बबईको बाढीले चेतावनीको तह नाघ्यो
गुलरिया : गएरातिदेखि परेको अविरल बर्षाका कारण बबई नदीको सतह चेतावनी तहसम्म पुगेको छ । चौबीस घण्टादेखि आसपासका क्षेत्रमा बर्षा भएकाले बबई नदी (भादा) को सतहले चेतावनी तह पार गरेको हो ।
जल तथा मौसम विभागका अनुसार बबई नदी आसपासको रानीजरुवा र गुलरिया क्षेत्रमा चौबीस घण्टामा १ सय ६० मिलिमिटर भन्दा बढी बर्षा भएको हो । जसका कारणगुलरियास्थित भादापुलमा पानीको सतह ७ दशमलव ११ मिटर पुगेको छ । भादापुलमा ७ मिटर पानीको सतहलाई चेतावनी तह र ८ मिटर पानीको सतहलाई खतरा तह मानिन्छ । शारदाखोला दारेढुंगामा पनि पानीको सतह चेतावनी तह पारगरेको छ ।
बबई चेपाङ्गमा ५ दशमलव ५० मिटरलाई चेतावनी तह मानिन्छ । समाचार तयार पारुञ्जेलसम्म चेपाङ्गमा बबई नदीको सतह चेतावनी तह भन्दा कम भएकाले भादापुलमा खतराको सतह नपुग्ने भए पनि सतर्क रहनुपर्ने स्थानिय प्रशासनको आग्रह छ ।
कर्णाली नदी तटीय राजापुर क्षेत्रमा पनि अविरल बर्षा भइरहेको छ । गत २४ घण्टामा १ सय ७० मिलिमिटर बर्षा भएको छ । २४ घण्टामा १ सय ४० मिलिमिटर बर्षालाई खतरनाक मानिन्छ ।