ठूलीभेरी १२ वर्षयताकै ठूलो : डोल्पा सदरमुकाम दुनै उच्च जोखिममा (फोटो)
डोल्पा (दुनै) : अविरल वर्षाको कारण डोल्पा सदरमुकाम दुनै भएर बग्ने भेरी १२ वर्षयताकै सबै भन्दा ठूलो भएको छ। पानीको सतह एक्कासी बढेपछि स्थानीयवासीहरू त्रसित भएका छन्। 'पहिला कहिल्यै पनि यसरी भेरी उर्लिएको देखेको थिइनँ', ६७ वर्षीय वर्षीय बलबहादुर रोकायाले सुनाए।
भेरी नदीको किनारामा रहेका करिब तीन दर्जनभन्दा धेरै घर, दुई दजर्न भन्दा बढी शौचालय र दुई दर्जन बढी टहरा जोखिममा छन्। हिउँदको समयमा भेरी किनार मिचेर बनाइएका घर, टहरा र शौचालय भेरीको बहाव बढेसँगै उच्च जोखिममा परेका हुन्।
सदरमुकाममा ३५० भन्दा बढी घर छन्। यहाँ २७ सरकारी कार्यालय र एक दर्जन बढी गैह्रसरकारी संस्था छन्।
दुनैको काष्ठ उद्योग नजिकै रहेका ४ घरमा पानी पसेको छ। बहाव बढेसँगै भेरीको धार बदलिएपछि ती घरको भुईँतला पानीले भरिएका छन्।
छैन खतराको पूर्व सूचना केन्द्र
भेरी किनारमा रहेको कर्णाली प्रदेशको एक मात्र जिल्ला सदरमुकाम दुनै हो। कम क्षेत्रफलमा रहेको यो सदरमुकाम भेरीको उच्च बहावहख कारण वर्षायाममा हरेक वर्ष उच्च जोखिममा रहने गर्दछ।
जोखिममा रहेपनि हालसम्म कुनैपनि खतराका पूर्व सूचना दिने यन्त्र तथा पूर्व सूचना केन्द्र भने यहाँ छैन। भेरीको पानीले केही मिनेट मात्र धार परिवर्तन गरेमा ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपर्ने स्थिति भए पनि सरकारले कुनै चासो नदिएको स्थानीय बासिन्दा लेखनाथ केसीले गुनासो गरे।
'उच्च जोखिममा छ भन्ने गरिन्छ तर भेरी नदीको किनारमा घर तथा टहरा निमार्णमा स्थानीय सरकारले हालसम्म रोक लगाउँदैन', उनले भने, 'एउटा घरमात्र क्षति भयो भने त्यसको जवाफ कस्ले दिने ?'
तटबन्ध गरिएको ठाउँ समेत चापेर भौतिक संरचना निर्माण गर्दा भेरीले नयाँ बाटो बनाउँदै गएको स्थानीय अर्जुन हिराचनको भनाई छ।
अस्पतालको बाटो बन्द
भेरीको बहाव बढेसँगै दुनै बजारबाट जिल्ला अस्पताल जाने बाटो समेत बन्द भएको छ। भेरीले धार बदलेपछि जिल्ला अस्पता र अन्य सरकारी कार्यालय जाने बाटो जोखिममा परेको हो।
जिल्ला अस्पताल लगायत जिल्ला हुलाक, जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, आयूर्वेद अस्पताल, नेपाल खाद्य संस्थान, सिँचाइ कार्यालय, नेपाल रेडक्रस सहितका अन्य सरकारी कार्यालय जाने बाटो समेत भेरीले काटेपछि समस्या आएको छ।
बाटोमा भेरीको छाल बग्न थालेपछि स्थानीय त्रसित छन्। केही दिनदेखि निरन्तर भइरहेको भारी वर्षाले भेरीमा पानीको सतह उच्च भएको छ।
स्थानीय कमल क्षेत्री भोरीको डरले राम्रोसँग सुत्न नसकेको सुनाउँछन्। 'सरकारी कार्यालय जाने बाटो छैन। एक्लै हिँड्न समेत डर छ', उनले भने, 'भेरीको गड्याङगुडुङले रातभर निन्द्रा लाग्दैन।' हालसम्म ठूलो क्षति नभए पनि जुनसुकै बेला खतरा निम्तन सक्ने डर आफूहरूमा रहेको उनी बताउँछन्।
छैनन् उद्दार सामग्री
जिल्ला विपद् ब्यवस्थापन समिति डोल्पामा प्राकृतिक विपद्का बेला उद्दारका लागि कुनै पनि सामग्री छैनन्। आवश्यक सामग्री माग गरेको महिनौँ भएपनि हालसम्म मन्त्रालयबाट ती सामग्री जिल्लामा आउन नसेको जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।
प्रजिअ थापाले स्थानीय सरकारहरू परिचालन गरी विपद् व्यवस्थापनमा तदारुकता अपनाइने बताउँछन्। त्यसका लागि आजै विपद् ब्यवस्थापन समितिको आपतकालीन बैठक बस्दैछ। 'समस्या आइपरेमा जे सामग्री छन्, त्यही प्रयोग गरौँला', उनले भने, 'प्रहरी लगाएर माइकिङ गर्छौँ र तत्काल विपद् ब्यवस्थापन समितिको बैठक बसी सतर्कता अपनाउँछौ।'
स्थानीय तहहरूमा बारम्बार पत्राचार गरेको भए पनि बेवास्ता गरिएको प्रजिअ थापाको गुनासो छ।
हेर्नुस् अन्य फोटोहरू