलो डिको असाधारण किसिमले बलसँगै दौडिन सक्थे र दुवै खुट्टाले एकैनासले किक हान्न सक्थे।

फुटबलमा डिकोले विकास गर्दै गरेको सीपबारे बाबुले डिकोकी आमासँग एक दिन कुरा गरे। तर आमा ‘सेलेश’ले मन पराइनन्। ‘खानका लागि कमाउनुपर्छ र कमाउनका लागि काम गर्नुपर्छ’, उनले भनिन्। ‘फुटबल खेलेर त कमाउन सकिन्न’ अनि केले खाने ? ’ तर आमाको यो राय आउँदासम्म डिको फुटबलमा धेरै अगाडि बढिसकेका थिए। काराकासमा बस्ता बाबु डनडिनो खेल्ने फुटबल टिममा एकजना गोलकिपर थिए र उनको नाम ‘विले’ थियो। साथीहरूसँग डिकोले भन्थे, ‘म विलेजस्तै खेलाडी बन्छु।’ संयोग यस्तो हुँदै गयो कि डिकोले फुटबल खेलमा गरेको विकास देखेर उनका साथीहरूले ‘विलेजस्तै’ भन्नुपर्ने ठाउँमा ‘पेले’ भन्न थालेका थिए। सुरुमा यो नाम उनलाई राम्रो लागेको थिएन। तर, पछि यसै नामबाट उनी विश्वप्रसिद्ध भए।

काराकासमै हुँदा पेले र अरू केही खेलाडी साथीहरू मिलेर एउटा फुटबल टिम बनाएर खेल्न थाले। गरिबीका कारण खाली खुट्टाले खेल्नु परेकाले यस टिमलाई अरूले ‘खाली खुट्टे टिम’ भनेर नाम राखेका थिए। सहरको एकजना धनीलाई दया लागेर सबै खेलाडीलाई जुत्ता किनिदिएर केही खर्चसमेत दिएर सो टिमलाई ‘अमेरिक्विनो’ नाम राखिदिए। सहरमा एकपटक यो टिमले एउटा खेलमा भाग लिने मौका पायो, जसमा पेलेले उत्कृष्ट खेल प्रदर्शन गर्ने मौका पाए। दुई वर्षपछि पेलेका बाबु डनडिनो खेल्ने ‘ब्युरो एथलेटिक क्लब’मै पेलेलाई स्थान दिएर खेलाउन थालियो। ‘मेरो सबैभन्दा खुसीको दिन त्यही थियो’, पछिसम्म भन्ने गर्थे पेले। बाबुले खेल्ने गरेको टिममा अनुरोध गरेर पेलेलाई लैजाँदा उनको उमेर १३ वर्षको मात्र थियो। आज कसैले यो कुरा पत्याउलान् ? तर, साँचो कुरा यही थियो।

ब्राजिलियन फुटबल टिमका ‘वाल्डेमार डी ब्रिटो’भन्ने मानिस ‘ब्युरो एथेलेटिक क्लब’का म्यानेजर थिए। पेले अब यिनैका विद्यार्थी बनेर फुटबल सिक्दै गए। यसरी डी ब्रिटोका लागि पनि पेले झन्झन् महŒवपूर्ण खेलाडी साबित हुँदै गए। ‘मेरो छोरो त १५ वर्षको मात्रै पो छ त, कसरी रियो दी जेनेरियोको ठूलो टिममा लान्छौ हँ ? ’, एक दिन उनकी आमा कराइन्। तर, त्यो ठूलो टिममा पेलेलाई लाने नै निर्णय भयो। पेलेलाई उनको फुटबल प्रेमबाट कसैले पनि रोक्न सकेन। ब्राजिलको राजधानी नजिकैको ‘साओपाउलो’ सहरको नजिकै रहेको सान्तोस क्लबले पेलेलाई लाने भयो। डी व्रिटोले मञ्जुर गरे। पेलेका बाबु, छोरा साओपाउलो हिँड्दा आमा र दाजुले ट्रेन स्टेसनसम्मै पुगेर पेलेलाई टाढा जान नदिन भाँडभैलो नै गरेका थिए।

रेलको यात्रामै पेलेले भने, ‘अलिकति पैसा कमाएर आमालाई एउटा घर किनिदिन्छु बुवा।’

पेलेका बाबुले भने, ‘अहिले नै सपना नदेख।’

सान्तोस क्लबमा पेलेको जीवन अगाडि बढ्न थाल्यो। तर, बाबुलाई बिदा गरेर साओपाउलोको घुमघाम, खेल, बसको यात्रा अटलान्टिक ओसनको रमिता आदिले पनि पेलेलाई घर र आमा बिर्सन दिएन। उनी घर फर्किन भनेर धेरैपटक झोलाझ्याम्टा लिएर स्टेसन पुगेका थिए। तर, साथीहरूले झोलाझ्याम्टा खोस्तै, पेलेलाई तान्दै फर्काउँथे। यी साथीहरूलाई पछि गएर ‘फुटबल परिवार’भन्ने गरेका थिए पेलेले। ‘प्रत्येक दिनको प्रयास’ले उनलाई सान्तोस टिमको कान्छोबाट जेठोमा परिणत गर्दै थियो।

सेतो र कालो जर्सी र कट्टुमा मैदानमा जाँदा साथीहरूले पनि चिनेका थिएनन्। पेलेले दनादन गोल गर्न थालेपछि छिटै सबैको नजरमा परे। धेरै वर्ष पछिसम्म उनका प्रतिद्वन्दी गोलकिपरहरू भनिरहन्थे, ‘त्यो विशाल पेले आएपछि पहिले नै हामीले गोल खाइसकेका हुन्थ्यौं।’ सानै उमेरमा सान्तोस क्लबको तर्फबाट डिकोले ३२ गोल गरिसकेका थिए। ‘प्रत्येक दिन प्रयास’ले पहिले दाहिने खुट्टाले किक गरेजस्तै देब्रे खुट्टाले पनि किक गर्न थाले। त्यसपछि टाउकाले किक गर्दै गए। अन्त्यमा झन्झन् मजबुत हुँदै गए। सन् १९५७ मा रियोमा भएको एउटा भव्य खेलमा चार खेलमा ६ गोल गरे उनले। यसरी १६ वर्षकै उमेरमा पेलेलाई फ्यानहरूको कमी भएन।

ब्राजिलियनहरूले ‘अब पेलेले ब्राजिलियन नेसनल टिममा खेल्छन्’ भन्न थालिसकेका थिए। यस्तैमा सन् १९५७ मै ब्राजिलियन नेसनल टिममा पेले सामेल भएर अर्जेन्टिनाको विरुद्ध खेले। पेलेले गोल पनि गरे तर ब्राजिल हार्‍यो। अर्जेन्टिनीहरूले खेल जिते पनि पेलेको खेलबाट सम्पूर्ण दर्शक अत्यन्त प्रभावित भए।

सन् १९५८ विश्वकप टुर्नामेन्टमा जाने खेलाडीहरूको लिस्टमा पेले छानिए। अन्तर्राष्ट्रिय उडानमा पहिलोपटक पेले ब्राजिलबाट प्रतियोगिताका लागि स्विडेन जाँदै थिए। वेल्ससँग खेल्दा पेलेले एक गोल गरे। दोस्रो गोल पेलेको थियो, सोभियत संघविरुद्ध। त्यसपछि ब्राजिलको भिडन्त फ्रान्ससँग भयो। पेलेले ह्याट्रिक गरे। ५–२ ले ब्राजिल विजयी भयो। यसरी १७ वर्षकै किशोर पेले रातारात चर्चित भए। अन्त्यमा आयोजक देश स्विडेनसँग ब्राजिलले खेल्नु थियो। यो खेल पनि ५–२ ले ब्राजिल जित्यो। पेलेले हेडमार्फत दर्शनीय गोल गरेका थिए। पेले विश्व स्टार घोषित भए। सन् १९७० मा तेस्रोपटक पनि विश्वकप जितेर तत्कालीन ‘जुलेस रिमेट ट्रफी’ ब्राजिलले पचाउने परिस्थितिले पेलेको प्रतिष्ठालाई चुलीमा पुर्‍यायो। सन् २०१८ को विश्वकपमा फ्रान्सलाई उपाधिको हकदार बनाउने १९ वर्षीय एम्बाप्पेलाई अर्को पेलेको रूपमा हेर्न थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.