अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना
सिंगापुर : आणविक हतियार निरस्त्रीकरणका सम्बन्धमा अमेरिकाले देखाएको ‘दबावजन्य’ व्यवहारको उत्तर कोरियाले आलोचना गरेको छ ।अमेरिकाले आणविक हतियारको निरस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियालाई आशंका गर्न र निकै दबाव दिन थालेपछि उत्तरको यस्तो भनाइ आएको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकाबन्दीका लागि दबाव कायम राख्न जोड दिएका थिए ।
सिंगापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्ध छल्न खोजेको आरोपबारे विवादास्पद भनाइ आएपछि प्योङयाङले यस्तो धारणा व्यक्त गरेको हो । गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निरस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निरस्त्रीकरणको मागप्रति उत्तर कोरिया एक्कासि सकारात्मक बनेको थियो । अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचार प्रकट गरेका थिए । अमेरिकी अधिकारीका आशावादी विचार व्यक्त हुन थालेपछि राष्ट्रसंघका केही सदस्यले नाकाबन्दीलाई लचिलो बनाएका थिए । यसबाट उत्तर कोरियालाई निरस्त्रीकरणका लागि आवश्यक दबाव नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो ।
दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान)को क्षेत्रीय मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ होले निरस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताएका हुन् । विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना नेताहरूको सोचबाट टाढा रहेका विषयलाई अमेरिकी पक्षबाट शंका गर्नु र आग्रहपूर्ण व्यवहार आउनु दुभाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ ।’ जुनमा भएको सम्झौतापछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपाय’ अवलम्बन गरेको विदेशमन्त्री रिको भनाइ थियो ।
केही समययता आएर अमेरिकाले यसप्रति सकारात्मक प्रतिक्रिया दिनुको सट्टा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कडा पार्नुपर्ने आवाज बुलन्द पार्न थालेको छ । ‘जबसम्म अमेरिकाले हाम्रा चासोका विषयलाई हटाउन इच्छा देखाउन्न, हामी एकपक्षीय तरिकाले अघि बढ्नुको अर्थ छैन’, रिले भने ।
यस पहिले सोही मञ्चमा बोल्दै अमेरिकी विदेशमन्त्री पोम्पेओले आफूहरूले उत्तर कोरियाविरुद्धको कूटनीतिक तथा आर्थिक दबाव कायम राख्नु महत्वपूर्ण भएको दाबी गरेका थिए । यद्यपि पोम्पेओले उत्तर कोरियाली निरस्त्रीकरणका सम्बन्धमा हुने प्रगतिमा आफू आशावादी रहेको पनि बताए ।
शनिबारको बैठकमा अमेरिकी प्रतिनिधिमण्डलले नेता किमलाई ट्रम्पले पठाएको चिठी विदेशमन्त्री रिलाई हस्तान्तरण गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सम्मेलनका समय अमेरिकी विदेशमन्त्री पोम्पेओले रूसप्रति संकेत गर्दै प्रतिबन्धलाई तोड्दै उत्तर कोरियाली श्रमिकलाई मस्कोले काममा लगाएको आरोप पनि लगाएका थिए । पोम्पेओको अन्य मुलुकका विदेशमन्त्रीसँगको भेटमा जहाजबाट उत्तर कोरियामा तेल ओसारिने काम रोक्नुपर्ने बताएका थिए ।
उत्तर कोरियाले धोका दिएको दाबी
संयुक्त राष्ट्रसंघको अनुसन्धान प्रतिवेदनले उत्तर कोरियाले आणविक निरस्त्रीकरणको पालना नगरेको दाबी गरेको छ । विगत ६ महिनादेखि अनुगमन गरिरहेका राष्ट्रसंघका विशेषज्ञ अधिकारीले यस्तो जानकारी दिएका हुन् । विशेषज्ञहरूले शुक्रवार एक प्रतिवेदन सुरक्षापरिषद्लाई हस्तान्तरण गरेका थिए ।
उक्त प्रतिवेदन १४९ पृष्ठको रहेको छ । ती विज्ञले भने, ‘उत्तर कोरियाले आफ्नो परमाणु र क्षेप्यास्त्र विकास गर्न रोकेको छैन । उसले सन् २०१८ मा पनि अवैध रूपमा जहाजमार्फत पेट्रोलियम पदार्थ र कोइलाको कारोबार गरी सुरक्षापरिषद्को नियम उल्लंघन गरेको छ ।’ राष्ट्रसंघस्थित उत्तर कोरियाली कूटनीतिज्ञले भने यस विषयमा कुनै धारणा प्रकट गरेनन् ।
प्रतिवेदनमा उत्तर कोरियाले सिरियासँग सैन्य सहयोग गरिरहेको र आफ्ना हतियार यमनको हुथी विद्रोहीलाई बेच्न खोजेको दाबी गरिएको छ । उत्तर कोरियाले सन् २०१७ को अक्टोबरदेखि २०१८ को मार्चसम्म १० करोड अमेरिकी डलर मूल्यका कपडा चीन, घाना, भारत, मेक्सिको, श्रीलंका, थाइल्यान्ड, टर्की र उरुग्वेलाई बेचेको खुलासा गरिएको छ ।
अवैध व्यापार गर्नका लागि उत्तर कोरियाले आफ्ना पानी जहाजमा भएका ट्र्याकिङ प्रणाली बन्द गरेको प्रतिवेदनको आरोप छ । सुरक्षापरिषद्ले सर्वसम्मत रूपमा सन् २००६ देखि नै प्रतिबन्ध लगाउन शुरु गरेको थियो । आफूले विकास गर्दै आएको परमाणु र क्षेप्यास्त्र विकास रोक्न उत्तर कोरिया बाध्य होस् भनेर कोइला, इस्पात, सिसा, टेक्सटायल र सामुद्रिक खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाइएको थियो । आणविक हतियार विकासमा सहभागी उत्तर कोरियाका वैज्ञानिकहरू सन् २०११, २०१६ र २०१७ मा सिरिया भ्रमण गरेको उल्लेख छ ।