घर निर्माणका फरक फरक मापदण्ड  : सडक वारि एउटा, पारि अर्कै

घर निर्माणका फरक फरक मापदण्ड  :  सडक वारि एउटा, पारि अर्कै

भक्तपुर : भक्तपुर दरबारस्थित तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीको घर २०७२ वैशाख १२ को भूकम्पमा भत्कियो। भक्तपुरको टौमढी नजिकैको पुख्र्यौली घर भत्किएपछि करिब दुई वर्ष उनको वास डेरामा भयो। दाजुभाइमा कुरा नमिल्दा उनले पुरानो घरको भग्नावशेषसम्म हटाउन सकेका छैनन। भूकम्पबाट घर गुमाएका छिमेकीका घरका भग्नावशेष पनि त्यत्तिकै छन्।

डेराको बसाइ अत्यास लाग्न थालेपछि यसैवर्ष मूल नाइके जोशीले सूर्यविनायक नपा ६ घलातेंमा साढे दुई आना जग्गा किने। र, त्यहीं जग्गामा अहिले घर निर्माण प्रक्रिया अघि बढाइरहेका छन्।

तर, सूर्यविनायक नपाले कूल जग्गाको ७० प्रतिशत क्षेत्रमा पनि साढे दुई तलामात्रै घर बनाउन स्वीकृति दिएपछि उनी छानोबाट खसेझैं भए। उनले नपामा चार तलाको नक्सा पेस गरेका थिए। आफ्नो जग्गासँगै हिमाल बचत तथा ऋण सहकारी संस्थाले ६ तला अग्लो घर बनाएको देखेका उनले आफूलाई चार तले घर बनाउन स्वीकृति दिने विश्वास गरेका थिए।

‘तर भुई क्षेत्र अनुपात (फार) र भवन निर्माणसम्बन्धी मापदण्डको हवाला दिँदै सूर्यविनायक नपाले साढे दुईतलामात्रै घर निर्माण गर्ने नक्सापास गरिदियो’, मूल नाइके जोशीले भने, ‘मेरै जग्गासँगैकाले ६ तले घर ठड्याउने मैले भने साढे दुई तलामा चित्त बुझाउनुपर्ने कस्तो बाध्यता ? ’

सूर्यविनायक नपाको भवन निर्माणसम्बन्धी मापदण्डले पीडित मूल नाइके जोशी प्रतिनिधि पात्रमात्रै हुन्। भक्तपुर काठमाडौं ६ लेन सडकको दक्षिण सूर्यविनायक नपा क्षेत्रमा घर बनाउने प्रक्रियामा अघि बढेका सबैले अहिले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन्।

उक्त सडकको भक्तपुर नपा क्षेत्रमा भने यस्तो समस्या छैन। भक्तपुर नपाले सूर्यविनायक क्षेत्रलाई व्यापारिक क्षेत्र मान्दै कौशी पर्खाल प्याराफिट बाहेक ५२ फिटसम्म अग्लो घर बनाउन सक्ने व्यवस्था गरेको छ।

सूर्यविनायकमात्रै होइन ६ लेन सडक उत्तर भक्तपुर नगरतर्फ सबै क्षेत्रमा उक्त नियम लागू हुन्छ। तर सूर्यविनायक नपातर्फ सबैतिर एउटै व्यवस्था छ। जसले गर्दा धेरै जग्गा हुनेले मात्रै अग्लो घर बनाउन पाउने भएका छन्।

‘साढे दुई आना जग्गामा ७० प्रतिशतमै घर बनाउँदा भक्तपुर नपामा पाँचतलासम्म जान पाइन्छ’, मूल नाइके जोशीले भने, ‘तर सूर्यविनायक नपामा भने साढे दुईतलामात्रै बनाउन पाइने व्यवस्था अन्यायपूर्ण छ।’

साढे दुई आना जग्गामा साढे दुई तलामात्रै घर बनाउँदा आफ्नो दुई दाजभाइको संयुक्त परिवारलाई कोठै नपुग्ने उनको गुनासो थियो।

यो व्यवस्थाबारे सूर्यविनायक नपामा ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।

‘सूर्यविनायक नपाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियरहरूलाई यसबारे धेरैपटक ध्यानाकर्षण गरें’, उनले थपे, ‘तर प्रमुखज्यूले नगरसभाले नै पारित गरेको भवन निर्माणसम्बन्धी मापदण्ड सजिलै परिमार्जन नहुने जवाफ दिने गरेका छन्।’

नपा प्रमुख वासुदेव थापाले यो विषयमा धेरै नगरवासीबाट गुनासो आएकाले त्यसको समाधान गर्न नपा लागिपरेको जानकारी दिए।

‘भूकम्प प्रतिरोधी घर निर्माणमा कडाइ गर्न मापदण्ड बनाएका हौं’, उनले भने, ‘तर अहिले धेरै नगरवासी समस्यामा परेको गुनासो आएका छन्। त्यसैले त्यसको सम्बोधन गर्न हामी लागिपरेका छौं।’

प्राविधिकले पनि सूर्यविनायक नपाको उक्त मापदण्ड अवैज्ञानिक र अव्यवहारिक भएको बताएका छन्। भूकम्पपछि काठमाडौं महानगरपालिकाले पनि घरको उचाइ होच्याउन लगाएकोमा अहिले हटाएको मेथड कन्सल्टेन्सीका इन्जिनियर तुलसीलाल बासुकला बताउँछन्।

तर सूर्यविनायकले अन्य नपाको नक्कल गरेर फार लगाउनु न्यायोचित नभएको उनको भनाइ थियो।

‘सूर्यविनायक क्षेत्रमा भक्तपुर नगरतर्फ एउटा र सूर्यविनायक नपातर्फ अर्को मापदण्ड हुनु व्यवहारिक होइन’, उनले भने, ‘नपा फरक भएकै कारण त्यहाँ घर बनाउने सर्वसाधारणमा विभेद हुनुहुन्न।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.