कर्णाली राजमार्गमा जोखिमपूर्ण यात्रा
कालिकोट : एक सातादेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग हिलाम्मे हुँँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत जुम्ला सडकखण्डको ठाउँ–ठाउँको बाटो बिग्रिएर हिलाम्मे भएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
कर्णाली प्रेदशका कालिकोट, जुम्ला, मुगुका लागि सुर्खेतबाट आउने साना तथा ठूला सवारीसाधन पनि बीचमै रोकिनुपरेको सवारीचालकले बताएका छन् । सडक हिलाम्मे भएपछि कर्णालीको कालिकोट, मुगु र जुम्लाका लागि आउने सयौं गाडीले बिहानै सुर्खेतबाट छुटे पनि बेलुका कालिकोट पुग्नै मुस्किल हुने गरेको गाडीचालक नवीन मगरले बताए । उनले कालिकोटको दही खोला, घट्टेखोला, गगने, सेरीघाट, सुनार खोला, खल्लागाड, सिम्लेगाडलगायत ठाउँमा बाटो हिलाम्मे भएपछि गाडी फस्ने समस्या भएको बताए । उनले भने, ‘सडक ठाउँ ठाउँमा हिलाम्मे भएको छ । मर्मतका नाममा सडक विभागले सडकमा परेका खाल्डा पुर्न माटो प्रयोग गर्दा सडकमा हिलो भएको हो ।
हिउँदमा यात्रा सहज हुने गरे पनि बर्खामा सुर्खेतदेखि कालिकोट पुग्नै कठिन हुने गरेको यात्रुले बताएका छन् । कर्णाली राजमार्गसहित अहिले जिल्लाका ग्रामीण सडक पनि हिलाम्मे हँुदा सवारीसाधनलगायत पैदल यात्रीलाई पनि समस्या हुने गरेको छ । जिल्लाको खाडाचक्र नगरपालिकाको करिब एक किलोमिटर सडक हिलाम्मे हँुदा पैदल यात्री मर्कामा परेका छन् । स्थानीय हीरामणि पाण्डेले सडक हिलाम्मे भएपछि बजार आउनसमेत समस्या हुने गरेको बताए ।
कर्णाली राजमार्ग स्तरोन्नतिमा कसैले ध्यान नदिँदा वर्षायाम लागेसँँगै बर्सेनि सवारीसाधन तथा यात्रुले सास्ती खेप्नुपरेको छ । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ सफल बनाउनकै लागि भए पनि कर्णाली राजमार्ग स्तरोन्नति आवश्यक भए पनि सडककै समस्याले रारा जाने आन्तरिक पर्यटकको संख्या पनि घटेको होटल व्यवसायी योगेन्द्रसिंह थापाले बताए । कर्णाली प्रदेशले कर्णाली रारा पर्यटन वर्ष मनाए पनि कर्णाली राजमार्ग स्तरोन्नति भने अझै हुन सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लामा सडक स्तरोन्नतिका लागि करोडौं रकम आए पनि कर्णाली राजमार्गका खाल्डाखुल्डी पुर्न माटो प्रयोग गर्दा झन् सडक हिलाम्मे भएको स्थानीय बजिरे खड्काले बताए ।