किन लुकाइयो मधेश आन्दोलन छानविन प्रतिवेदन ?

किन लुकाइयो मधेश आन्दोलन छानविन प्रतिवेदन ?

काठमाडौं : सरकारले मधेश आन्दोलनका बेला भएका घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो गोप्य राखेको छ । आयोगले नौ महिनाअगाडि नै उक्त प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

 
आयोगले पीडितबाट तीन हजार दुई सय ६४ वटा उजुरी लिएर सत्य तथ्य छानविन गरेको छ । तराईका १९ वटा जिल्लाका पीडित, नागरिक समाज र बुद्धिजीविसँगको अन्तक्रियाबाट तराईको आन्दोलन र समाधानको पाटो प्रतिवेदनमा सुझाइएको छ ।
 
‘जाँच बुझ ऐन २०२६ अनुसार आयोग गठन भएकाले कसैलाई दोष देखाइएको छैन । सरकारलाई सत्य तथ्य पत्ता लगाएर कारबाही गर्न चाहिँ भनेका छौं’, आयोगका अध्यक्ष लालले अन्नपूर्णसँग भने, ‘अभियोजन गर्ने काम चाहिँ हामीले गरेका छैनौं । त्यो सरकारका अंगले नै गर्नुपर्छ । तर, यस प्रतिवेदनले अपराधको अनुसन्धान गर्न सघाउँछ ।’ 

आन्दोलनका क्रममा १० जना प्रहरी र ५६ जना सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये ५२ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ । देउवा सरकारबाट बाहिरिनुभन्दा पाँच दिन अगाडिमात्रै अायोगले प्रतिवेदन सरकारलाई बुझाइएको थियो ।

त्यतिबेला सरकारले प्रतिवेदन बुझ्नेमात्रै काम गरेको र नयाँ सरकारले कार्यान्वयनमा लैजाने बताइए पनि सरकार गठन भएको यतिका समय भइसक्दा पनि चासो दिएको छैन । ‘तराईको माग समानताका लागि हो । पीडितलाई न्याय र अधिकारको माग समयमै सम्बोधन गर्न पनि आवश्यक छ’, अध्यक्ष लालले थपे ।

दोस्रो संविधान सभाबाट संविधान निर्माण हुने क्रममा मधेशको अपेक्षा पूरा हुन नसक्ने भन्दै मधेश र थारूहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलहरूले आन्दोलन गरेका थिए ।  सो आन्दोलनमा हिंसा र हत्या आगजनी र तोडफोड भएका थिए ।
 
सरकारले तराई, मधेश र थारूहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी तोडफोडलगायत घटनाको सत्य तथ्य छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । 

सर्वाेच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छ सदस्यीय आयोगलाई छ महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । तोकिएको समयमा आयोगले काम नसकेपछि सरकारले समय थप गरेको थियो । १४ महिना लगाएर आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो ।  

 
पीडितलाई खै न्याय ? 
 
पीडितहरूले सूचनाको हक प्रयोग गरी प्रतिवेदन गोप्य राखियो भन्दै प्रधानमन्त्री कार्यालयमा पुस ९ र गृह मन्त्रालयमा पुस ३० मा निवेदन दिएका थिए । ती निकायबाट सूचना नपाएपछि राष्ट्रिय सूचना आयोगमा उनीहरुले दुई पटकसम्म पुनरावेदन गरे । तर उनीहरुले अहिलेसम्म सूचना पाउन सकिरहेका छैनन् ।

पीडित शशिधर पाण्डेले भने, ‘आन्दोलनको क्रममा मैले घरमा बसिरहेकी पत्नीलाई  अनाहकमा गुमाएँ । दोषीलाई के कस्तो कारबाहीको सिफारिस गरिएको रहेछ भनेर सूचनाका हक प्रयोग गरी प्रतिवेदन पनि खोजेँ तर न प्रतिवेदन पाएँ न न्याय नै ।’ सरकारले १० लाख दिँदैमा र सहिद घोषणा गर्दैमा आफूले न्याय नपाउने उनले गुनासो पाेखे।
 
दोषीलाई कारबाही नहुँदा खुलेलाम हिँड्ने अवस्था सृजना भएको तराई मानव अधिकार रक्षक सञ्जालका रक्षाराम हरिजनले बताए । राष्ट्रिय जनता पार्टीले साउन ३ गते प्रधानमन्त्रीलाई भेटेरै राजपा सांसद् रेशम चौधरीलाई सांसद्को प्रमाणपत्र दिन र सपथ खुवाउन, थुनामा रहेका मधेश र थारुहट आन्दोलनका क्रममा मुद्दा खेपिरहेका आरोपितहरुको मुद्दा फिर्ता  लिन ज्ञापन पत्रमार्फत् माग गरेका छन् ।

गम्भीर मानव अधिकार उल्लघंनका यस्ता घटनामा राजनीतिक संरक्षण दिएर कारबाही नहुने स्थिति सृजना हुनुले  दण्डहीनता बढ्ने भन्दै मानव अधिकारकर्मीहरुले  चिन्ता प्रकट गरेका छन् । मानव अधिकार आयोगका एक पूर्वसदस्य भन्छन्, ‘सरकारको कानुनको शासन र त्यस अनुरुपको मूल्य मान्यता माथि नै प्रश्न तेर्सिएको छ ।’
 
मधेशको आन्दोलन र ती पार्टीहरूको मागबमोजिम जाँचबुझ आयोग बने पनि पनि अन्य आयोग झैं प्रतिवेदन बनाउने थन्काउने मात्रै सरकारले गरेकाेमा अधिकारकर्मीदेखि पीडितहरू चिन्ता प्रकट गरिरहेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.