कीर्तिपुर : देशभित्रकै डायस्पोरा

कीर्तिपुर : देशभित्रकै डायस्पोरा

विश्वविद्यालयमा विद्यार्थी कम हुँदै गए पनि विद्यार्थीले कीर्तिपुरको साथ छाडेका छैनन्।


त्रिभुवन विश्वविद्यालयको झन्डै ६ दशक लामो यात्रासँगै जोडिएर कीर्तिपुरले एउटा पृथक् पहिचान बनाएको छ, त्यो हो विद्यार्थीको गन्तव्यस्थल। हो, केही वर्ष यता विश्वविद्यालयको त्यो साख र विद्यार्थीको त्यो उत्साहमय उपस्थिति घट्दै गएको सत्य हो। तर, लोकसेवा आयोगदेखि विदेशी भाषा कक्षा तयारीका लागि क्लास लिने प्लस टु र ब्याचलर्सका विद्यार्थी नै किन नहोऊन्; कीर्तिपुरका घर, कोठा, गल्ली र बाटोघाटो विद्यार्थीले नै भरिएका छन्। विश्वविद्यालयमा विद्यार्थी कम हुँदै गए पनि विद्यार्थीले कीर्तिपुरको साथ छाडेका छैनन्।

कीर्तिपुर एउटा कथा हो, व्यथा हो, रहस्य हो र एउटा मीठो सपना पनि हो। यो सानो सहर दिनभरि भूमिगत हुन्छ। ऊ चुपचाप कतै कुनामा थन्किन्छ। जसै साँझ पर्छ अनि जुर्मुराएर उठ्छ अनि रातभरि सपनाको हिसाबकिताब गर्दै जाग्राम बस्छ। कीर्तिपुरको छातीमा कुल्चने अधिकांश पाइलाको आयु सरदर चार पाँच वर्षको हुन्छ। जिन्दगीको एउटा मोडमा रोकिन आइपुगेको एउटा बिसौनीजस्तै। यही बिसौनीमा सुस्ताएर नयाँ मोडमा प्रवेश गर्नेहरू कति आए कति गए, त्यसको हिसाब कहिल्यै राखेन कीर्तिपुरले। न त ती कपुरका रूखहरूमा नाम खोपेर जाने र भित्तामा निशाना छाडेर जानेले नै कहिल्यै सम्झिए, कीर्तिपुरलाई।

साँझपखको कीर्तिपुर हेर्नलायक हुन्छ। यस्तो लाग्छ मानौं, त्यहाँ नेपाली युवकयुवतीको मेला लागेको छ। देशका विभिन्न भूगोलबाट आएका विविध रूप, रङ, भाषा, संस्कृति, उमेर, स्वभाव, रुचि भएका र सोह्रदेखि तीससम्म उमेरका खाँटी नेपाली युवालाई भेट्नु छ भने अन्त कतै जानु पर्दैन, साँझपखको विश्वविद्यालय परिसर र कीर्तिपुरको नयाँबजार आसपास उभिए पुग्छ। बाटोघाटो, चौर, सिँढी, गल्ली जताततै तिनीहरूका समूह, समूहपिच्छेका किसिम किसिमका गफ अनि त्यसै अनुरूपका हाउभाउ र हाँसोले निथु्रक्क भिजाइदिन्छ माहोल। यस्तो लाग्छ, नेपालको कुनै ठाउँ युवाहरूको मुस्कानमा बाँचेको छ भने त्यो सायद कीर्तिपुर नै होला। यसै त, त्यो उमेर ससाना कुरामा नै हाँस्ने, रमाउने र ठट्ठा गर्ने उमेर हो र त्यही उमेर समूहका युवाहरूले भरिएको विश्वविद्यालय परिसर यसैयसै प्रफुल्ल देखिन्छ।

वास्तवमा कीर्तिपुर नेपाली युवकयुवतीको वर्तमान हो। भूत र भविष्यको नामोनिशान हुँदैन त्यहाँ, केवल वर्तमान मात्र देखिन्छ। टाढाटाढाका कयौं अभिभावकको आशा र सपना जोडिएको छ, कीर्तिपुरसँग। आज बाँच्दै गरेका युवाको भविष्य गाँसिएको छ, कीर्तिपुरसँग। म देख्छु कीर्तिपुरका साँघुरो कोठाभित्र किताबका थाक अगाडि राखेर टोलाइरहेका कतिपय युवालाई, जो गाउँको बाँझो बारी र बुवाको रित्तो खल्ती सम्झेर घोर निराशामा तड्पिरहेका हुन्छन्। कोही भने किताबका पानापानामा आफ्नो स्वर्णिम भविष्य लुकेर बसेको छ भने जस्तो गरी रातरातभरि ती पानामा रटान लगाइरहेका हुन्छन्। अनि, कोही भने विकराल बनेर आउँदै गरेको भोलिलाई बिर्सिएर चुरोटको धुवाँसँगै जीवनका सारा क्लेशहरूलाई उडाइरहेका हुन्छन्।

अजीवको छ कीर्तिपुर। देशका होनहार युवाको सपनासँग र उनीहरूको वास्तविकतासँग परिचित छ ऊ। त्यसैले बीस रुपियाँको मोही, एक पाउ फर्सी किन्न जाने आफ्ना ग्राहकलाई प्रेमपूर्वक उधारो दिन्छ, झर्को नमानीकन। खल्तीमा बाले दिएको खर्च र झोलामा आमाले राखिदिएका सामल बोकेर संकोच मान्दै आएका यी नयाँ पुस्तालाई जब कीर्तिपुरको वातावरणले ऊर्जा भरिदिन्छ अनि उनीहरू एकाएक साहसी, स्वाभिमानी र क्रान्तिकारी बनेर निस्कन्छन्। गाउँबाट आफूसँगै आएका संकोच, हीन भाव सबैसबैबाट मुक्त भएर उनीहरू देशका विज्ञ, विशेषज्ञ र भावी नेपालकै योजनाकार बन्छन् तर यो ठाउँबाट गइसकेपछि कहिल्यै त्यो ठाउँप्रति गर्व गर्दैनन्। संघर्षको मैदानमा आज रित्तै लडिरहेका विद्यार्थीलाई सान्त्वना दिने कीर्तिपुर केही समयपछि बिरानो भइदिन्छ। साँच्चि मान्छेको असली स्वाभाव र प्रवृत्ति कीर्तिपुरलाई भन्दा बढी कसलाई थाहा होला ?

वरपरको बन्द कोठाभित्र फोनमा कुरा गरिरहेको सुनिन्छ मधुरो आवाजमा— तल्लो गराँ मकै रोपियो कि नाइँ ? गाईले दूध दिँदै छ कि थाक्यो ? बाख्रा ब्यायो ?

साँझपख ताँती भत्किएको कमिला यताउता असरल्ल फैलिएझैं त्यो युवा जमात बाटो, चोक र चौर तथा लाइब्रेरी वरपरका फराकिला र शान्त बाटाहरूमा फिँजारिन्छ। त्यतिब ेला उनीहरूका आँखामा देखिने भाव निकै रहस्यमयी र गहिरो हुन्छ। दिन ढल्दै गएपछिको त्यो निरीह साँझमा चारैतिर छरिएका ती युवा झुण्डहरू एकआपसमा कुरा त गरिरहेका हुन्छन् तर तिनका बोलीभित्र कताकता अवसाद लुकेको हुन्छ। उनीहरू हाँस्ने हँसाउने प्रयास त गरिरहेका हुन्छन् तर यी क्रियाकलापभित्र पनि पीडा लुकिरहेको हुन्छ। विश्वविद्यालयमा मास्टर्स गरिरहेका यी युवाका आँखामा कुनै निश्चित भविष्य छैन। दिनभर फिजिक्सको प्रयोगशालामा व्यस्त हुन्छन् अनि रातभरि लोकसेवा आयोगको परीक्षाको तयारीमा जुट्छन्। उनीहरू जोश, हिम्मत र खुसी देखाउने प्रयास त गरिरहेकै हुन्छन् तर के गर्नु देशको हविगतले उनीहरूलाई शिर ठाडो पारेर हाँस्ने वातावरणसम्म दिन सकेको छैन।

रंगीन सपनाको मौसम हो यो। इच्छा, आकांक्षा र चाहनाको थुप्रो छ मनभरि तर एउटा सानो कोठा पनि रित्तोरित्तो छ। किताबमा व्यर्थै किन लगानी गर्नु भनेर हो वा पैसा बचत गर्न हो, किताबका महŒवपूर्ण अंश मात्र फोटोकपी गरेर बाइन्डिङ गरेका केही फाइलहरू र गाइड गेसपेपरका केही प्रतिहरू छरिएका हुन्छन् ओछ्यानमा र तिनीहरू सुगा रटाइका भाँतीमा पढिरहेका हुन्छन्।

बेलुका मात्र खुल्छन् सबैका कोठाका झ्यालहरू। रंगीचंगी पर्दाले छोपिएको प्रत्येक झ्यालभित्र सपनैसपनाले भरिएको एउटा जिन्दगी बाँच्छ। अक्सर ती कोठाहरूको रूप, रंग र स्वरूप विश्वविद्यालयले बनाएको प्रश्नको उत्तर लेखेजस्तो एकै प्रकारका हुन्छन्। झ्यालमा सटाएर राखिएको लो बेड÷खाट, खाटमाथि एउटा सानो टेबुल र छरिएका जिस्ता कापीका पानाहरू, अर्कोपट्टि भित्तामा सटाएर राखिएको किचन र्‍याक र त्यसमाथि ग्यासचुलो अनि त्यसमाथि पनि प्रेसरकुकर, त्यसको छेवैमा ग्यास सिलिन्डर र सिलिन्डरमाथि पानीको जार या फिल्टर अनि भुइँमा एउटा बीस लिटर जाने प्लास्टिकको ढक्कनसहितको बाल्टिन (कीर्तिपुरमा प्रत्येक दिन बीस लिटर पानी नापेर दिने चलन छ) र छेउमा हुन्छ एउटा प्लास्टिकको बाटा, जुन भाँडा माझ्न प्रयोग गरिन्छ। अब यसमाथि एउटा मुढा र एउटा प्लास्टिकको जग भएपछि कीर्तिपुरको घरसंसार राम्ररी चल्छ। हरेक विद्यार्थीको कोठामा पुग्दा देखिने पहिलो दृश्य यही हो र अरू बाँकीचाहिँ विद्यार्थीको रुचि र हैसियतअनुसार हुन्छ। तर, केटी विद्यार्थीको छ भनेचाहिँ एउटा कुनामा कुनै देवीदेवताको फोटो झुन्डिएको हुनसक्ने सम्भावना रहन्छ। यसरी जीवन प्रारम्भ गरेका ती प्रत्येक विद्यार्थीका आँखामा यही सहरमा एउटा सुन्दर घर, गाडी, स्थायी जागिर र सानो परिवारको सपना दौडिरहेको हुन्छ। थाहै हुन्न, यो सपना कतिले पूरा गर्छन् र कतिको ओइलाएर जान्छ।

वास्तवमा कीर्तिपुर देशभित्रकै एउटा डायस्पोरा हो। कीर्तिपुरमा हिँडिरहेका मान्छेहरू कीर्तिपुरका बारेमा सोच्दैनन्, उनीहरू आफ्नै गाउँठाउँका बारेमा सोचिबस्छन्। सुत्न त यहीँको कोठामा सुत्छन् तर सपना देख्छन्, आफ्नै जन्मभूमिको। उनीहरूको शरीर यहीँ हुन्छ तर मन भने पूरै गाउँमा। वरपरको बन्द कोठाभित्र फोनमा कुरा गरिरहेको सुनिन्छ मधुरो आवाजमा— तल्लो गराँ मकै रोपियो कि नाइँ ? गाईले दूध दिँदै छ कि थाक्यो ? बाख्रा ब्यायो ? असिनापानीले आँपलाई कति नोक्सान गर्‍यो ? भाइबहिनी कत्तिको पढ्दै छन् ? यसरी उनीहरूका पाइतालाले भलै कीर्तिपुरका बाटोमा डोब बनाइरहेका होऊन् तर उनीहरूका मन हरेक पल आफ्नै गाउँ, परिवार, साथी, आफन्त, प्रकृति आदिलाई बोकेर हिँडिरहेको हुन्छ।

हरेक साल एउटा पुरानो समूह जान्छ र निर्दोष अनुहार बोकेर अर्को नयाँ समूह आउँछ, रूखबाट पुराना पातहरू झरेर नयाँ पातहरू पलाएजस्तै। यसरी जाने र आउने काम कतिखेर हुन्छ, कसैलाई पत्तो नै हुँदैन। सबै उसैगरी ठीकठाक चलिरहेको जस्तै हुन्छ तर जब राति झ्यालका पर्दा फेरिएका हुन्छन् अनि थाहा पाइन्छ, त्यो कोठामा पुराना गएछन् र नयाँ आएछन्। ती जानेहरू कहाँ गए ? को थिए ? कहाँबाट आएका थिए ? लक्ष्य पूरा गरे कि गरेनन् ? कसैलाई चासो नै हुँदैन र नयाँ आउनेहरू पनि यही क्रममा पुराना भएर जान्छन्, कसैलाई मतलब नै रहँदैन। तर, जति थरीका विद्यार्थी फेरिए पनि अरू केही फेरिँदैन, कोठा र वातावरणमा केवल झ्यालको पर्दा फेरिन्छ। जे होस्, यसरी आउने र जानेहरूका मनमा एउटा धमिलो स्मृति बनेर रहन्छ कीर्तिपुर !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.