अनेक इन्द्र !
म इन्द्र हुँ। पति हुँ इन्द्राणीको।
तर म सीतालाई प्रेम गर्छु।
हो, रामकी पत्नी सीतालाई प्रेम गर्छु म। उनलाई पाउन चाहन्छु। तर, उनी भने रामलाई असाध्यै प्रेम गर्छिन्।
म देवराज इन्द्र हुँ नि त ! त्यसैले मैले नै सबै कुरा भोग्न पाउनुपर्छ भन्ने लाग्छ मलाई। संसारका हरेक सुन्दर वस्तुमाथि मेरो आधिपत्य कायम होस् भन्ने लाग्छ मलाई। उफ् ! म किन आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सक्दिनँ ? मलाई अप्सराहरूको शरीरबाट आउने वासना मन पर्छ। मलाई सुनका असर्फीहरूबाट आउने सुगन्ध मन पर्छ। मलाई सिंहासनबाट आउने न्यानो मन पर्छ। सोमरसको स्वाद मन पर्छ।
मेरो यस्तो बानी मेरा भाइहरूलाई मनै परेको थिएन। तर, मैले तिनीहरूलाई ठेगान लगाएँ। वरुणलाई जलको देउता बनाइदिएँ। अर्कोलाई सूर्य बनाएर आकाशमा युगयुगान्तर सम्मका लागि झुन्ड्याइदिएँ। उनीहरू पनि खुसी भए। अन्ततः शक्ति र सत्ता पाएपछि खुसी नहुने को रहेछ र ? सबलाई सिंहासन चाहिएको छ। सबलाई इन्द्र बन्नु छ।
०००
प्रिय लेखक ! तिमीलाई थाहा छ, विद्वान्हरूले भनेझैं चौध इन्द्रमध्ये एक हुँ म। यसको अर्थ हो, सृष्टिमा इन्द्रहरू पनि भए र ती सबै मजस्तै सत्तासुखका भोगी भए। तिम्रो सहरमा पनि अनेक इन्द्रहरू छन्। जनताको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेर जो–जो तिम्रो सहरको सिंहासनमा बसे, बिस्तारै इन्द्र बनिहाले र जनताका आशा, विश्वास र सपनाहरूसित अनेक छल गर्न थालिहाले। ओ लेखक ! अब तिमी यो नियतिलाई स्वीकार गर र सत्तामा सुशोभित हुने हरेक इन्द्रको अभिनन्दनमा कम्तीमा एक–एक थान कविता अवश्य लेख्ने गर ! नत्र तिमी सधैं एक असन्तोषी लेखक ठहरिनेछौ र सत्ताले प्रदान गर्ने अनेक मानपदवी र अलंकारबाट सुशोभित हुने सबै अवसर गुमाउनेछौ।
तिम्रो सहरमा त्यति बेला रेल र पानीजहाजको चर्चा चलिरहेको थियो। म भने हालै बालुवाटारस्थित प्रधानमन्त्री निवासको सिंहासनमा बस्न थालेका नयाँ इन्द्रलाई गुप्त मन्त्रणा दिन यस मत्र्यलोकमा आएको थिएँ। यी नयाँ इन्द्र पनि मबाट अत्यधिक प्रभावित थिए र मजस्तै सर्वशक्तिमान बन्न चाहन्थे। उनी पनि मजस्तै कोही पनि आफूभन्दा शक्तिमान नहुन् भन्ने चाहन्थे। कसैले त्यस्तो चेष्टा गरेमा त्यस्ता साधु या देवताहरूलाई मैले अप्सराको प्रयोग गरेर भ्रष्ट बनाएजस्तै उनी पनि आफ्ना विरोधीलाई अनेक साम, दाम, दण्ड प्रयोग गरेर तह लगाउन माहिर थिए। पछिल्लो समय तिमीले प्रिय ठानेका तर उनका प्रखर आलोचक कवि लेखकलाई पनि उनले आफ्नो प्रखर भक्त बनाइसकेका थिए र तिमी जिल्ल परिरहेका थियौ। तर, उनी तिम्रो देशका अधिकांश बुद्धिजीवीहरूसित भने रुष्ट थिए। बुद्धिजीवीहरू कि त मौन बसून् कि भने राष्ट्रवादका नाममा रेल, रकेट र पानीजहाजका मात्र कुरा गरून् भन्ने चाहन्थे उनी।
नयाँ इन्द्रलाई शक्ति आर्जनका कतिपय गुह्य जानकारीहरू दिएपश्चात् म सहर भ्रमणमा लागेँ। यसपटक मैले मेरो वाहन सेतो हात्ती ल्याएको थिइनँ। आफ्नो वज्र पनि स्वर्गमै छाडेर आएको थिएँ। मुकुटm आभूषण लगायतका गह्रुँगा सामग्रीहरू पनि स्वर्गकै लकरमा राखेर आएकाले यसपटक भ्रमणका लागि म सहज स्थितिमा थिएँ। उसो त धुलो, धुवाँ र फोहरले तिम्रो सहर घुम्नलायक कहाँ रहेको थियो र ! तर, तिम्रा इन्द्रजीले दिएको भव्य वातानुकुलित गाडीमा म धुलो, धुवाँ र फोहरको दुर्गन्धबाट सजिलै जोगिने भएपछि मलाई तिम्रो सहर घुम्न कुनै आपत्ति भएन।
म सवार भएको वातानुकुलित गाडी बालुवाटारको प्रधानमन्त्री निवासबाट फुत्त निस्कियो र द्रुत गतिमा महाराजगन्जतिर लाग्यो। तर, गाडी शिक्षण अस्पतालतिर नलागेर देब्रे मोडियो र एकैछिनमा राष्ट्रपति भवनलाई मेरो दाहिने पारेर लाजिम्पाटको दिशातिर दौडियो। राष्ट्रपति भवनभन्दा चारपाँच सय मिटर अगाडि पुगेपछि दाहिने तिरको सडकपेटीमा मैले अचानक सीतालाई देखेको थिएँ। मेरो मन ठाउँको ठाउँ स्थिर भएको थियो। मेरा इन्द्रियहरू अचानक चलायमान भएका थिए।
त्यो तिमी सधैं प्रातः भ्रमणमा निस्कने बाटो नै हो। आफ्नो स्वास्थ्य राम्रो बनाउन तिमी त्यही सडकमा कहिले दौडिरहेका हुन्छौ र कहिले द्रुत गतिमा हिँडिरहेका हुन्छौ। तर, तिमी हिँड्ने बाटोछेउमै भेटिने त्यति राम्री स्त्रीलाई कहिल्यै देखेका थियौ तिमीले ? अहँ, तिमीले देखेकै रहेनछौ। अथवा, देखेर पनि तिमीले उनको सुन्दरतालाई बेवास्ता गरेका हुनसक्छ। हरेक विषयमा राजनीति एवं सिस्टमका विकृति र विसंगति खोज्दाखोज्दै कतै तिम्रो चेतनाले सुन्दरतालाई देख्नै छाडेको त हैन ? आफ्नो चेतनाबारे पुनर्विचार गर लेखक !
सीताजस्ती अथाह सुन्दरीलाई नदेख्नु या उनको सुन्दरतालाई नबुझ्नु तिम्रो र यहाँका सबै सहरवासीको दुर्भाग्य हो। तिमीहरू अब्बल दर्जाका अभागी हौ। उति बेला तीनै लोकमा सबैभन्दा सुन्दर मानिने अहिल्या, जसलाई मैले छलपूर्वक उनकै पति अर्थात् गौतम ऋषिको रूप धारण गरेर भोगेको थिएँ, उनी पनि तिम्रो सहरकी सीताजति सुन्दर थिइनन्। मेनकालगायत स्वर्गलोकका छवटै अप्सरा यी सीताको पाउमा पाउजू बाँधिदिन पनि लायक थिएनन्।
मैले देख्दा सीता फुटपाथमा मकै पोलिरहेकी थिइन् र केही ग्राहक उनीसित पोलेको मकै किनिरहेका थिए। म गाडीबाट ओर्लिएँ र उनीनेर गएँ। उनले मलाई देखिन् र युगौंदेखि चिनेझैं मुस्कुराइन्। मलाई शंका भयो, कतै रूप बदलिएर मेरो चियो गर्न तिम्रो सहरमा सुटुक्क आएकी उनी मेरी पत्नी इन्द्राणी त होइनन् ?
०००
अचेल राम कहाँ छन् ? तिमीलाई थाहा छ ?
तिमी आफ्नो समयका अनेक रामका कथा लेख्छौ र भुइँमान्छेका कथा लेखेँ भनेर दंग पर्छौ। मैले त रामलाई भेटेकै छु। तिम्रै सहरमा भेटेको छु। तिम्रो सहरको राम कसैले उनको कथा लेखिदिने दिनको प्रतीक्षा गर्दैनन्। उनी त बिहान झिसमिसेमै उठ्छन् र पानीपोखरीको ओरालो हुँदै हतारहतार लैनचौर पुग्छन्। तिमी त्यही बाटोबाट प्रातः भ्रमणमा हिँड्दा उनी घर, होटल र छेउछाउका भट्टी पसलबाट ल्याएर थुपारिएका फोहर कुरेर बसिसकेका हुन्छन्। फोहर खान आएका कागहरू धपाइरहेका हुन्छन्।
उनलाई त्यो फोहरको थुप्रोबीच देख्दा विश्वासै लाग्दैन, उनी त्यही राम हुन्, जो कुनै बखत मर्यादा पुरुषोत्तम भनेर तीनै लोकमा प्रसिद्ध थिए र जसले कुनै बेला रावणको बध गरेका थिए। तर, नियतिले आज उनलाई शक्तिमान सम्राट्बाट लैनचौरको फोहोर कुरेर बस्ने लाचार मनुवा बनाइदिएको थियो। समयको खेला हो यो। तर, तिम्रो सहरको सिंहासनमा बसेका इन्द्र यस्तो खेला बुझ्दैनन्। उनलाई समयले कुनै पनि बेला पल्टी मार्न सक्छ र सम्राट् बन्न चाहने उनको सपनालाई क्षतविक्षत पारेर यसरी लैनचौर या भाटभटेनीतिरको फोहरमैलानिर उभ्याइदिन सक्छ भन्ने कुनै चेत छैन। उनी आफैंले निर्माण गरेको भ्रमको वृत्तमा कैद छन्। मैले यो कुरा तिम्रो सहरका नयाँ इन्द्रलाई सम्झाउन सक्थेँ। तर, म त देउता हुँ। देउताले भक्तलाई आफ्ना सबै सूत्र हस्तान्तरण गर्दैन। वरदान त दिन्छ देउताले। तर, श्रापका लागि केही छिद्र खाली नै राखिदिन्छ।
देउताहरू चलाख हुन्छन्।
०००
राम झिसमिसेमै फोहर कुर्न जानुको खास कारण छ। त्यो कारण उनको रोजीरोटीसित जोडिएको छ। उनी समयमै पुगेनन् भने त्यहाँ फोहर खोतल्न अरू राम, लक्ष्मण, भरत या शत्रुघ्नहरू पुगिसकेका हुन्छन्। तिनले फोहर तितरबितर पारेर प्लास्टिकहरू बटुलिसकेका हुन्छन् र बटुलेका प्लास्टिकहरू कवाडीलाई बेचेर त्यो पैसाले कुनै भट्टीमा रक्सी खान बसिसकेका हुन्छन्। राम त्यो अवसर अरूलाई दिन चाहँदैनन्। त्यसैले उनी अरूहरू पुग्नुभन्दा अगावै त्यहाँ पुगिसक्छन्। पुग्नासाथ उनले फोहर खोतल्न थालिसक्छन्। छेउछाउका होटल र रेस्टुरेन्टले प्लास्टिकमा पोको पारेर फालेका ग्राहकका परिकार र बिक्री नभएर उब्रिएका बासी रोटी, भात र पुलाउ उनी हतारहतार प्लास्टिकबाट झिक्छन्। झन्डैझन्डै कुहिन थालिसकेका ती खानेकुरालाई उनले आफूसँग ल्याएको सिमेन्टको बोरामा भर्छन्। एकैछिनमा एउटा रिक्सा आउँछ र उनलाई त्यो फोहोरको बोराबापत पच्चीस रुपियाँ दिन्छ। रिक्सावालले त्यो फोहोरलाई सोह्रखुट्टेको एउटा भट्टीमा पचास रुपियाँमा बेच्छ। भट्टीवालले त्यसबाट रक्सी बनाउँछ। साँझतिर रामले त्यही रक्सीका लागि सय रुपियाँ खर्च गर्छ र मातेर घर फर्किन्छ। श्रम र शोषणको यो अर्थशास्त्र रामले बुझेका छैनन्। बस्, त्यो अर्थशास्त्रको जालमा मज्जाले फसेका छन्।
घर आएर सीतालाई भकुर्छन् रामले। आमालाई बिनाकारण कुटेको देखेर लवकुशहरू रोइरहन्छन्। उनीहरू पनि लाचार छन् अब। अब उनीहरू अश्वमेघको घोडालाई नियन्त्रणमा लिएर रामसित युद्ध गर्न सक्दैनन्। कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र र कहिले गणतन्त्रका नाममा उनीहरूले आफ्नो शक्ति र सामथ्र्य संसद्का अनेक चुनावपछि पैदा हुने अनेक इन्द्रलाई जिम्मा लगाएर शक्तिहीन भइसकेका छन्।
राम पनि त्यसरी नै शक्तिहीन हुनुको पीडामा पक्का जँड्याहा भइसकेका छन्।
रामसित शक्ति छैन। लक्ष्मण, भरत र शत्रुघ्नहरूसित शक्ति छैन। सीतासित शक्ति छैन। लवकुशहरूसित शक्ति छैन। तिम्रो सहरमा अब शक्ति कि बालुवाटारको सिंहासनमा बस्ने इन्द्रसित छ कि रामको साथ छाडेर सत्ताको चाकरीमा लागेका अनेक हनुमानहरूसित छ।
०००
यी रामले पनि के गरून् ?
जनयुद्ध सकिएपछि नेपालमा शान्ति आउँछ र उनीजस्ताले सहज किसिमले काम गर्न पाउँछन् भन्ने सोचे। पाएनन्। गणतन्त्र आएपछि उनीजस्ता गरिब निमुखाका दिन आउँछन् भनेर खुसी भए। यसबीच धेरैपटक कुकुरको दिन आयो। कुकुरको पूजा भयो। कागको पनि दिन आयो। त्यसले पनि काग तिहारमा मीठोमीठो खान पायो। गाई र गोरुका दिन पनि आए। विषालु सर्पका पनि दिन आए। तर, सोझा रामहरूको दिन आउँदै आएन।
‘जनयुद्ध सकियोस्। अनि नेपालमा विकास हुन्छ। कलकारखानाहरू खुल्छन्। गरिबहरूको पनि हिस्सेदारी हुनेछ ती कलकारखानामा। दिनरात मेहनत गरेपछि मसित प्रशस्त पैसा हुनेछ। तँलाई सुनको तिलहरी किनिदिनेछु।’
सीतासित यस्तो वाचा गरेका थिए रामले। अहँ, उनले त्यो वाचा पूरा गर्न सकेनन्।
‘गणतन्त्र आएपछि नेपालबाट सबै खालका शोषक सामन्तीहरू सकिनेछन्। तिनका जग्गाजमिन जनताका हुनेछन्। अलिकति जमिन र एउटा सानो घर हाम्रो पनि हुनेछ। हामी सबै त्यही घरमा बसौंला।’
लवकुशलाई पनि रामले यस्तै सपना देखाएका थिए। तर, त्यो सपना पनि पूरा भएन।
उनी गरिबको गरिब नै रहे। फोहर बटुल्न अभिशप्त भए। यति राम्री सीता फुटपाथमा मकै पोलेर बस्न बाध्य भइन्। तिम्रा साथी कविहरूले ‘भविष्यमा देश हाँक्ने बालकहरू’ शीर्षकमा कति मीठा कविता लेख्थे ! तर, तिनका कविताका लवकुशहरू प्लास्टिक बटुल्दाबटुल्दै डेन्ड्राइट सुँघेर भोक बिर्सन विवश भए।
प्रिय लेखक ! तिमी आफ्ना कवि साथीहरूलाई सत्ताको ताबेदारी र चाकडी गरेर पुरस्कृत हुनुअघि कृपया कविताका विम्बहरू परिवर्तन गर्न भनिदेऊ ! भनिदेऊ, अब फूलका कविता लेखून् तिनीहरूले। हिमालका कविता लेखून्। तर, मान्छेका कविता नलेखून्। अब तिनका कविताहरू पहिलेजस्तो विश्वसनीय हुनेछैनन्। इतिहासले गर्ने कठोर समालोचनामा तिनको लेखन पत्रु साबित हुनेछ।
०००
तिम्रा प्रधानमन्त्रीले समृद्धिका टनका टन सपनाहरू बोकाएर पठाएको एउटा रकेट अन्तरिक्षमा छिरिसकेको थियो। जनताहरू रकेट देखिन्छ कि भनी आकाशतिर हेरिरहेका थिए। राम झिसमिसेमै प्लास्टिक बटुल्न निस्किसकेका थिए। सीता फुटपाथमा मकै पोल्ने सुरसार गरिरहेकी थिइन्।
‘रेल आयो भने के हुन्छ ? ’
सीताले एक दिन सोधेकी थिइन् आफ्ना रामसित यो प्रश्न। रामलाई रेल आएर के हुन्छ भन्ने थाहै थिएन। उनले अलिकति अनुमान गरे र भने, ‘रेलमा विदेशबाट राम्रा मान्छेहरू आउँछन्। तिनले प्लास्टिकका झोलामा मीठामीठा खानेकुरा ल्याएका हुन्छन्। तिनले फालेका प्लास्टिक हामी बटुल्न पाउँछौं। तिनले फालेका खानेकुरा बटुलेर हामी भट्टीमा बेच्न पाउँछौं।’
कुरो भट्टीमै पुगेपछि सीता उदास भएकी थिइन्। रामले भट्टीलाई रक्सी बनाउन फोहोर खानाहरू बेच्छन्। त्यही पैसाले त्यही फोहोरको रक्सी खाएर आउँछन् र उनलाई मर्ने गरी कुट्छन्। त्यो युगमा पनि आगोमै होमिएर अग्निपरीक्षा दिनु परेको थियो सीताले। यो युगमा पनि उनको जिन्दगी अभावको आगोमै होमिएको छ।
सीतालाई कुनै युगमा सुख छैन। सीतालाई कुनै युगमा चैन छैन।
लोकतन्त्र, गणतन्त्र र समाज रुपान्तरण। बस्, यस्ता शब्द थाहा पाइन् सीताले। तर, ती शब्दले कुनै खुसी बोकेर आएनन् सीताको जिन्दगीमा। मैले सोधेको थिएँ तिम्रा इन्द्रसित, ‘तपाईंले आफ्ना जनताका निम्ति केही गर्ने सोच बनाउनुभएको छ ? ’
जवाफमा उनी मुसुक्क हाँसे र भने, ‘अन्तरिक्षमा हाम्रो निजी रकेट उड्न थालेपछि सब ठीक हुन्छ। अन्तरिक्षमा धनीगरिब सब बराबर हुनेछन्। सबैले एउटै ब्रान्डको पिज्जा खान पाउनेछन्। सबैले पेटभरि खान पाउनेछन् केएफसीको फ्राइड चिकेन।’
०००
मलाई देखेर मकै पोलिरहेकी सीता मुस्कुराएकी थिइन्। उनको मुस्कानले मेरो इन्द्रियलाई अझै गतिशील बनाउन खोज्दै थिए।
‘मकै खानुहुन्छ देवराज ? ’ सोधिन् सीताले।
‘देऊ, खान्छु सीते।’
उनले बस्नका लागि मेरोसामु प्लास्टिकको थोत्रो स्टुल तेस्र्याइदिइन्। त्यही स्टुलमा बसेर मैले सीताले दिएको तातो मकै छोडाउन थालेँ। यिनी मेरो चियो गर्न रूप बदलेर आएकी इन्द्राणी होइनन्, सीता नै हुन्। अन्ततः म विश्वस्त भएँ। मलाई रामका बारेमा थाहा नभएको केही थिएन, तर पनि वार्तालाप अगाडि बढाउन मैले केही बोल्नु या सोध्नु जरुरी थियो। सोधेँ, ‘राम अचेल के गर्छन् ? ’
मकै पोल्दै गरेकी सीताको अनुहार अँध्यारो भयो, ‘रक्सी खान्छन्, सम्भोग गर्छन् र मलाई कुट्छन्।’
त्यति कुटाइ खाँदा पनि र युगौंदेखि एउटा जँड्याहाको भोग्या भैरहँदा पनि सीताको सुन्दरतामा कुनै कमी आएको थिएन।
मलाई त्यो सुन्दरतालाई पाउनु थियो। भोग्नु थियो।
‘देवराज इन्द्र ! के तिमीले मलाई अलिकति सहयोग गर्न सक्छौ ? लवकुशहरूलाई डेन्ड्राइटको कुलतबाट छुटाएर कुनै राम्रो विद्यालयमा पढाउनु छ। मेरो भविष्य त यस्तै भइहाल्यो। उनीहरूको भविष्य राम्रो होस्। नत्र यिनीहरू पनि लक्ष्मण र भरतजस्तै खाडी जान विवश हुनेछन्। केही दिनअघि मात्र खाडी गएका शत्रुघ्न काठको बाकसमा फर्किए। म मेरा सन्तानलाई त्यसरी गुमाउन चाहन्नँ।’
सीताले आग्रह गरिन् मसित।
‘हुन्छ, म तिम्रो कल्याण गर्छु। अवश्य गर्छु।’
मैले तिम्री सहरकी सीतासित वाचा गरेँ र तत्काल सोधेँ, ‘तर, त्यसका लागि तिमीले मलाई के दिन्छ्यौ ? ’
‘पोलेको मकै’, जवाफ दिइन् सीताले र अगाडि भनिन्, ‘मसित दिनलाई योबाहेक केही पनि त छैन।’
‘दिनलाई त तिमीसित तिम्रो शरीर पनि छ सीते। रूप र यौवन पनि छ नि’, लाजै पचाएर भनेँ मैले।
‘यो त मर्यादा पुरुषोत्तम रामका लागि मात्र हो।’
उनले निधारबाट खल्खली बगिरहेको पसिना पुछ्दै संक्षिप्त जवाफ दिइन् र पूर्ववत् मकै पोल्न थालिन्।
०००
एक साँझको कुरा हो। रेल चल्यो नेपालमा। त्यही रेलमा चढेर राजधानीमा झ¥यौं तिम्रो प्रधानमन्त्री र म। तर, यसपटक मैले रामको रूप धारण गरेको थिएँ। बालुवाटार जक्सनमा रेलबाट ओर्लिएपछि मैले नजिकै उभिइरहेको मोनोरेल समातेँ र सरासर लागेँ लैनचौरतिर। अब त देशमा पानीजहाज आइसकेको थियो। रेल पनि आइसकेको थियो। भोलि नै प्रधानमन्त्रीले नेपालको पहिलो निजी अन्तरिक्ष यान आकाशमा पठाउँदै थिए। तर, यी सबै काण्ड भइसक्दा पनि सीता त्यही ठाउँमा थिइन्। मकै पोलिरहेकै स्थितिमा। पसिना पुछ्दै।
मलाई देखेर उनले राम नै आए भन्ने ठानिन्। उनी मज्जाले झुक्किइन्। सीताहरूलाई झुक्याउन कति सजिलो छ !
‘हेर त सीते, म कति परिवर्तन भएको छु ! अब म पहिलेजस्तो फोहोरी र जँड्याहा छैन। म सुध्रिसकेको छु। म भर्खर यो सहरको प्रधानमन्त्रीसित एउटै रेलमा चढेर आउँदैछु। उनले अब नेपाल समृद्ध हुन्छ भनेका छन्।’
मैले फकाएँ सीतालाई।
‘समृद्ध नेपालमा तिमीले प्लास्टिक बटुल्न पर्छ कि पर्दैन ? मैले मकै पोल्नुपर्छ कि पर्दैन् ? लवकुशहरूले डेन्ड्राइट सुँघेर बस्नुपर्छ कि पर्दैन ? ’ सोधिन् सीताले एकसाथ अनेक प्रश्न।
‘पर्दैन। हामी सबै चिटिक्कको घरमा बसेर पिज्जा खान पाउँछौं। केएफसीको तारेको कुखुरा पनि खान पाउँछौं। प्रधानमन्त्रीले वाचा गरेका छन्।’
सीता खुसी भइन्। मुसुक्क हाँसिन्। उनी अहिल्याभन्दा हजार गुना सुन्दर देखिइन्।
‘आज म निकै खुसी छु सीते। हाम्रा समृद्धिका सपनाहरू अब चाँडै पूरा हुँदैछन्। यही खुसीमा हामी कोठामा जाऊँ र उन्मुक्त भएर प्रेम गरूँ।’
सीताले मेरो प्रेम निवेदनलाई टार्न सकिनन्। पोल्दापोल्दैको मकै छोडेर उनले म अर्थात् नक्कली रामलाई आफ्नो कोठामा लगिन्।
सक्कली राम त प्लास्टिक र फोहर बटुल्न सधैंझैं झिसमिसेमै हिँडिसकेका थिए। उनी त अब राति मातेर मात्र फर्कनेछन्। तर, आफ्नो शरीर भोग गर्न दिँदा पनि सीताले म छली इन्द्र हुँ भन्ने थाहै पाइनन्।
म सीताको यौवन भोग गरेर तृप्त भएँ र मध्यरातमा तिम्रो प्रधानमन्त्री अर्थात् नयाँ इन्द्रको रात्रिभोजमा सहभागी भएँ। केही बेरमै नेपालको पहिलो अन्तरिक्ष यानको स्विच थिच्नेवाला थिए तिम्रा प्रधानमन्त्रीले। जनतालाई महँगो यात्रा शुल्क लिएर अन्तरिक्ष पु¥याउने ठेक्का लिन केही माफियाका बादशाहहरू पनि रात्रिभोजमा सरिक थिए। तिम्रा प्रधानमन्त्रीलगायत त्यहाँ आएका सबैसित तिनका घरपालुवा कुकुर पनि आएका थिए। त्यहाँ कुकुर बढी थिए कि मानिस, यो छुट्याउन बहुतै गाह्रो थियो।
मध्यरातमै रक्सीले मातेर राम फेरि कोठामा आए। उनले फेरि सीतालाई कुटे। अनि मात्र सीताले आफूमाथि म अर्थात् देवराज इन्द्रले छल गरेको थाहा पाइन्।
तर, उनी रोइनन्। कराइनन्। किनभने अब सबै खालका सपना उनको आँखामै मरिसकेका थिए। मरेका सपनाहरूले उनको संवेदनालाई पनि मृतप्रायः बनाइसकेको थियो। बरु चुपचाप दलिनतिर हेरेर कामना गर्न थालिन्, ‘एक न एक दिन असल इन्द्र आउनेछ र मसित कुनै छल नगरेर मलाई र मेरा सन्ततीलाई सुखी जीवनको वरदान दिएर जानेछ।’
बिहान भइसकेको थियो। तिम्रा प्रधानमन्त्रीले समृद्धिका टनका टन सपनाहरू बोकाएर पठाएको एउटा रकेट अन्तरिक्षमा छिरिसकेको थियो। जनता रकेट देखिन्छ कि भनी आकाशतिर हेरिरहेका थिए। राम झिसमिसेमै प्लास्टिक बटुल्न निस्किसकेका थिए। सीता फुटपाथमा मकै पोल्ने सुरसार गरिरहेकी थिइन्।
तिमी सीताले मकै पोलेकै ठाउँ हुँदै प्रातः भ्रमणमा लैनचौरतिर जाँदै थियौ। बालुवाटारको रात्रिभोजबाट अघाएर निस्किएका केही थान रेबिजग्रस्त कुकुर रातिदेखि नै सहरभरि आतंक मच्चाउँदै हिँडिरहेका थिए।
तिमी फोहोरको थुप्रोबाट प्लास्टिक र कुहिएका खानाहरू बटुल्दै गरेका रामनिर के पुग्दै थियौ, एउटा कुकुरले तिम्रो तिघ्रामा क्याप्पै टोकिदिएको थियो। तिमी तत्काल रेबिजको सुई लगाउन टेकु अस्पताल पुगेका थियौ।
टेकुमा तिमीले बालुवाटार तिरबाट हजारौं रंगीन बेलुनहरू तिम्रो सहरको आकाशमा उडिरहेको देख्यौ। विगतदेखि अहिलेसम्मका अनेक सत्ता र सरकारले जनतालाई देखाएका सपनाहरू यति बेला रंगीन बेलुन भएर उडिरहेका थिए।
रेबिजको सुई लगाउने लाइनमा तिमीसँगै सारा सहर उभिएको थियो। सबैले आआफ्ना निधारमा हत्केलाको छाता बनाएका थिए र उडिरहेका बेलुनतिर हेरिरहेका थिए। तिमी पनि त्यसरी नै आकाशतिर हेरिरहेका थियौ।
सीता पनि त्यसरी नै हेरिरहेकी थिइन्।
राम पनि त्यसरी नै हेरिरहेका थिए।
लवकुशहरूले भने हेरिरहेका थिएनन्। उनीहरूको आँखामा विभिन्न सरकार र सत्ताले उडाउने गरेका रंगीन बेलुनप्रति अब कुनै आकर्षण थिएन। उनीहरूले बुझिसकेका थिए, हरेकपटक रूप बदली बदली एउटा छली इन्द्र आएर खुसुक्क बालुवाटारको सिंहासनमा बस्छ र उनीहरूका निम्ति सपनाहरूको बेलुन उडाएर जान्छ।
हो, यो छल अब उनीहरूले बुझिसकेका छन्। यसरी बुझ्नु सामान्य कुरा होइन, यो समयको सबैभन्दा खतरनाक कुरा हो।