शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं : आइतबारको संसद बैठक नेपाली कांग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको निधनको शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधसभाको अर्को बैठक साउन २१ गते २ बजे बस्नेछ।
स्वास्थ्यमा अकस्मात समस्या आएपछि बिहान साढे ५ स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा पंगेनीको उपचारका क्रममा निधन भएको हो। २०७० सालको संविधानसभा निर्वाचनमा पंगेनी कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। कांग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको हो।
श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली कांग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र सोमबार अन्येष्टि गरिने छ।