सवारी चलाउँदा यी आठ कुरामा ध्यान दिनुहोस्
सडकमा सवारीसाधनको संख्या दिनहुँ बढिरहेको छ। उदाहरणका रूपमा हाम्रै राजधानीको सडक लिन सकिन्छ। हाम्रा सडक साँघुरा अनि अति गुणस्तरहीन छन्। जसका कारण दिनहुँ दुर्घटना भइरहेका छन्। प्रायजसो दुर्घटना चालकको लापरवाहीले हुने गर्दछन्। त्यसैले सवारीसाधन चलाउँदा चालकले होसियारीपूर्वक चलाउनुपर्छ।
सडक, साधन र चालक नै सवारी दुर्घटनाका मुख्य कारक हुन्। यि तिनै कुरा सुदृढ नभएसम्म दुर्घटनामा कमी आउँला भन्न सकिदैन। चालककै लापरवाहीले बढी दुर्घटना हुने भएकाले चालकलाई सडक नियमको पूर्ण ज्ञान हुनुपर्छ। अर्काे कुरा सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ।
सवारी चालकले केमा ध्यान दिनुपर्छ त ?
१.सवारी चालकले ड्राइभिङ कोर्स अनिवार्य रूपमा लिनुपर्छ। सवारी हाँक्न जानेकै छु, सवारी चलाएको यतिका वर्ष भइसक्यो भनेर हेलचेक्रयाइँ गर्नु हुँदैन। सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हासिल गर्न आवश्यक हुन्छ।
२. निद्रा नपुगेको, थाकेको, अल्छी लागेको समयमा सवारी चलाउनु हुँदैन। अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेका छन्। त्यसकारण चालकले आफू हरहिसाबले जोखिम लिनु हुँदैन।
३. गन्तव्यमा छिटो पुग्न हतार कसलाई हुँदैन र ? जथाभावी ओभरटेक गरेर हिँड्ने बानी गर्नु हुँदैन। सवारी चलाउन सिक्दैदेखि कम गतिमा चलाउने अभ्यास गर्नुपर्छ। अधिकांश दुर्घटनाको कारण तीव्र गति पाइने गरेको छ। तीव्र गति जीवन क्षति भन्ने उखानलाई सधैं मूलमन्त्र सम्झिनु पर्छ।
४. कहिलेकाहीँ अर्काको कारणले पनि दुर्घटनामा पर्न सकिन्छ। यसप्रति चालकले सचेत हुनुपर्छ। आफू राम्रो सवारी चलाउँछु भन्नेमा ढुक्क भएर मात्र पनि पुग्दैन।
५. चालकले ट्राफिक नियमको जानकारी राख्ने सदैव पालना गर्नुपर्छ। थाहा पाइराखेको नियम उल्लंघन गर्ने र गल्ती दोहोर्याउने बानीले दुर्घटना निम्तिन सक्छ।
६. चालकले सवारी पार्किङ, सवारी चलाउँदा ऐनको अवस्थिति, हात र खुट्टाको अवस्थितिमा जस्ता कुरामा ध्यान दिनुपर्छ। कहिलेकाहीँ निमेषभरको गल्तीले ठूलो दुर्घटना आउन सक्छ।
७. आफू हिँड्ने बाटोको बारेमा पूरा जानकारी लिनुहोस्। त्यहाँको भौगोलिक अवस्थिति, बाटोको गुणस्तर, त्यहाँका जोखिम आदिबारे जानकारी लिनुहोस्। यसका लागि नक्साको सहायतासमेत लिन सकिन्छ। नक्सा उपलब्ध नभए त्यसअघि उक्त बाटोमा सवारी चलाइसकेका चालकबाट अनुभव लिन पनि सकिन्छ।
८. अभ्यासले नै मानिसलाई दक्ष बनाउँछ। हरेक काममा अभ्यास भएन भने नतिजा राम्रो निस्किँदैन। यो सवारी चालकलाई पनि लागू हुन्छ। चालकले तोकिएको बाटोमा सवारी हाँक्न सक्षम छु भन्ने कुरामा आफूलाई पूर्ण रूपमा विश्वास नगरी जोखिम लिनु हुँदैन।