कविता बनिन् डान्सिङ सुपरस्टार

कविता बनिन् डान्सिङ सुपरस्टार

काठमाडौं : दिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो । बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो भने सांगीतिक क्षेत्रका हस्तीहरूको उपस्थिति र नृत्यकारहरूको रौनकले गरमागरम बनेको थियो । सबैजना बुगीवुगी कार्यक्रमको टाइटल विजेता थाहा पाउन व्यग्र प्रतीक्षामा थिए । स्टुडियोमा रमाइलो माहोल छाएको थियो ।

सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भइन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन् ।

त्यसैगरी प्रगति पुन फस्ट रनरअप बनेकी छन् । यससँगै उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।

अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।

एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ । त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो । यसलगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुँदैछ ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।

कार्यक्रमको सुरुआतदेखि नै प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए । विजेता घोषणा कार्यक्रममा नेपाली चलचित्रका हस्तीहरू सुनिल थापा, सरोज खनाललगायत दर्जनौं कलाकारको उपस्थिति थियो ।

नजिकबाट कविता नेपाली

श्री शान्ति विद्याश्रम ललितपुरमा ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली हाल ललितपुरको पाटनमा बस्छिन् । नाच के हो भन्ने थाहा नपाउँदै नाच्न थालेकी उनलाई हातखुट्टा हल्लाउनु र उफ्रनु नै नाच हो भन्ने लाग्थ्यो । ‘स्टार आर्ट कल्चर’मा सहभागी कविता त्यहीँको गु्रप ‘द अल इन वान’ क्रुमार्फत यही क्षेत्रमा सक्रिय थिइन् ।

आमाबुवाले त नाचबाट केही हुन्न नजाऊ भनेका थिए उनलाई । कहिले सिमेन्टको काम गरेर त कहिले ज्यामी काम गरेर उनका परिवारले उनलाई पढाएका हुन् । अन्तर्जातीय विवाह गरेका कविताका आमाबुवाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।

मार्सल आर्टकी खेलाडीसमेत रहेकी कविता कलेजकी अब्बल विद्यार्थी पनि हुन् । नाचसँगै पढाइ अघि बढाउने उनको चाहना छ । उनी केही समय अगाडिसम्म मार्सल आर्ट खेल्थिन् । खेल्दाखेल्दै खुट्टामा चोट लागेपछि खेलेर अन्तर्राष्ट्रिय अवार्ड जित्ने उनको चाहना अपूरो भयो । त्यसपछि कवितालाई नाचमै केही गर्नुपर्छ भन्ने लाग्यो । ‘अवार्ड त नृत्यबाट पनि त पाइने रहेछ’, उनले आत्मविश्वास पोखिन् ।

जित्नभन्दा पनि राम्रो सिक्न र अब्बल प्रस्तुति दिन बुगीवुगीमा आएको उनले बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि यहाँ आएकी थिएँ तर एउटा राम्रो परिवार जोडेर जाँदै छु । यो नै मेरो लागि अमूल्य उपहार हो ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.