लाटोकोसेरोको अवैध तस्करी बढ्दै
गुलरिया : जैविक विविधताको दृष्टिले स्वच्छ वातावरणको सूचक मानिने लाटोकोसेरो पछिल्लो समय अन्धविश्वासको चपेटाले संकटमा परेका छन्। चीन, भियतनाम, भारतलगायत मध्यपूर्वी एसियाका देशहरूमा लाटोकोसेरो पाल्दा शुभ हुने विश्वासका साथ तस्करी बढ्दै गएपछि संकटमा परेको हो।
विभिन्न धर्मका तान्त्रिकहरूले समेत लाटोकोसेरोको प्रयोग बढाएकाले लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ। विश्वमा पाईने २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइन्छन्। लाटोकोसेरोविद् राजु आचार्य भन्छन्, ‘यसको संरक्षणका लागि सरकारले कुनै प्रयास गरेको पाइदैन।’ उनले दक्षिण अफ्रिकामा सरकारले लाटोकोसेरो संरक्षणमा राम्रो प्रयास गरेको समेत उदाहरण बताए। नेपालमा सरकारीस्तरबाट यसको संरक्षणमा चासो नदिएकाले यसको जिउँदै तस्करी हुने क्रम बढेको हो।
मध्यएसियाका होटलहरूमा शुभ हुने विश्वासका साथ लाटोकोसेरो जिउँदै पाल्ने प्रचलन रहेकाले पनि यसको चोरीसिकार बढेको आचार्यले प्रस्ट्याए। नेपालमा प्रकृतिका साथीहरू नामक एक गैरसरकारी संस्थाले गरेको प्रारम्भिक अध्ययनले करिब २ हजार लाटोकोसेरो मारिने तथा अवैध व्यापार हुने देखाएको छ। तराईका समथर फाँटमा रहेका जंगल तथा ५ हजार १ सय मिटरका उचाइमा रहेका पहाडहरूमा भुइँ, घरको दलिनका प्वाल तथा रूखका धोद्रोहरूमा गुड बनाई बस्ने लाटोकोसेरो पर्यटकीय आर्कषण बन्ने गर्छन्।
विभिन्न धर्मका तान्त्रिकहरूले समेत लाटोकोसेरोको प्रयोग बढाएकाले लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ।
चीन र भियतनाममा लाटोकोसेरोको रक्सी बनाउने गरिन्छ। चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेर बनाइएको रक्सी सेवन गर्नाले वाथरोग निको हुने अन्धविश्वास छ। ‘भारतमा ठुल्ठूला तान्त्रिकहरूले झारफुक लाटोकोसेरोमार्फत गर्ने भएकाले पनि यसको जिउँदै तस्करी हुने गरेको छ, आचार्यले भने। लाटोकोसेरोकै अध्ययनका क्रममा नेपालमा ४६ जिल्ला भ्रमण गरेका आचार्यले लाटोकोसेरोपालन र मार्ने क्रम बढ्दै गएको बताए। अफ्रिका तथा मलेसियामा लाटोकोसेरोलाई मुसा मार्ने अस्त्रका रूपमा प्रयोग गरिएको पाइन्छ। एउटा लाटोकोसेरोले बच्चा कोरलेपछि हुर्काउँदासम्मको ४ महिनाको समयमा ३ हजार मुसा आहाराको रूपमा खान्छ। त्यसकारण पनि यसको संरक्षण गर्नुपर्ने आचार्यको भनाइ छ।
बर्दियामा लाटोकोसेरोको यकिन तथ्यांक नभए पनि निकुञ्ज, मध्यवर्तीक्षेत्रका जंगल, सामुदायिक वनलगायत निजी घरका रूखमा पाइने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोेज साह बताउँछन्। ‘ लाटोकोसेरो संरक्षणका लागि चोरीसिकारी ठूलो समस्या छ। तस्करहरूले गुडबाट बच्चा छोपेर घरमा पाल्ने र हुर्काएर बेच्ने गरेको पाइन्छ’, उनले भने। संरक्षण क्षेत्रभित्र कसैले लाटोकोसेरोलाई मा¥यो, पाल्यो, दुःख दियो तथा यसको व्यापार ग¥यो भने २० देखि ५० हजार जरिवाना, तीन महिनादेखि २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने संशोधित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले व्यवस्था गरेको छ।