विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक खेलाडी
नयाँदिल्ली : इङ्ल्यान्डविरुद्धको खेलमा पराजित भए पनि भारतीय टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका छन् । इङ्ल्यान्डविरुद्ध पहिलो पारीमा सतक र दोस्रो पारीमा अर्धशतक जोडेर कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
यसका साथै कोहलीले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथबाट नम्बर वानको ताज पनि खोसेका छन् । विराट कोहली नम्बर एक ब्याट्सम्यान बनेको समाचार आईसीसीले आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेको छ। आईसीसी टेस्ट र्याङकिङमा विराट कोहली ९३४ अंकसहित पहिलो नम्बरमा पुगेका हुन् ।
अस्ट्रेलियाका स्टिभ स्मिथ ९२९ अंकसहित दोस्रो नम्बरमा छन् । स्टिभन स्मिथ डिसेम्बर २०१५ देखि टेस्ट क्रिकेटमा नम्बर वान स्थानमा थिए ।
अर्कातिर भारतविरुद्धको पहिलो टेस्टमा अपराजित इङ्ल्यान्ड क्रिकेट टिमका टेस्ट कप्तान जो रूट ८६५ अंकसहित तेस्रो नम्बरमा छन् । भारतीय टिमबाट कोहलीका अलावा केबल चेतेश्वर पुजारा शीर्ष १० मा छन् । पुजारा ७९१ अंकसहित छैटौँ नम्बरमा छन् ।
विराट कोहलीले पहिलो पटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्ने गौरव हासिल गरेका छन् । साथै सात वर्षपछि कुनै पनि भारतीय ब्याट्सम्यान नम्बर १ मा पुगेका हुन् ।
यसभन्दा अघि जु २०११ मा सचिन तेन्दुलकर नम्बर १ टेस्ट ब्याट्सम्यान बनेका थिए । सचिनका अलावा टेस्ट क्रिकेटमा राहुल द्रविड़, गौतम गम्भीर, सुनिल गावस्कर, वीरेन्द्र सहवाग र दिलीप वेङ्गसरकरले नम्बर १ ब्याट्सम्यान बन्ने गौरब हासिल गरेका थिए ।